कीवर्डहरू -

‘सफ्टवेयर डेभलपमेन्टको लागि भारत जाने विदेशी नेपाल आउन थालेका छन्’

‘सफ्टवेयर डेभलपमेन्टको लागि भारत जाने विदेशी नेपाल आउन थालेका छन्’

मुलुकको अग्रहणी आईटी कम्पनी एफवान सफ्ट अन्तर्गतको एक कम्पनी हो लजिका बिन्स् । लजिका बिन्सले माउ कम्पनीलाई ‘रिसर्च एण्ड डेभलपमेन्ट’मा सघाउननेसँगै आउटसोर्सको काम, सफ्टवयर डेभलपमेन्ट कन्सल्टिङ फर्म र स्थानीय बजारमा विभिन्न प्रोजेक्टमा काम गरिरहेको छ ।

आज यो कम्पनी चार वर्ष पूरा गरेर पाँचौं वर्ष लागेको छ । यसै सन्दर्भमा कम्पनीको काम, अगामी योजनालगायतको विषयमा लजिका बिन्सका मार्केटिङ म्यानेजर निरेन श्रेष्ठसँग आइसिटी समाचारले गरेको कुराकानीः

सफ्टवेयर डेभलपमेन्टमा लजिका विन्सले चार वर्षदेखि काम गरिरहेको छ । यसबाहेक अन्य के के काम गरिरहनु भएको छ ?

लजिका बिन्स एफवान सफ्ट अन्तरगत चार वर्षअघि स्थापना भएको कम्पनी हो । हामीले एफवान सफ्टलाई आवश्यक ‘रिसर्च एण्ड डेभलपमेन्ट’को काममा सहयोग गरिरहेका छौं भने लजिका विन्सको आफ्नै पहिचान छ ।

अर्थात हामीले सफ्टवयर डेभलपमेन्ट कन्सल्टिङ फर्मको रुपमा हामी देश र विदेशमा काम गरिहेका छौं । मुख्यगरी हामीले अफसोर डेभलपमेन्टमा काम गर्छौं । उनीहरुको विभिन्न कस्टमाइज सफ्टवेयर डेभलपमेन्ट बनाउनमा सहयोग गर्छौं ।

हामीले स्टार्टअप फर स्टार्टअप भन्ने ‘स्लोगन’ राखेर स्टार्टअपहरुलाई सहयोग पनि गरिरहेका छौं । जसलाई फन्डिङको कमी छ, जसले सफ्टवेयर डेपलपमेन्टमा भर्खर पाइला चाल्दै हुनुहुन्छ उहाँहरुलाई न्युनतम लागतमा सफ्टवेयर डेभलपमेन्ट, एप डेभलपमेन्ट, मानव संसाधनदेखि आवश्यकताअनुसारको सहयोग उपलब्ध गराउँदै आएका छौं ।

जसले गर्दा ति स्टार्टअपहरुले सानो लगानीमा बढीभन्दा बढी प्रतिफल निकाल्न सकून भन्ने हाम्रो उद्देश्य हो। अहिलेले इकमर्स साइट, थ्रिडी डेभलपमेन्ट, डेटा साइन्सको ब्लकचेन, क्युए, डिजाइ, वेभसाइट डेभलपमेन्टलगायतमा पनि हामीले काम गरिरहेका छौं ।

यसबाहेक स्थानीय स्तरमा सरकार, बैंक, एनजीओ, आईएनजीओसँग मिलेर पनि काम गरिरहेका छौं । अहिले ‘हेल्थ एट होम’ भन्ने संस्थालाई स्वास्थ्य सम्बन्धि कामको लागि विभिन्न एप्लिकेसनमा काम गरिरहेका छौं ।

तपाईंहरुको काम विदेश (अफसोर) फोकस छ । यसमा कसरी काम गरिरहनु भएको छ ?

यसको लागि छुट्टै विजनेस डेभलपमेन्ट टिम छ । जसमा म पनि छु । हामीले आउटसोर्सको काम गरिरहेका छौं । विदेशमा मार्केटिङ गर्ने, ग्राहकसँग सिधै सम्पर्क गरेर मुख्यगरी सफ्वेयर डेपलपमेन्टको काम गरिरहेका छौं ।

उहाँहरुसँग पार्टनसिप, ज्वाइन्ट भेन्चरमा सहकार्य भइरहेको छ । अहिले हामीले अमेरिका, अष्ट्रेलिया, बंगलादेश, भारतलगायतका देशमा काम गरिरहेका छौं ।

जस्तो कि अहिले अमेरिकामा रहेका एक ग्राहक हुनुहुन्छ । उहाँको लागि स्वास्थ्य क्षेत्रसँग सम्बिन्धित काम गरिरहेका छौं । अस्पताल, इन्स्योरेन्स कम्पनी ग्राहकको बीचमा सेवा लिनको लागि एप्लिकेसन बनाएका छौं ।

जसले गर्दा कुनै पनि ग्राहक अस्पताल जाने बित्तिकै, इन्स्योरेन्सलाई थाहा हुन्छ, पुरानो ‘हिस्ट्री’ के छ, के के औषधि खाइरहेको छ भनेर फार्मेसीलाई पनि जानकारी हुन्छ ।

विदेशका ग्राहक नेपालमा काम गर्न कत्तिको रुचाउँछन् ? कस्तो छ उताको प्रतिक्रिया ?

विदेशबाट नेपालमा काम गर्न धेरै रुचाउँछन् । यसमा दुई तीनवटा कारणहरु छन् । पहिलो त नेपालमा जुन गुणस्तरको काम हुन्छ, त्यही उतै गर्ने हो भने दोब्बरतेब्बर लाग्छ ।

विदेशमा प्रतिघण्टा सय डलरसम्म पर्ने काम हामीसँग गर्दा त्यसको एक भागमात्र पर्न जान्छ  । सस्तो हुदैमा उताकोभन्दा कम गुणस्तर हुन्छ भन्ने पनि होइन । अन्तर्राष्ट्रिय गुणस्तरको काम हामीले उपलब्ध गराइरहेका छौं ।

हामीसँग काम सुरु गर्नुभन्दा पहिला हाम्रो बारेमा बुझ्न हाम्रो वेबसाइटमा निःशुल्क डेमो पनि उपलब्ध गराएका छौं । यसबाट उहाँहरुले काम सुरु हुनुभन्दा पहिला हाम्रो कम्पनीको बारेमा बुझ्न सक्नुहुन्छ ।

\"\"

तपाईंहरु लजिकाविन्स भनेर आएको चार वर्ष भयो । अहिलेसम्मको अनुभव कस्तो भयो ?

यो चार वर्षमा उतारचढाव नै भयो । दुई वर्षदेखि त हामी कोरोना महामारीमै छौं । अहिलेसम्म पनि हामी ‘वर्क फ्रम होम’ गरिरहेका छौं । यस अवधिमा राम्रो काम धेरै भएका छन् ।

यस अवधिमा प्रविधि क्षेत्रमा धेरै काम भए । हामीलाई धेरै डिमान्ड पनि आए । कोरोना संक्रमणको अवधिमा घरघरमा सेवा पुर्याउने बढ्यो, यसले गर्दा यस किसिमका एप्लिकेसन बनाउने काम पनि धेरै आए। कोरोना संक्रमण वा लकडाउनले हाम्रो कामलाई बाधा पुर्याउने त्यस्तो केही भएन।

पाँचौं वर्षमा प्रवेश गर्दैहुनुहुन्छ । नयाँ वर्षमा नयाँ योजनाहरु के छन् ?

कम्पनीलाई राम्रोसँग कसरी अगाडि बढाउने भन्ने योजना नै हो । हामीले आगामी पाँच वर्षको योजना बनाइसकेका छौं । जसअन्तरगत कम्पनीलाई अगाडि बढाउने, फाइदा हुने किसिमले योजना बनाएका छौं ।

नयाँ कर्मचारी नियुक्ती गर्दैछौं । आम्दानीको स्रोतहरु बढाउँदै जाने, विदेशी र स्थानीय प्राजेक्टमा काम गर्ने योजनाहरु छन् ।

यो क्षेत्रमा नेपालको अवस्था कस्तो छ ? जस्तो कि यहाँको बजार, कम्पनी, दक्ष जनशक्ती ।

अहिलेको सन्दर्भमा बजार विस्तार राम्रो छ । नयाँ कम्पनीहरु थपिरहेका छन् भने २० वर्षदेखि काम गरिरहेका कम्पनीहरु पनि छन् । एफवान सफ्ट पनि १७ वर्षमा पुगिसकेको छ ।

डेभलपमेन्ट, एप्लिकेसन, वेबसाइट जस्ता क्षेत्रमा माग धेरै छ । लोकल र बाहिर पनि प्रतिस्पर्धा धेरै नै छ । विदेशी र स्वदेशी कम्पनीहरु प्रतिस्पर्धामा छन् । पहिला विदेशीहरु काम गराउनको निम्ती भारतमा जाने बढी थियो । अहिले विस्तारै नेपालमा पनि आउन थालेका छन् ।

तपाईंहरुले स्टार्टअपलाई सहयोग गरिरहनु भएको छ । कस्तो स्टार्टअपलाई कसरी सहयोग गरिरहनु भएको छ ?

केही स्टार्टअपहरुले राम्रो योजनासहित काम सुरु गरेका हुन्छन् । तर, फन्डिङको अभावले गर्दा अगाडि बढ्न नसकेको हुनसक्छ । हामीले त्यस्ता स्टार्टअपहरुको खोजेर उहाँहरुको आवश्यकताअनुसार सहयोग गर्छौै ।

उहाँहरुले के गर्न खोजिरहनु भएको छ, त्यसका आधारमा हामीले सहयोग गर्छौं । जस्तो कि उनीहरुलाई एप बनाउन पर्ने हुन्छ, वेबसाइट चाहिएको हुनसक्छ । हामीले प्रपोजल तयार गर्छौं र उहाँहरुसँग प्रपोजलका आधारमा सहकार्य सुरु हुन्छ । हामीले धेरै नै कम मूल्यमा काम गरिरहेका छौं ।

हामीले दुई वर्षदेखि यो कामलाई प्राथमिकतामा राखेका छौं । अहिलेसम्म २० वटा जति कम्पनीमा यसरी सहकार्य गरिसकेका छौं भने अन्य १५ वटा चलिरहेको प्रोजेक्टमा छन् ।

अहिले कम्पनीको कर्मचारीहरु कति छन् ? कसरी काम गरिरहनु भएको छ?

हामीसँग अहिले कोर कर्मचारी ३० जना जति हुनुहुन्छ । यसमा वृद्धि हुदैछ । त्यसबाहेक हामीलाई कुनै डिमान्ड आयो, अन्य कर्मचारी पनि चाहिए भने एफवान सफ्टका अन्य कम्पनीबाट पनि सहयोग लिन सक्छौं ।

यस क्षेत्रमा आउन चाहने युवाहरु धेरै छन् । आइटी, डेभलपमेन्ट वा एप्लिकेसन पढेका फ्रेस विद्यार्थीलाई काम गर्ने अवसर कस्तो छ ?

हामीले कामको शिलशिलमा यस्तो अवसर सृजना गरिरहेका छौं । हामीसँग दुईतीन वटा क्षेत्र वर्गिकरण गरेका छौं । जस्तो कि ‘विगिनर, इन्टरमिडियट र एक्सपर्ट’ ।

यस अन्तरगत भर्खर पासआउट हुनुहुन्छ भने पनि ट्रेनिङ लिएर पनि यहाँ काम गर्न सक्नुहुन्छ । तीनदेखि पाँच वर्षको अनुभव भएको व्यक्तिलाई इन्टरमिडियट लेभलमा काम गर्ने अवसर सृजना गर्छौं भने पाँच वर्षभन्दा धेरै अनुभव भएकाहरुलाई सिनियर लेभलमा काम गर्ने अवसर दिइरहेका छौं ।

बाहिर तपाईंहरुले वर्षमा कति काम गरिरहनु भएको छ ?

हाम्रो काम हरेक वर्ष वृद्धि हुदै गइरहेको छ । जस्तो कि गत वर्ष विदेशमा गरेको  राउन्डफिगर हेर्ने हो भने ५ लाख डलर बराबरको काम गरेका छौं ।

यसमा हामीले यो वर्ष धेरै नै हुन्छ । अहिलेको कोरोना संक्रमणमा काम बढाएको छ । एआई क्षेत्रमा धेरै काम बढेको छ ।