कीवर्डहरू -

भोलिदेखि ‘नमस्ते पे’ सुरु, टेलिकम र वाणिज्य बैंकका ग्राहक तान्ने योजना

भोलिदेखि ‘नमस्ते पे’ सुरु, टेलिकम र वाणिज्य बैंकका ग्राहक तान्ने योजना

बहुप्रतिक्षित मोबाइल वालेट ‘नमस्ते पे’ भोलि मंगलबारदेखि सुरु हुने भएको छ । नेपाल टेलिकमले विशेष कार्यक्रमसहित यसको सार्वजनिक गर्न लागेको हो ।

यसअघि गएको २२ गतेदेखि यसको आन्तरिक परीक्षण सुुरु भएको थियो । परीक्षणकाल भनेको नेपाल टेलिकमको स्टाफ र वाणिज्य बैंकको स्टाफबीच एपको प्रयोग गरिएको थियो ।

भोलि एक कार्यक्रम गरेर यसको व्यवसायिक सुुरुवात गर्न लागेको नमस्ते पे सञ्चालक कम्पनी नेपाल डिजिटल पेमेन्टका एक अधिकारीले बताए ।

‘सुुरुमा केही सानो दायरामा रहेर यसको सुरुवात गर्दै छौं,’ ति अधिकारीले भने, ‘तर, सर्वसाधरणले प्रयोग गर्न पाउने गरी यसको सुरुवात भोलिदेखि नै हुन्छ ।’

नेपाल टेलिकम र नेपाल वाणिज्य बैंकको संयुक्त लगानीमा नेपाल डिजिटल पेमेन्ट कम्पनीबाट सञ्चालित यस नमस्ते पेले ग्राहकहरुका लागि नेपाल मै पहिलो पटक इन्टरनेटविना नै ट्रान्सफर गर्न सकिने सुविधा ल्याउन लागेको छ ।
नमस्ते पे प्रयोगकर्ताले इन्टरनेट उपलब्ध नहुँदा पनि अनस्ट्रक्चरड सप्लिमेन्टरी सर्भिस डेटा (युएसएसडी) अर्थात कम्पनीले उपलब्ध गराएका कोड नम्बर प्रयोग गरेर रकम आदनप्रदान गर्न सकिने छ ।

यो भनेको अहिले हामीले नेपाल टेलिकमको कुनै डेटा प्याक दिदा स्टार १४१५ ह्यास हानेर लिन्छौं, त्यसैगरी नमस्ते पेबाट पैसा पठाउँदा पनि यसैगरी कोडको प्रयोग गरेर पठाउन सकिनेछ । नेपालमा सञ्चालनमा आएका मोबाइल वालेटहरुमा इन्टरनेट विना युएसएसडी प्रविधिबाट रकम पठाउन सकिने पहिलो कम्पनी हुने नमस्ते पे हुनेछ ।

यस सुविधाबाट इन्टरनेट सुविधा नहुँदा वा ग्रामिण क्षेत्रमा इन्टरनेटको पहुँचमा नभएका उपभोक्ताको लागि अति उपयोगी हुने विश्वास लिइएको छ ।

वाणिज्य बैंकका शाखाहरु मुलुकका दूरदराजमा पनि रहेका छन् । त्यस्तै, नेपाल टेलिकमका ग्राहक पनि मुलुकका विकट क्षेत्रसम्म फैलिएका छन् । त्यस्ता ठाउँमा इन्टरनेटको सुविधा पनि छैन । भएका ठाउँमा एप चल्ने गुणस्तरीय इन्टरनेटको सुविधा पनि छैन । त्यस्ता ठाउँमा पनि युएसएसडीबाट रकम पठाउन अति उपयोगी हुने विश्वास कम्पनीको छ ।

यस एपमा आउने अर्को सुविधा भनेको ‘वालेट टु वालेट फन्ड ट्रान्सफर’ पनि गर्न मिल्छ । साथै, यसमा माइक्रो क्रेडिटको सुविधा पनि रहेको छ ।

नमस्ते पेबाट बैंकमा पठाउन र बैंकबाट वालेटमा पठाउन पनि सकिन्छ । यस एपमा लिंक भएको बैंकबाट एपमा पैसा लोड गरिरहनु पर्नेछैन । यस एपमा जोडिएका बैंकबाट सिधै पैसा ट्रान्सफर गर्न पनि मिल्छ ।

बजारमा तीव्र प्रतिस्पर्धा भए पनि सरकारी दुई पुुराना र ठूलो ग्राहक भएका संस्था भएकाले यसले छिटो प्रगति गर्ने विश्वास कम्पनीको छ । नेपाल टेलिकमको झन्डै ढेड करोड ग्राहक छन् भने वाणिज्य बैंकका ग्राहक ३५ लाख छन् । यी ग्राहकमध्ये झन्डै १० लाख दोहोरो ग्राहक हुनसक्ने अनुमान उनीहरुको छ ।

यस कम्पनीले पुरानो पुुस्ताको ग्राहक तान्न सक्ने अनुमान छ । वाणिज्य बैंकमा खाता भएका ग्राहक प्रायः पुराना पुस्ताबाट आएको छ ।