कीवर्डहरू -

नक्कली बैंकिङ एसएमएस र फिशिङ लिंकबाट सावधान रहन टेलिकमको आग्रह

नक्कली बैंकिङ एसएमएस र फिशिङ लिंकबाट सावधान रहन टेलिकमको आग्रह

काठमाडौं । नेपाल टेलिकमले बैंक तथा डिजिटल भुक्तानी सेवाको नाम दुरुपयोग गरी ग्राहकलाई ठगी गर्ने उद्देश्यले नक्कली एसएमएस र फिशिङ लिंक पठाउने गतिविधि बढेको भन्दै सचेत रहन आग्रह गरेको छ ।

टेलिकमका अनुसार यस्ता सन्देशमार्फत ग्राहकलाई शंकास्पद वेबसाइट वा लिंकमा प्रवेश गराउने र व्यक्तिगत तथा वित्तीय विवरण हात पार्ने प्रयास हुन सक्छ । त्यसैले अपरिचित नम्बर वा स्रोतबाट प्राप्त शंकास्पद एसएमएसमा आएका लिंक नखोल्न टेलिकमले अनुरोध गरेको छ ।

ग्राहकले कुनै पनि अवस्थामा ओटीपी, पासवर्ड, पिन, सीभीभीलगायतका संवेदनशील विवरण अरूलाई उपलब्ध गराउन नहुने टेलिकमले जनाएको छ । बैंक खाता वा डिजिटल भुक्तानी सेवासम्बन्धी जानकारी आवश्यक परे सम्बन्धित बैंक तथा सेवा प्रदायकका आधिकारिक वेबसाइट, एप वा अन्य प्रमाणित माध्यमबाट मात्र जानकारी लिन सुझाव दिइएको छ ।

त्यस्तै, शंकास्पद एसएमएस, फोन कल वा लिंक प्राप्त भएमा त्यसबारे सम्बन्धित बैंक, डिजिटल भुक्तानी सेवा प्रदायक वा सम्बन्धित संस्थालाई तत्काल जानकारी गराउन टेलिकमले आग्रह गरेको छ ।

टेलिकमले ग्राहकलाई डिजिटल कारोबार गर्दा विशेष सावधानी अपनाउन र व्यक्तिगत तथा वित्तीय विवरणको गोपनीयता कायम राख्न अनुरोध गरेको छ । नक्कली सन्देश तथा फिशिङ लिंकमार्फत हुने सम्भावित साइबर ठगीबाट जोगिन अपरिचित लिंकमा क्लिक नगर्नु नै सुरक्षित उपाय हुने टेलिकमको भनाइ छ ।