कीवर्डहरू -

अब नेपालमै स्नाकोत्तरसम्म एआई पढ्न पाइने, यसै वर्ष सुरु गर्दै छ काठमाडौ विश्वविद्यालयले

अब नेपालमै स्नाकोत्तरसम्म एआई पढ्न पाइने, यसै वर्ष सुरु गर्दै छ काठमाडौ विश्वविद्यालयले

काठमाडौ विश्वविद्यालयले आगामी सेप्टेम्वर २०२१ बाट आर्टिफिसियल इन्टेलिजेन्स (बीटेक/एमटेक एआई) विषयमा स्नातक र स्नाकोत्तर कार्यक्रम सुरु गर्ने भएको छ ।

काठमाडौ विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङ्ग अन्तर्गत कम्प्यूटर साइन्स एण्ड इन्जिनियरिङ्ग विभागले आगामी सेप्टेम्वर २०२१ बाट दुई वटा नयाँ शैक्षिक कार्यक्रमहरु आर्टिफिसियल इन्टेलिजेन्स (बीटेक/एमटेक एआई) विषयमा स्नातक र स्नाकोत्तर कार्यक्रम सुरु गर्ने भएको छ ।

यो कार्यक्रम शुरु गर्नुको मुख्य उदेश्य स्थानीय तथा विश्वव्यापी रुपमा यस क्षेत्रसँग सम्वन्धित विशेषज्ञहरु उत्पादन गर्नु रहेको काठमाडौं विश्वविद्यालयको कम्प्युटर साइन्स एण्ड इन्जिनियरिङ विभागका प्रमुख बालकृष्ण बालले बताए ।

नेपालमा पहिलो पटक यो शैक्षिक कार्यक्रम काठमाडौ विश्वविद्यालयबाट संचालन गरिन लागेको हो । हाल प्रस्तावित भर्ना सीटहरुको कुल संख्या स्नातक तहमा ३० र स्नाकोत्तर तहमा १० संख्यामा रहेको उक्त कार्यक्रम नेपालको शैक्षिक हबको रुपमा विकसीत हुदै गरेको काभ्रेको पाँचखालमा आवासीय मोडमा संचालन गरिनेछ ।

ब्याचलर अफ टेक्नोलोजी इन आर्टिफिसियल इन्टेलिजेन्स (बीटेक इन एआई)

यो कार्यक्रमले पर्याप्त व्यवहारिक प्रशिक्षण दिएर स्नातक विद्यार्थीहरुलाई आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धि व्यवहारीक ज्ञान प्रदान गरिने जनाइएको छ । बालका अनुसार यस कार्यक्रममा इन्टर्नशिपको माध्यमबाट परियोजनामा आधारित सिकाईको माध्यमबाट विद्यार्थीहरुलाइ व्यवहारिक ज्ञानको अनुभव प्रदान गर्नेछ ।

यस कार्यक्रमका स्नातकहरुले एआई प्रविधि र विधिहरु प्रयोग गरि यस कार्यक्रमसंग सम्वन्धित कम्पनी तथा संस्थाहरुमा डाटामा आधारीत निणर्यहरु कार्यान्वयन गर्न सक्नेछन । त्यसैले यो कोर्ष मार्फत सम्बन्धित विद्यार्थीहरुले विभिन्न डाटा विश्लेषण गर्न सक्नुको साथै स्वचालित मेशिन प्रविधि निमार्ण गर्न सक्नेछन ।

यो कार्यक्रम प्राविधिक आधारभुत प्रोग्रामिङ्ग, कम्प्यूटर विज्ञान, गणित र सांख्यिकीको परिचयात्मक पाठ्यक्रमबाट शुरु हुनेछ । विस्तारै पछि यो कोर्षमा विद्यार्थीहरुले मुख्य एआई अवधारणाको साथै पछि कुनै परिपेक्षको खोज, गेम डेभलपमेन्ट, मेशीन लर्निङ्ग, न्यूरल नेटवर्क, कम्प्यूटर भिजन, भाषा सम्वन्धी र अधिक जटिल विषयहरु सहितका प्रविधिहरु सिक्नेछन् ।

यो कार्यक्रम विज्ञान र इन्जिनियरिङ्ग भन्दा फरक र सहि अर्थमा भन्दा दुबैको मिश्रण मान्न सकिने बताइएको छ । यो कार्यक्रम नेपाल इन्जिनियरिङ्ग परिषदमा दर्ता गरिएको छैन । काठमाडौ विश्वविद्यालयको चार वर्षको यो शैक्षिक कार्यक्रको लागि कुल शुल्क ८ लाख रूपैयाँ निर्धारण गरिएको छ ।

मास्टर्स अफ टेक्नोलाजी इन आर्टिफिसियल इन्टेलिजेन्स (एमटेक इन एआई)

यो कार्यक्रम कौशल, ज्ञान, उन्नत गणना, डाटा विज्ञान र एआई अध्ययनसंग सम्बन्धित अभ्यासहरुको लागि हो, जसले स्थानीयका साथसाथै विश्वव्यापी रुपमा नयाँ अवसरहरु सिर्जना गर्न मद्दत गर्नेछ ।

विशेष गरी यसमा न्युरल नेटवर्क, फज्जी सिस्टम, इभोलुसनरी कम्पुटिसन कभर गरिने जनाइएको छ । यस कार्यक्रमको पाठ्यक्रम भित्र मुख्यतया मसिन लर्निङ, न्युरल नेटवर्क, बिग डेटा एनालाइटिक्स, इन्फर्मेसन रिट्रेभल, फज्जी सिस्टम र इभोलुसनरी कम्पुटिसन समावेश गरिएको छ ।

यस कार्यक्रममा विभिन्न क्षेत्रहरु जस्तै व्यापार, आर्थिक, सुरक्षा, उद्योग नियन्त्रण र इन्जिनियरिङ्गसंग सम्वन्धित व्यवहारिक जीवनका समस्याहरुसंग लड्नको लागी आफुले सिकेको कुराको प्रयोगात्मक परिक्षण गर्ने अवसरहरु प्रदान गर्नेछ । यस दुई वर्षे शैक्षिक कार्यक्रको लागि कुल शुल्क ३ लाख ९५ हजार रूपैयाँ निर्धारण गरिएको छ ।