कीवर्डहरू -

अप्टिकल फाइबरमा १५ र सिमकार्डमा १० प्रतिशत कर

बढ्ला त इन्टरनेटको मूल्य ?

अप्टिकल फाइबरमा १५ र सिमकार्डमा १० प्रतिशत कर

अब अप्टिकल फाइबरमा १५ प्रतिशत र सिमकार्डमा १० प्रतिशत अन्तःशुल्क लाग्ने भएको छ । आर्थिक ऐन २०८० मा व्यवस्था भएबमोजिम नयाँ आर्थिक वर्ष सुरू भएसँगै नयाँ कर लागु भएको हो ।

गत आर्थिक वर्षमा अप्टिकल फाइबरमा अन्तशुल्क १० प्रतिशत लाग्ने गरेकोमा चालु आर्थिक वर्षमा त्यसलाई बढाएर १५ प्रतिशत पुर्‍याइएको छ ।

यसका साथै सिमकार्डको प्रनि अन्तःशुल्क बढाइएको छ । गत आर्थिक वर्षमा सिममा अन्तःशुल्क ५ प्रतिशत लाग्दै आएको थियो तर अब चालु आर्थिक वर्षमा १० प्रतिशत लाग्ने छ ।

सेवा प्रदायकले कर घटाउनु पर्ने माग गरिरहँदा सरकारले पनि कर बढाइरहेको छ । यसले गर्दा निकट भविष्यमा इन्टरनेट महंगो पनि हुन सक्नेछ ।

सरकारले इन्टरनेट जस्तो अत्यावश्यक सेवामा कर बढाइरहेको इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) का अध्यक्ष सुधिर पराजुलीले बताए ।

‘सरकारले इन्टरनेट र टेलिकम व्यवसायलाई छुट्याउन सकेको छैन् । राज्यले इन्टरनेट र मोबाइल कम्पनीलाई एकैठाउँमा राखेर कर लगाइरहेको छ,’ उनले भने, ‘बुझेर कर लगाउने प्रणाली हामी कहाँ विकास भएको छैन् । त्यो सुधार हुनुपर्छ ।’

नेपालमा हालसम्म ३५ प्रतिशत घरमा मात्रै फाइबरबाट इन्टरनेट पुगेको छ । ६५ प्रतिशत घरमा अझै पुगेको छैन् । प्राय जिल्ला सदरमुकाममा फाइबरबाट इन्टरनेट पुगेको छ । गाउँगाउँसम्म फाइबर इन्टरनेट पुग्न बाँकी छ । कर बढ्दा गाउँगाउँसम्म फाइबर इन्टरनेट पुग्न समस्या हुनेछ । किनकी कर बढ्दा लागत पनि बढ्ने छ ।

यता नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले अन्तःशुल्क बढेपछि लागत पनि बढ्ने बताए । ‘अन्तःशुल्क बढेपछि लागत पनि बढ्छ,’ उनले आइसिटी समाचारसँग भने, ‘बढेको लागत कसरी समायोजना गर्ने त्यो सेवा प्रदायकमा निर्भर हुन्छ । टेलिकमले के गर्ने अहिलेसम्म निर्णय गरेको छैन् ।’

अन्तःशुल्क बढेपछि उक्त लागत सेवा प्रदायक आफैले पनि व्यहोर्न सक्छन् वा ग्राहकले पनि व्यहोर्नु पर्ने हुन सक्छ । त्यो सम्बन्धि सेवा प्रदायकको निर्णयमा भर पर्नेछ । यदी ग्राहकले व्यहोर्नु पर्‍यो भने इन्टरनेट सेवा महंगो हुनेछ ।

अप्टिकल फाइबरमा कर बढाउँदा इन्टरनेटको लागत बढ्ने र सरकारले लिएको लक्ष्य नै पूरा गर्न अप्ठ्यारो हुने उनको भनाइ छ ।

‘हामीले इन्टरनेटमा लाग्ने कर घटाउनु पर्छ भनेका थियौं । तर सरकाले झन बढाएको छ,’ उनले आइसिटी समाचारसँग भने, ‘हामी त कर बढाउने होइन्, घटाउनु पर्छ भन्छौं । सरकारलाई भन्दा भन्दा मुखै दुखिसक्यो ।’

नेपालमा अहिले विराटनगर, वीरगंज र भैरहवाबाट इन्टरनेट भित्रिदै आएको छ । इन्टरनेट सेवा प्रदायकहरूको सबैभन्दा धेरै लगानी अप्टिकल फाइबरमै रहेको छ ।