काठमाडौं । इसेवाले विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालसँगको सहकार्यमा आयोजना गरेको आवासीय 'इसेवा ह्याकाथन २०२६' सफलतापूर्वक सम्पन्न भएको छ । गत जेठ १५ गतेदेखि सुरु भएको यस ह्याकाथन नवीन डिजिटल समाधानहरू प्रस्तुत गर्दै आइतबार समापन भएको हो ।
नेपालमा नवप्रवर्तन संस्कृतिको विकास र युवा उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित यस प्रतिस्पर्धामा देशभरबाट छनोट भएका २० टोलीका ६३ जना युवा प्रतिभाहरूको सहभागिता रहेको थियो ।
सहभागीहरूले फिनटेक, साइबर सुरक्षा, डिजिटल समावेशीकरण र वातावरणीय दिगोपनासँग सम्बन्धित विभिन्न नवप्रवर्तनात्मक समाधान तथा प्रोटोटाइपहरू प्रस्तुत गरेका थिए । मूल्याङ्कनका आधारमा आदित्य कुमार साह तेली र पूजा यादव आबद्ध टोली ‘कन्फ्युजन म्याट्रिक्स’ प्रथम हुन सफल भएको छ ।
त्यसैगरी, अभिनन्दन राजभण्डारी, एरबिन श्रेष्ठ, उत्सव दाहाल र सबिन न्यौपानेको टोली ‘क्यास फ्लो’ द्वितीय तथा इन्द्र प्रसाद सापकोटा, समीप घिमिरे, सौगात अधिकारी र स्नेहा क्षेत्रीको टोली ‘आर्याना’ तृतीय भएका छन् । विजयी टोलीहरूले क्रमश: रु. ३ लाख, रु. २ लाख र रु. १ लाख नगद पुरस्कार प्राप्त गरेका छन् ।
समापन समारोहलाई सम्बोधन गर्दै इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले युवाहरूले प्रस्तुत गरेका सिर्जनशील समाधानहरूले डिजिटल अर्थतन्त्र र पर्यावरण संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
आईसीटी समाचार