कीवर्डहरू -

नेपालको जीडीपीमा आईटी सेवा निर्यातको योगदान १.४ प्रतिशत, कम्पनीभन्दा फ्रिल्यान्सरको बढी

नेपालको जीडीपीमा आईटी सेवा निर्यातको योगदान १.४ प्रतिशत, कम्पनीभन्दा फ्रिल्यान्सरको बढी

नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा आईटी सेवा निर्यातले १.४ प्रतिशत योगदान गरेको एक अध्ययनले देखाएको छ ।

सर्वांगीन विकास अध्ययन केन्द्र (आईआईडीएस) को नेतृत्वमा भएको अध्ययनले सन् २०२२ मा आईटी सेवा निर्यातले नेपालको जीडीपमा १.४ प्रतिशत योगदान गरेको देखिएको हो ।

नेपालको जीडीपीमा एक वर्षमा आईटी सेवा सेवा निर्यातको योगदान ०.५ प्रतिशतले बढेको छ । सन् २०२१ मा आईटी सेवा निर्यातले जीडीपीमा ०.९ प्रतिशत मात्रै योगदान गरेको थियो । त्यस्तै सन् २०२० मा त्यस्तो योगदान १ प्रतिशत थियो ।

यस बाहेक आईटी सेवा निर्यातले नेपालको विदेशी मुद्रा सञ्चितमा साढे ५ प्रतिशत योगदान गरेको छ । रोचक कुरा त के छ भने आईटी कम्पनीको भन्दा पनि फ्रिल्यान्सरले नेपालको जीडीपी र विदेशी मुद्रा सञ्चितमा धेरै योगदान गरेको पाइएको छ ।

जीडीपी तर्फ २०२२ मा आईटी कम्पनीले ०.५ प्रतिशत र फ्रिल्यान्सरले ०.८ प्रतिशत योगदान गरेका छन् भने विदेशी सञ्चित मुद्रा तर्फ आईटी कम्पनीको २.२ प्रतिशत छ भने फ्रिल्यान्सरको ३.४ प्रतिशत योगदान रहेको छ ।

सन् २०२२ मा मात्रै १०६ वटा सूचना प्रविधि कम्पनी र करिब ६६ हजार ५०९ फ्रिल्यान्सरले ६७ अर्ब बढीको सेवा निर्यात गरेका छन् ।

आईआईडीएसले प्राइमरी डेटाको रूपमा ३८९ फ्रिल्यान्सर र ८६ आईटी कम्पनीको सहभागीतामा उक्त अध्ययन गरेको थियो । यस बाहेक १०० बढी सरोकारवालासँग परामर्स समेत गरिएको थियो ।

सेकेन्डरी डेटाको रूपमा नेपाल राष्ट्र बैंक, आन्तरिक राजस्व विभाग, राष्ट्रिय तथ्यांक कार्यालय, कम्पनी रजिष्टारको कार्यालय र अनलाइन लबर इन्डेक्सको तथ्यांकलाई लिइएको थियो ।