कीवर्डहरू -

‘कुमारी बैंक न्यूबिज स्टार्टअप समिट एन्ड अवार्ड्स’, क- कसले पाए अवार्ड ?

‘कुमारी बैंक न्यूबिज स्टार्टअप समिट एन्ड अवार्ड्स’, क- कसले पाए अवार्ड ?

‘कुमारी बैंक न्यूबिज स्टार्टअप समिट एन्ड अवाडर्स’ २०२१  कार्यक्रम सम्पन्न भएको छ । बिहिबार आयोजना भएको एक कार्यक्रममा अवार्ड वितरण गर्दै कार्यक्रम समापन भएको हो ।

न्यु बिजनेश एज प्रालिले आयोजना गरेको ‘कुमारी बैंक न्यूबिज स्टार्टअप समिट एन्ड अवाडर्स’ २०२१  कार्यक्रम अन्तर्गत उपाय सिटी कार्गोले बेस्ट स्टार्टअप अफ द इयर अवार्ड प्राप्त गरेको छ । उपाय सिटी कार्गोलाई १ लाख रूपैयाँ नगद तथा ट्रफीसहित अवार्ड प्रदान गरिएको हो ।

उपाय सिटी कार्गोले कुनै पनि सामान एक एक ठाउँबाट अर्को ठाउँमा लैजान सहयोग गर्छ । उपाय सिटी कार्गोमा निःशुल्क आवद्ध हुन सकिन्छ । देशका प्रमुख शहरहरुमा शाखा विस्तार गर्ने कम्पनीको योजना रहेको छ ।

त्यस्तै कार्यक्रममा दोस्रो उपाधि लिफ प्लस प्रालि र तेस्रो उपाधि आमा एग्रो प्रडक्ट प्रालिले प्राप्त गरेको थियो । उनीहरूलाई क्रमशः ५० हजार र २५ हजार रूपैयाँ नगद प्रदान गरिएको थियो ।

साथै अन्तिम ५ मा पर्न सफल एडमाना टेक्नोलोजी प्रालि र नेपाल एग्रो इन्पुट्स मार्केटिङ एन्ड आन्ट्रप्रेनरसिप सर्भिसेज प्रालिले समेत प्रमाणपत्र र सम्मान पाएका छन् ।

कार्यक्रममा स्टार्टअपका रूपमा शुरू भएका तर अहिले सफल भइसकेका कारखाना र जानकी टेक्नोलोजी प्रालि (खल्ती)लाई पनि स्टार्टअप सक्सेसका रूपमा सम्मान गरिएको थियो । उत्कृष्ट महिलाले नेतृत्व गरेको स्टार्टअपका रूपमा प्योर जोय प्रालिलाई सम्मान गरिएको थियो ।

उक्त कार्यक्रममा सातै प्रदेशका एक-एक स्टार्टअपलाई समेत सम्मान गरिएको छ । प्रदेश १ बाट हिमालयन लश इन्डस्ट्रिज झापा, प्रदेश २ बाट नमस्ते रिसाइकल ट्रेडर्स जनकपुर, वाग्मतीबाट ग्लोकल प्रालि ललितपुर, गण्डकीबाट एक कल होम सोलुसन्स प्रालि पोखरा, लुम्बिनीबाट निन्जा इन्फोसिस प्रालि नेपालगञ्ज, कर्णाली प्रदेशबाट ज्वाला कृषि तथा पशुपालन उद्योग दैलेख र सुदूरपश्चिम प्रदेशबाट फारबेस्ट इन्फोटेक एन्ड रिसर्च सेन्टर कैलालीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, अर्थ सचिव मधु कुमार मरासिनी, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा लगायत अन्य व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

कुमारी बैंकले शीर्ष प्रायोजन गरेको न्यूबिज स्टार्टअप समिट एन्ड अवाडर्सको सह प्रायोजक गरिमा विकास बैंक रहेको थियो । त्यस्तै उद्योग वाणिज्य महासंघको स्टार्टअप इन्नोभेसन कमिटी, नेपाल योग आन्ट्रप्रेनर्स फोरम, डिशहोम फाइबरनेट, मेंगो टेक, सिटिजन लाईफ इन्स्योरेन्स, आईएमई जनरल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स र व्यञ्जन संस्थाहरूको सहयोग गरेको थियो ।