कीवर्डहरू -

राष्ट्रिय ज्ञानपार्कका नाममा ३ लाख २९ हजार बैंठक भत्ता खर्च, अन्य प्रगति शून्य

राष्ट्रिय ज्ञानपार्कका नाममा ३ लाख २९ हजार बैंठक भत्ता खर्च, अन्य प्रगति शून्य

सरकारले सूचना प्रविधि क्षेत्रको विकासको लागि  काठमाडौं, खुलमटारमा राष्ट्रिय ज्ञानपार्क बनाउने घोषणा गरे पनि अहिलेसम्म बैंठक भत्ताबाहेक अन्य खर्च हुन सकेको छैन ।

तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ मा खुमलटारमा राष्ट्रिय ज्ञान पार्क निर्माण गर्ने भनेर १ करोड रुपैयाँ विनियोजन गरेका थिए । त्यसयता उक्त ज्ञान पार्क निर्माणको नाममा बैंठक भत्ता खर्च गर्नेबाहेक अन्य प्रगति शून्य रहेको छ ।

उक्त बजेटबाट पार्क निर्माणको लागि बसेका बैठक भत्तावापत ३ लाख २९ हजार रुपैयाँ खर्च भएको बाहेक अन्य प्रगति हुन नसकेको महालेखापरीक्षकको ५८ औं वार्षिक प्रतिवेदनले उल्लेख गरेको छ ।

साथै, उक्त ठाँउमा सुविधा सम्पन्न स्टुडियो निर्माणको लागि २ करोड रुपैयाँ बजेट विनियोजन गरिएकोमा
खर्च हुन नसकेको  प्रतिवेदनले औंल्याएको छ ।

नेपाललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सूचना प्रविधि उद्योगको गन्तव्यको रुपमा विकास, विस्तार तथा प्रवद्र्धन गरी ज्ञानमा आधारित अर्थतन्त्रको विकासको लागि सूचना प्रविधिमा आधारित उद्योग व्यवसाय, प्रवद्र्धन तथा रोजगारी सिर्जना र आर्थिक वृद्धिमा योगदान पुर्याउने उद्देश्यले राष्ट्रिय ज्ञान पार्क निर्माण गर्ने घोषणा गरेको थियो ।

सरकारले उक्त ज्ञान पार्क निर्माण र सञ्चालनको लागि ‘राष्ट्रिय ज्ञान पार्क (स्थापना तथा सञ्चालन) निर्देशिका, २०७६ पनि बनाएको छ ।

पार्कभित्र सूचना तथा सञ्चार प्रविधि सम्बन्धि विभिन्न किसिमका काम र क्रियाकलाप गर्ने उद्देश्य राखिएको छ । जस्तो कि सूचना प्रविधि सम्बन्धि उद्योग स्थापना गर्ने र सेवा प्रदान गर्ने, आवश्यक अनुसन्धान र तालिम सञ्चालन गर्ने, सूचना प्रविधि सिस्टम डिजाइन, विकास र सिष्टमहरुको एकीकरण, कलसेन्टर÷विजनेस प्रोसेस आउट सोर्सिङ, ब्लग चेन, बीग डाटा, आईओटी, एआई जस्ता नविनतम कार्यहरु गर्ने उद्देश्य राखिएको छ ।

साथै, सूचना प्रविधमा आधारित सेवाहरु, प्रशिक्षण÷विद्युतीय प्रशिक्षण, सफ्टवेयर विशिष्टिकरण, जनशक्ति विकास सम्बन्धि कार्यहरु, इन्कुवेशन केन्द्र सञ्चालन गर्ने, प्राविधिक सहयोग केन्द्र, डाटा केन्द्र, क्लाउड कम्प्युटेसन, डाटावेयर हाउजिङ तथा डाटा व्याकअप र रिकभरी व्यवस्थापन, हार्डवेयर फेब्रिकेशन, उद्यमशिलता विकासका क्रियाकलापहरु लगायतका कार्य ज्ञान पार्कमा गर्ने उद्देश्य सरकारले राखेको छ ।