कीवर्डहरू -

दराज सिंगापुरले नेपालमा १ अर्ब ६५ करोड लगानी गर्दै, कम्प्युटर सफ्टवेयर र अनलाइन विज्ञापनमा काम गर्ने 

दराज सिंगापुरले नेपालमा १ अर्ब ६५ करोड लगानी गर्दै, कम्प्युटर सफ्टवेयर र अनलाइन विज्ञापनमा काम गर्ने 

दराज सिंगापुरले नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा १ अर्ब ६५ करोड रुपैयाँ लगानी गर्ने भएको छ । दराज सिंगापुर प्रा.लि.(सिंगापुर) नामबाट नेपालमा कम्प्युटर सफ्टेवयर डेभलपमेन्ट, वेब डिजाइनिङ र अनलाइन विज्ञापन उद्योग सञ्चालन गर्न उक्त लगानी स्वीकृत गराएको छ । यो नेपालको सूचना प्रविधि क्षेत्रको लागि ठूलो विदेशी लगानी हुनेछ ।

उसले स्वीकृति गराएको लगानी भित्र्याउनसमेत सुरु गरिसकेको छ । स्वीकृत विदेशी लगानीमध्ये ७० करोड रुपैयाँ नेपाल ल्याइसकेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

दराज सिंगापुरले गत आर्थिक वर्ष (२०७७ पुस ७ गते) उद्योग विभागबाट १ अर्ब ६५ करोड लगानी गर्न स्वीकृति लिएको थियो । पुस ७ गते उद्योग विभागबाट चिठी लिएको दराज सिंगापुरले पुस १५ गते नेपाल राष्ट्र बैंकमा लगानी १ अर्ब १५ करोड लगानी स्वीकृतिको लागि निवेदन दिएको थियो ।

राष्ट्र बैंकले दराज सिंगापुर प्रा.लि. (सिंगापुर)को नाममा २०७७ पुस २८ गते १ अर्ब १५ करोड भित्र्याउन स्वीकृति दिएको थियो । यस उद्योगको पुँजी १ अर्ब ८५ करोड रहने उल्लेख छ ।

राष्ट्र बैंकका सहायक प्रवक्ता नारायण पोखरेलले दराज सिंगापुरले उक्त मितिमा लगानी स्वीकृति भएको र ७० करोड लेखांकन भइसकेको बताए ।

‘२०७७ पुस २८ गते १ अर्ब १५ करोड भित्र्याउन स्वीकृति पाएको छ,’ पोखरेलले भने, ‘त्यसमध्ये ७० करोड ल्याइसकेको छ ।’ दराज सिंगापुरले नेपालमा सेवामूलक उद्योग अन्तर्गत ‘कम्प्युटर सफ्टवेयर डेभलपमेन्ट, वेब डिजाइजिङ एण्ड अनलाइन एड्भटाइजिङ इन्ड्रस्ट्री’ सञ्चालन गर्ने भनेर उद्देश्यमा राखेको छ ।

उक्त लगानी स्वीकृति गर्दा कम्पनीको नाम दराज केमु उल्लेख छ भने  काठमाडौं महानगरपालिका वडा नम्बर ४ मा कम्पनीको ठेगाना राखेर लगानी स्वीकृति गराएको छ ।

‘एसपीए’ अन्तर्गत लगानी स्वीकृत

सिंगापुर दराजले उद्योग विभागबाट लगानी स्वीकृति गर्दा एसपीए अर्थात ‘सेयर प्रचेज एग्रिमेन्ट’ भनेर उल्लेख गरेको छ ।

उद्योग विभागका सूचना अधिकारी ज्ञानेन्द्र पराजुलीले एसपीए अन्तरगत लगानी आउनु भनेको यहाँको कुनै कम्पनीको शेयर खरिद गरेको बुझिने बताए । ‘उहाँहरुले लगानी स्वीकृति गरेको प्रकृति हेर्दा नेपालको कुनै एक कम्पनीको सेयर खरिद गरेको देखिन्छ,’ पराजुलीले भने, ‘उहाँहरुले यहाँको कुनै कम्पनीको सेयर खरिद गरेको हुनुपर्छ ।’

उद्योग विभागबाट लगानी स्वीकृति गर्दा कम्पनीको नाम नेपालमा दराज इकमर्स प्लेटफर्म सञ्चालन गरिरहेको दराज केमु र लगानीकर्ता दराज सिंगापुर उल्लेख गरिएको छ ।

दराज केमुले नेपालमा दराज इकमर्स वेबसाइट सञ्चालन गरिरहेको छ । सन् २०१८ मा दराजलाई अलिबाबा ग्रुपले लिदै नेपालसहित पाकिस्तान, बंगलादेश, श्रीलंका र म्यानमारमा इकमर्स प्लेटफर्म सञ्चालन गरिरहेको छ।

विभागबाट उद्योगको साविक पुँजी २० करोडबाट वृद्धि गरी १ अर्ब ८५ करोड कायम गर्न स्वीकृति प्रदान गरिएको र उक्त निर्णय बमोजिम १ अर्ब ६५ करोड थप विदेशी लगानी स्वीकृति भएको हो ।

नेपालमा लगानी गर्ने उद्योगमा सत प्रतिशत विदेशी लगानी रहेको र ७० करोड रुपैयाँ लगानी भित्र्याएर सेयर लागत कायम गरिएकोले बाँकी १ अर्ब १५ करोड रुपैया भित्र्याउन स्वीकृति प्रदान गरिएको राष्ट्र बैंकको विवरणमा उल्लेख छ ।

विभागबाट लगानी स्वीकृति गराउँदा कम्पनी रहने ठेगाना काठमाडौं महानगरपालिका वडा नम्बर ४ उल्लेख छ भने नेपाल राष्ट्र बैंकमा भने कम्पनी संचालनको ठेगाना वडा नम्बर २ उल्लेख गरिएको छ ।