कीवर्डहरू -

फ्युजमेसिनमा बिजनेस अक्सिजन प्रालिको ११ करोड लगानी, नेपालमा थप २ सयलाई रोजगारी दिइने

फ्युजमेसिनमा बिजनेस अक्सिजन प्रालिको ११ करोड लगानी, नेपालमा थप २ सयलाई रोजगारी दिइने

फ्युजमेसिनमा बिजनेस अक्सिजन प्रालिले १० लाख अमेरिकी डलर लगानी गरेको छ । नेपालका स्थानीय कम्पनीहरुलाई विकास र मद्दत गर्ने हेतुले स्थापित संस्था बिजनेस अक्सिजन प्राइभेट लिमिटेडबाट १० लाख अमेरिकी डलर अर्थात ११ करोड ७९ लाख विदेशी प्रत्यक्ष लगानी प्राप्त भएको फ्युजमेसिनले घोषणा गरेको छ ।

प्राप्त रकमबाट फ्यूजमेशिनले आफ्नो नेपालमा रहेको कार्यालयमा २०० नयाँ इन्जिनियरहरु थप गर्ने साथै नेपालमा एआई शिक्षा र दक्षता अझ बढी बिकास गर्न प्रयोग हुने बताएको छ ।

बिजनेस अक्सिजन प्राइभेट लिमिटेडका अध्यक्ष सिद्धान्त राज पाण्डेले भने,‘फ्यूजमेशिनले नेपालको एआई शिक्षा र रोजगारीको परिदृश्यमा ठोस परिवर्तन ल्याउन सकेकोमा हामी प्रशंसा गर्दछौं साथै फ्यूजमेशिनको एआई प्रतिभा उत्पादन गर्ने लक्ष्यमा हातेमालो गर्न पाउँदा हामी उत्साहित छौं ।’

त्यस्तै फ्यूजमेशिनका प्रमुख कार्यकारी अधिकृत समीर मास्केले सन् २०१८ मा नेपालमा एआई शिक्षा अभियानको सुरुवात गरेदेखि निरन्तर प्राविधिक तथा अप्राविधिक व्यक्तिहरूलाई एआईको पुन: सीप र दक्षता विकास गर्न प्रयासरत भएको बताए । उनले हाल प्राप्त लगानीले नेपालमा थप नयाँ र विश्वसनीय प्रतिभा थप्दै संस्थाको प्रयासलाई थप बलियो बनाउने आशा व्यक्त गरे ।

फ्यूजमेशिनले विगतका वर्षहरूमा पनि नेपालका शैक्षिक संस्थाहरूसंग रणनीतिक तालिम साझेदारीसंगै बिभिन्न एआई शिक्षा सम्बन्धि कार्यक्रमहरू जस्तै, एआईटुगो तालिम कार्यशाला, एआई फाउन्डेसन र माइक्रोडिग्री इन एआई पाठ्यक्रम ल्याउन सफल भएको थियो । कम्पनीको  बारे थप जानकारीको लागि यहाँ क्लिक गरी लिन सकिन्छ ।

आर्टिफिसियल इन्टेलीजेन्स (एआई) मा काम गरिरहेको संस्था फ्यूजमेशिनको स्थापना सन् २०१३ मा भएको हो । यसले एआईको आवश्यकता र महत्वलाई बुझेका तर दक्ष एआई इन्जिनियरको अभावमा संघर्ष गरिरहेका संस्थाहरुलाई मद्दत पुर्याउने काम गर्छ ।