नेपाल पोलिमर ईन्स्टिच्युटले आयोजना गरेको ‘स्माल स्केल केमिस्ट्री वर्कशप फर केमिस्ट्री टिचर्स इन नेपाल’ विषयक वर्कशप सम्पन्न भएको छ । गत बुधबार र बिहिबार चलेको वर्कशप नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) मा सुरू भएको थियो ।
पोलिमर इन्स्टिच्युटले वर्कशपका लागि इन्टरनेसनल इन्स्टिच्युट अफ प्योर एण्ड अप्लाइड केमेन्ट्री (आईयुपीएसी), बैंकक बैंक, केमिकल सोसाइटी अफ थाइल्याण्ड, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र साइन्स टिचर एशोसिएसन नेपालसँगको सहकार्य गरेको थियो ।
माध्यमिक तहमा केमेस्ट्री अर्थात रसायणशास्त्र पढाउने शिक्षकहरूलाई वर्कशप सञ्चालन गरिएको थियो ।
यस वर्कशपका लागि देशभरका करिब १०० जना शिक्षक छनोट भएर काठमाडौं आएका थिए । काठमाडौंमा उनीहरूको खाने र बस्ने व्यवस्था नेपाल पोलिमर इन्स्टिच्युटलेनै गरेको थियो ।
छनोट भएका सरकारी विद्यालयका १०० शिक्षकलाई केमस्ट्रीका ९ वटा एक्सपेरिमेन्ट गराइएको थियो । वर्कशपको पहिलो दिन ३ वटा र दोस्रो दिन ६ वटा एक्सपेरिमेन्ट गराइएको थियो ।
वर्कशपका लागि १३ जना प्रशिक्षक नेपाल आइपुगेका थिए । थाइल्याण्डबाट ११ जना, भारतबाट १ जना र मलेसियाबाट १ जना नेपाल आएका हुन् ।
उक्त सामग्रीको प्रयोग गरेर सहभागी शिक्षकले परीक्षण गरेका थिए । त्यहाँबाट सिकेको कुरा शिक्षकले आफ्नो विद्यालयमा विद्यार्थीहरूलाई समेत सिकाउने छन् । वर्कशपमा सहभागीलाई एक्सपेरिमेन्टका लागि किट पनि उपलब्ध गराइएको थिए, जुन विद्यालयमा लिएर राख्नुपर्नेछ ।
छनोट भएका शिक्षकले वर्कशप सुरू हुन अगाडि र वर्कशप सकिएपछि टेस्ट दिएका थिए, जसको आधारमा उत्कृष्ट १० शिक्षकको छनोट गरिने छ ।
छनोट भएका १० जना शिक्षकले थाइल्याण्ड गएर थप सिक्ने अवसर पाउने छन् । थाइल्याण्डबाट सिकेर आएका विद्यार्थीले फेरि नेपाल आएर अरू शिक्षकहरूलाई सिकाउनु पर्ने हुन्छ ।