कीवर्डहरू -

‍सम्झौता नवीकरण नगर्ने र पोलको भाडा नतिर्ने सेवा प्रदायकको तार हटाउँदै विद्युत प्राधिकरण

‍सम्झौता नवीकरण नगर्ने र पोलको भाडा नतिर्ने सेवा प्रदायकको तार हटाउँदै विद्युत प्राधिकरण

नेपाल विद्युत प्राधिकरणले सम्झौता नविकरण नगर्ने र पोलको भाडा नतिर्ने टेलिफोन, इन्टरनेट तथा केबल टिभी सेवा प्रदायकका तार तथा उकरणहरू हटाउने भएको छ ।

बुधबार एक सूचना जारी गर्दै विद्युत प्राधिकरणले प्राधिकरणको पोलमा जडान गरेका तार तथा उपकरणहरू हटाउने अभियान शुरू गर्न लागिएकाले त्यसबाट पर्न सक्ने नकारात्मक प्रभावलाई सोही अनुसार मनन गरिदिन अनुरोध गरेको छ ।

उक्त सूचनामा भनिएको छ, ‘नेपाल विद्युत प्राधिकरणको विद्युतीय संरचनाहरू प्रयोग गरी तथा ट्रान्समिसन टावरहरूमा जडित अप्टिकल फाइबर भाडामा लिइ टेलिफोन/इन्टरनेट सेवा सञ्चालन गर्ने केही सेवा प्रदायकहरूले नियमानुसार सम्झौता नगरी विद्युतीय संरचनाहरू प्रयोग गरी रहेको, केहि सेवा प्रदायकहरूले विद्युत प्राधिकरणबाट माग भए अनुसारको जिपिएस कोअर्डिनेट नक्सा तथा दूरी खुल्ने कागजात समेत पेस नगरी समयमा नविकरण नगरेको तथा केही सेवा प्रदायक संस्थाहरूले परिमार्जित भाडादर भुक्तानी गर्न आनाकानी गरेका कारण नेपाल सरकारको पूर्ण स्वामित्वको संस्था नेपाल विद्युत प्राधिकरणको आम्दानीमा प्रत्यक्षमा असर पर्न गएको छ ।’

‘अतः त्यस्ता सेवा प्रदायकहरूलाई नयाँ सेवा विस्तार गर्न रोक लगाउने तथा विद्युत प्राधिकरणको पोलमा जडान गरेको तार तथा उपकरणहरू हटाउने अभियान सुरु गर्न लागिएकोले यसबाट पर्नसक्ने नकारात्मक प्रभावलाई सोही अनुसार मनन् गरिदिनुहुन आम ग्राहक एवं उपभोक्ता महानुभावहरूमा हार्दिक अनुरोध छ,’ सूचनामा भनिएको छ ।