कीवर्डहरू -

कर्मचारी सरुवा अब डिजिटल प्रणालीबाट, अनलाइनमै आवेदनदेखि निर्णयसम्मको व्यवस्था गरिने

कर्मचारी सरुवा अब डिजिटल प्रणालीबाट, अनलाइनमै आवेदनदेखि निर्णयसम्मको व्यवस्था गरिने

काठमाडौं । सरकारले निजामती कर्मचारीको सरुवा प्रक्रियालाई पूर्ण रूपमा डिजिटल माध्यममा रूपान्तरण गर्ने तयारी गरेको छ । सरुवा प्रक्रियालाई पारदर्शी, छिटो, व्यवस्थित र प्रविधिमैत्री बनाउन भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयले नयाँ डिजिटल सरुवा प्रणाली विकासको काम अघि बढाएको हो ।

मन्त्रालयका अनुसार निर्माणाधीन प्रणाली कर्मचारीको डिजिटल प्रोफाइलमा आधारित हुनेछ । कर्मचारीका व्यक्तिगत विवरण, सेवा अवधि, पद तथा अन्य सेवासम्बन्धी सूचना सम्बन्धित सरकारी सूचना प्रणालीसँग प्रत्यक्ष वा एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस (एपीआई) मार्फत जोडिने भएकाले आवश्यक विवरण स्वत: अद्यावधिक हुने व्यवस्था गरिनेछ ।

सरुवा आवेदनलाई थप व्यवस्थित बनाउन प्रणालीमा फ्ल्यागिङ सुविधा पनि समावेश गरिनेछ । यसबाट दोहोरिएका आवेदन, थप अध्ययन आवश्यक भएका वा विशेष निगरानीमा राख्नुपर्ने निवेदनलाई सहज रूपमा पहिचान गर्न सकिने मन्त्रालयको भनाइ छ ।

नयाँ प्रणाली लागू भएपछि कर्मचारीले आफ्नो सरुवा आवेदनको अवस्था अनलाइनबाटै हेर्न सक्नेछन् । प्रोसेस ट्र्याकिङ सुविधामार्फत आवेदन कुन चरणमा पुगेको छ भन्ने जानकारी वास्तविक समयमै प्राप्त हुनेछ । सरुवासम्बन्धी पत्रहरू पनि प्रणालीबाटै स्वचालित रूपमा तयार हुने व्यवस्था मिलाइनेछ ।

मन्त्रालयले आवश्यकताअनुसार अन्य सरकारी निकायका सूचना प्रणालीसँग पनि एपीआईमार्फत सूचना आदान–प्रदान गर्न सकिने जनाएको छ । साथै, सरुवासम्बन्धी निर्णय र विवरण मन्त्रालयको वेबसाइटमा निर्णय भएको २४ घण्टाभित्र स्वत: सार्वजनिक गरिने व्यवस्था रहनेछ ।

भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्री प्रतिभा रावलले कर्मचारी प्रशासनलाई थप पारदर्शी, उत्तरदायी र प्रविधिमैत्री बनाउने सरकारको नीतिअनुसार डिजिटल सरुवा प्रणालीलाई उच्च प्राथमिकतामा राखिएको बताइन् ।

उनका अनुसार प्रणाली कार्यान्वयनमा आएपछि सरुवा प्रक्रियामा हुने अनावश्यक ढिलाइ कम हुने, निर्णय प्रक्रिया थप पारदर्शी बन्ने तथा कर्मचारीले सहज, छिटो र विश्वासयोग्य सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ ।