कीवर्डहरू -

फाइभजी परीक्षणमा अन्योल, दूरसञ्चार प्राधिकरणले लिनसकेन निर्णय

फाइभजी परीक्षणमा अन्योल, दूरसञ्चार प्राधिकरणले लिनसकेन निर्णय

नेपाल दूरसञ्चार प्राधिकरणले यसै वर्ष फाइभजी परीक्षण सुरु गर्ने भनेर घोषणा गरे पनि यसको प्राविधिक विषयमा अन्योल देखिएको छ ।

फाइभजी परीक्षणको लागि चाहिने दुुई महत्वपूर्ण पक्ष भनेको फ्रिक्वेन्सी र उपकरण हुन् । यि दुई विषयलाई कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा प्राधिकरण र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले निर्णय लिन सकेका छैनन् ।

सरकारले नेपाल टेलिकमबाट फाइभजी परीक्षण गर्ने भनेर यसअघि गरेको निर्णयअनुसार टेलिकमले परीक्षणको खाका प्राधिकरण समक्ष प्रस्तुत गरिसकेको छ ।

फाइभजी परीक्षण गर्ने भनेर बनेको अध्ययन समितिले परीक्षण कसरी गर्ने, कुन कुन फ्रिक्वन्सीमा गर्ने, कुन कुन साइटमा गर्ने, कसरी गर्ने, कुन एप्लिकेसन चलाउने भनेर समितिले तय गरेको छ ।

नियामक निकाय र तालुक मन्त्रालयले भने फ्रिक्वेन्सी कुन प्रयोग गर्ने भन्ने बारेमा निर्णय हुन सकेको छैन । फ्रिक्वेन्सी निर्धारण गरेपछि सोहीअनुसारको उपकरण आयात गर्नुपर्ने हुुन्छ । नेपालले निर्धारण गरेको फ्रिक्वेन्सीलाई आधार मानेर उत्पादक कम्पनीले उपकरण र अन्य प्राविधिक विषय निर्धारण गर्छ ।

ठूलो खर्च गरेर परीक्षणको लागि भनेर उपकरण आयात गरेपछि यदि त्यो प्रयोग हुन सकेन भने फिर्ता गर्न सक्ने अवस्था हुदैन । यसैले पनि नेपालमा कुन व्यान्डको फ्रिक्वन्सीले उपयुक्त हुन्छ भनेर एकिन गर्न नसक्दा उपकरण सहि प्रयोग हुने हो कि होइन भन्नेमा शंका छ ।

सोमबार पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले फाइभजी परीक्षणको लागि पहिला फ्रिक्वेन्सी निर्धारण भएपछि मात्र सामान आउने बताए । कुनै पनि उत्पादक कम्पनीले नेपालको लागि मात्र भनेर सामान नबनाउने र परीक्षणको लागि भनेर नेपालले अर्डर दिनुपर्ने हुन्छ । यदि उक्त फ्रिवेन्सीमा राम्रोसँग काम गरेन भने सामान निर्यात गर्ने नीति  नेपालमा नरहेको उनले बताए ।

ग्लोबल सिस्टम फर मोबाइल कम्युनिकेसन एसोसियसन (जीएसएमए) ले ३० गिगाहर्जभन्दा तल फाइजीको लागि राम्रो हुदैन भनेको छ ।

अन्तर्राष्ट्रियस्तरमा हेर्ने हो भने फाइभजीको लागि तीनवटा व्यान्डमा तय गरिएको छ । एउटा एक गिगाहर्जभन्दा तलको लोअर व्यान्ड अर्को एक गिगाहर्जभन्दा माथि मिड व्यान्ड र २४ गिगजाहर्जभन्दा माथिको हाइ व्यान्ड छन् ।
नेपाल टेलिकमले नेपालको सन्दर्भमा लोअवर व्यान्ड र मिड व्यान्डको संयोजनमा फाइभजी चलाउँदा प्रभावकारी हुने भनेको छ ।

अहिले बाहिर जति पनि फाइभजीका सिस्टमहरु चलेका छन्, तिनीहरुको स्पेक्ट्रम भनेको ३४ सय मेगाहर्ज व्यान्ड र २६ सय मेगाहर्ज व्यान्ड प्रयोग गरेका छन् । ७ सय मेगाहर्ज एकदमै कम भएको छ ।

नेपालको सन्दर्भमा ७ सय, ३४ सय २६ सय सय मेगाहर्ज व्यान्डमा फाइभजी चलाउँदा अझ बढी प्रभावकारी हुन सक्ने अनुमान गरिए पनि मन्त्रालयले निर्णय लिन सकेको छैन ।

प्राधिकरणले फाइभजी परीक्षणका लागि ७०० मेगाहर्ज र २.६ गिगाहर्ज ब्याण्ड प्रयोग गर्न सकिने भनेको छ ।
भारतमा फाइभजी परीक्षणको लागि ७०० मेगाहर्ज, ३.३–३.६ गिगाहर्ज र २४.२५–२८.५ गिगाहर्ज ब्याण्डमा परीक्षण भइरहेको छ ।

फाइभजी परीक्षणको लागि आधारभूत संरचनाहरु बिटिएसम्म १० जीको अप्टिकल लिंक उपलब्ध हुनुपर्छ । टावरमा स्पेस र पावर सिस्टम उपलब्ध हुनुपर्छ ।

फाइभजीको लागि कुन कुन एप्लिकेसन चलाउने हो सबै तयार हुनुपर्छ । साथै, कोर साइड पनि तयारी हुनुपर्छ ।
फाइभजीको एक्टिभ एन्टिना युनिट (एएयु) ल्याउनु पर्छ तर यो फ्रिक्वन्सी फाइनल भएपछि ल्याउने हो ।