कीवर्डहरू -

नेपाल इन्टरनेट फाउण्डेशनले रसुवामा तयार गर्‍यो ‘कम्युनिटी नेटवर्क’

नेपाल इन्टरनेट फाउण्डेशनले रसुवामा तयार गर्‍यो ‘कम्युनिटी नेटवर्क’

नेपाल इन्टरनेट फाउण्डेशनले रसुवाको उत्तरगया गाउँपालिकामा सामुदायिक नेटवर्क अन्तर्गत समुदायमा आधारित सूचना तथा सञ्चार प्रविधि अध्ययन केन्द्र सञ्चालनमा ल्याएको छ ।

नेपाल इन्टरनेट फाउण्डेशन र इन्टरनेट सोसाईटी मुख्यालयको सहयोगमा गाउँमा सूचनाको पहुँच दिने गरी उत्तरगया गाउँपालिकाको वडा नम्बर ५ लहरेपौवामा सामुदायिक नेटवर्क सञ्चालनमा ल्याइएको हो ।

मंगलबार उक्त कम्युनिटी नेटवर्कको उद्घाटन उत्तरगया गाउँपालिकी उपाध्यक्ष चमेली गुरुङले गरेकी हुन् । उक्त कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष चमेली गुरूङ, प्रमुख प्रशाकीय अधिकृत नेत्रमणी न्यौपाने, वडा अध्यक्ष तथा अन्य कर्मचारी लगायत स्थानीयको उपस्थिति रहेको थियो ।

उक्त कम्युनिटी नेटवर्कमा तीन ओटा डेस्कटप कम्प्यूटर र एउटा थ्री इन वान प्रिन्टर राखिएको छ । साथै एक एमबीपिएसको इन्टरनेट पनि राखिएको छ । जुन इन्टरनेट १ वर्षसम्म निःशुल्क उपलब्ध हुनेछ ।

१७ लाखको लागतमा उक्त कम्युनिटी नेटवर्क तयार पारिएको नेपाल इन्टरनेट फाउन्डेसनका अध्यक्ष विक्रम श्रेष्ठले बताए । कम्युनिटी नेटवर्कलाई पावरको अभाव नहोस् भन्ने उद्देश्यले ३३० वाटको सोलार सिस्टम पनि जडान गरिएको छ ।

उक्त कम्युनिटी नेटवर्कले विद्यार्थी लगायत लहरेपौवाका स्थानीयलाई सूचनाको पहुँच दिने श्रेष्ठले बताए । २०० घरधुरीका ६०० बढीले कम्युनिटी नेटवर्कबाट सेवा लिन सक्ने उनले जानकारी दिए ।

कम्युनिटी नेटवर्कले सबैलाई फादा पुग्ने उनले बताए । ‘त्यसले विद्यार्थीलाई त फाइदा हुन्छ नै । त्यसबाहेक गाउँबाट विदेशमा वा शहरमा गएकासँग सामाजिक सञ्जालबाट कुरा गर्न सकिने भयो,’ उनले आइसिटी समाचारसँग भने, ‘साथै इन्टरनेटबाट लिन सकिने फाइदा सबै लिन सकिने भएको भयो ।’

सो कम्युनिटी नेटवर्कको व्यवस्थापनका लागि उत्तरगया गाउँपालिका ५ का वडा अध्यक्ष इश्वर थापाको अध्यक्षतामा ७ सदस्यी व्यवस्थापन समिति गठन गरिएको छ । यो समितिले उक्त कम्युनिटी नेटवर्कको रेखदेख तथा सञ्चालन गर्नेछ ।