कीवर्डहरू -

पोखरामा डिजिकम क्यान इन्फोटेक : कसले के भन्छन् ?

पोखरामा डिजिकम क्यान इन्फोटेक : कसले के भन्छन् ?

प्रविधिलाई स्थानीयस्तारमा विस्तार गर्न क्यान इन्फोटेकले सहयोग गरेको छ

रञ्जित पोदार
केन्द्रीय महासचिव, क्यान महासंघ

सूचना सञ्चार प्रविधिको पहुँच ग्रामीणस्तरसम्म हुनुपर्छ भनेर क्यान महासंघले आफ्ना जिल्ला शाखाहरु मार्फत् विविध कार्यक्रम गर्र्दै आएको छ । इन्फोटेक मेला क्यानलाई चिनाउने महत्वपूर्ण कार्यक्रम हो, जसले सूचना प्रविधि प्रदर्शनीमार्फत् आमजनतालाई नवीन प्रविधिबारे जानकारी दिन्छ भने व्यवसायीलाई आफ्ना सेवा र वस्तुको उचित प्रवद्र्धन गर्ने अवसर दिन्छ । हामीले यसै वर्ष हरेक प्रदेशमा एउटा इन्फोटेक मेला गर्ने योजनाअनुरुप प्रदेश ३ मा चितवनमा ग¥यौं र प्रदेश ५ मा बुटवलमा प्रदर्शनी भइरहेको छ । प्रदेश ३ मा पोखरामा भइरहेको छ । यसपछि प्रदेश १ को इटहरीमा गर्नेछौं । सूचना प्रविधिलाई पनि स्थानीयकरण गर्नपर्छ र यसबाट मात्रै समृद्धि सम्भव छ भनेर चिनाउने राम्रो माध्यम इन्फोटेक हो । हामीलाई के कुरामा गर्व छ भने कास्की क्यानमा जहिले पनि अनुभवी टिम आउने गरेको छ । राजधानीबाहिर निरन्तर ९ वर्ष इन्फोटेक गरेर देखाउनु नै उसको सफलता हो । हामीले अन्य जिल्ला शाखालाई हेर्नुपर्छ, तर क्यान कास्की आफैं सक्षम छ । अनुभवको आधारमा यो शाखा अगाडि बढिरहेको छ ।

हामीले मुख्यतः बलियो संगठन बनाउने विषयमा नै बढी छलफल ग¥यौं । क्यान महासंघको केन्द्र, प्रदेश र जिल्ला तहका संगठनलाई चुस्त बनाउने, निश्कृय रहेका संगठनलाई सक्रिय बनाउने लगायतका विषयमा छलफल भयो । यसका लागि केन्द्र, प्रदेश र जिल्लाबीच आपसी समन्वय गर्ने, सूचना नेटवर्क खडा गर्ने, भिडियो कन्फ्रेन्सिङ सुरु गर्ने, सबै शाखामा इन्टरनेट र अन्य पूर्वाधार राख्ने, फर्महरु अनलाइनमैत्री बनाउने र अन्ततः क्यानलाई नै स्मार्ट बनाउने विषयमा काम अगाडि बढाउन कार्ययोजना ल्याइदैछ । हाल १७ ओटा विभिन्न समिति बनाइएको छ र चाँडै नै संयोजक तोकिने छ ।

इन्फोटेक आइसिटी प्रवद्र्धनका लागि चर्चित प्लाटफर्म हो

जगनबहादुर गुरुङ
संस्थापक अध्यक्ष, क्यान कास्की
केन्द्रीय सचिव, क्यान महासंघ

नेपालमा सूचना प्रविधिको व्यापक विस्तार र प्रवद्र्धन गर्नुपर्ने देखिन्छ । क्यान महासंघले सञ्चालन गर्दै आएको इन्फोटेक पनि आइसिटी प्रवद्र्धनको चर्चित ‘प्लाटफर्म’ हो । हामीले जिल्लास्तरमा पनि क्यान इन्फोटेक सञ्चालन गर्दै आएका छौं । कास्की जिल्लाको कुरा गर्नुहुन्छ भने लगातार ९ संस्करणको इन्फोटेक गर्न हामी सफल भएका छौं । अब बदलिदो राज्य व्यवस्था र संरचनाअनुरुप आइसिटीको विकास गर्न हामीसामु थुपै्र अवसरसँगै चुनौती छ । महासंघको हिसाबले हामी पनि प्रादेशिक र जिल्ला संरचनामा गइसकेका छौं । आइीसटीको डेभलपमेन्टको कार्यक्रम भनेको सरकारसँग मिलेर गर्ने हो । अहिले स्थानीय, प्रदेश र केन्द्र सरकारको संरचना बनिरहेकाले क्यानले सबै तहका सरकारसँग उत्तिकै सहकार्य गरी कार्यक्रम गर्नुपर्ने छ । क्यान संगठनको सवालमा केन्द्र, प्रदेश र जिल्लालाई जोड्ने प्रविधिको विकासमा जुट्न जरुरी छ । योतर्फ हामी अघि बढिसकेका छौं । जिल्ला र प्रदेशले के गरिरहेको छ भनेर कन्द्रले सजिलै हेर्न सकोस् र देशैभर के कस्ता क्यानका गतिविधिहरु भइरहेका छन् भनेर एउटै कम्युनिकेशन नेटवर्कबाट थाहा पाउने गरी काम हुनेछ ।

इन्फोटेकका सन्दर्भमा क्यान कास्की परिपक्व भइसकेको छ

युवराज पौडेल
अध्यक्ष, क्यान महासंघ कास्की

सूचना र सञ्चार प्रविधिलाई आमजनमानसमा विस्तार र प्रवद्र्धन गर्ने अभिप्रायले नै हामीले क्यान इन्फोटेक प्रदर्शनी सुरु गरेका थियौं । हरेक संस्करणले हामीलाई परिपक्व बनाएको छ नै प्रदर्शनी सञ्चालनमा पनि सहजता महसुस गरिरहेका छौं । पहिलेका संस्करणमा इन्फोटेकको अघिल्लो दिन मात्रै स्पोन्सर फिक्स हुन्थ्यो । अहिले स्टल बुकिङ खुलाउनासाथ स्पोन्सर र एक्जिबिटरहरु पाएका छौं । साथै हरेक संस्करणमा अवलोकनकर्ताको संख्या बढिरहेको छ । यसर्थ क्यान कास्कीले इन्फोटेकलाई हरेक वर्ष थप विशेष र भव्य बनाउन सकेको छ ।

इन्फोटेक सूचना प्रविधिको मेला नभइकन बृहत प्रदर्शनी हो । विश्वबजारमा भित्रिएका नयाँ प्रविधिलाई आमदर्शकमाझ एकैथलोबाट प्रस्तुत गर्नु नै इन्फोटेकको विशेषता हो । अर्कोतर्फ प्रविधि परिर्वतन र परिस्कृत भइराख्छ र इन्फोटेकमा पछिल्ला मोडल वा भर्सन के के छन् भन्ने कुरा महत्वपूर्ण हो । हामीले विश्वबजारमा उत्पादन भएका सूचना प्रविधिजन्य वस्तु र सेवाका अतिरिक्त स्थानीय उत्पादन र विद्यार्थीका प्रतिभालाई उत्तिकै प्राथमिकता दिएका छौं ।

अर्कोतर्फ इन्फोटेकको पुर्वाद्र्धमा स्मार्ट सिटी विषयमा आइसिटी कन्फरेन्स गर्यौं । इन्फोटेकमा प्रदेशस्तरको टाइपिङ प्रतियोगिता, कलेज स्तरीय आइटी क्विज कन्टेस्ट, कम्प्युटर तथा ल्यापटपको निःशुल्क मर्मत सेवा लगायतका कार्यक्रम पनि छन् । इन्फोटेकका अवसरमा पुरानो ल्यापटपलाई उचित मूल्य दिएर साटफेर गर्ने व्यवस्थासमेत गरिएको छ । यस वर्ष इन्फोटेकमा रचनात्मक काम गर्ने उद्देश्यले गृहणी महिलालाई निःशुल्क कम्प्युटर शिक्षा प्रदान गर्दैछौं । वार्षिक कार्यक्रममा इन्फोटेकलाई हामीले विशेष प्राथमिकतामा राख्दै आइरहेका छौं ।

प्रविधिका नयाँ संस्करण एकै थलोमा उपलब्ध छन्

नवीन पौडेल
प्रथम उपाध्यक्ष, क्यान महासंंघ कास्की

शुक्रबारदेखि सुरु भएको ९औं संस्करणको डिजिकम क्यान इन्फोटेकमा अवलोकनकर्ताको सन्तोषजनक आगमन भइरहेको छ । आज शनिबारदेखि अवलोकनकर्ताको फ्लो बढ्ने अनुमान गरेको छु । सूचना प्रविधिका नयाँ संस्करण एकै थलोबाट नियाल्न पाउने अवसरको रुपमा इन्फोटेकलाई उपयोग गर्न सकिन्छ । हामीले इन्फोटेकलाई मेला नभई प्रदर्शनीको रुपमा सञ्चालन गरेकाले अधिकांश कम्पनीहरुले आफ्ना वस्तु र सेवाको ब्रान्डिङ गरेका छन् । अन्य मेलामा जस्तो अवलोकनकर्ताको भिड यस्ता प्रदर्शनीमा नहुन सक्छ । तर, नयाँ प्रविधिप्रति झुकाव राख्ने पुस्ताको संख्यामा भने वृद्धि भएको छ । अब सूचना प्रविधि हरेक व्यक्तिदेखि कार्यालय र ठूला उद्योगसमेत अपरिहार्य बनिसकेको अवस्थामा विस्तारै पोखरा र आसपासका क्षेत्रमा पनि चासो र आकर्षण बढाउन इन्फोटेकले सहयोग गर्ने विश्वास लिएको छु ।

दर्शकलाई आकर्षित गर्न आकर्षक प्याकेज ल्याएका छौं

विकास भुर्तेल
सचिव, क्यान महासंघ कास्की

मोफसलमा रहेर पनि हामीले बर्सेनि निरन्तर इन्फोटेक आयोजना गर्न सफल छौं । पोखरा अब मोफसल भन्दा पनि प्रदेश नं. ४ को केन्द्र बनिसकेको छ । आगामी वर्षमा इन्फोटेकको महत्व अझै बढ्नेमा हामी ढुक्क छौं । विगतका वर्षहरुमा आयोजना भएका इन्फोटेकको सफलताले नै हामीलाई अगाडि बढ्न प्रोत्साहन गरेको हो । हाम्रा अग्रजहरुले सुरु गरेको यो इन्फोटेक सूचना तथा प्रविधिका क्षेत्रमा ब्राण्ड बनिसकेको छ । हाम्रो लक्षित समूहको उपस्थिति इन्फोटेकमा वर्षेनी बढिरहेको पाएका छौं । बिगतका वर्षहरुमा भन्दा यसपटक अझ बढी उत्साहजनक उपस्थिति रहनेमा हामी विश्वस्त छौं । दर्शकलाई आकर्षित गर्न हामीले विभिन्न आकर्षक प्याकेजहरु ल्याएका छौं । प्रत्येक स्टलमा सामान खरिद गर्दा १० देखि ७० प्रतिशतसम्म छुट प्रदान गर्दै छौं । इन्फोटेकलाई प्रविधिमैत्री बनाउने क्रममा अनलाइनमा टिकट काट्ने व्यवस्था गरिएको छ । आइपेसँगको सहकार्यमा अनलाइनबाट टिकट काट्ने व्यवस्था गरिएको हो । अनलाइनमा टिकट काट्दा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ भने सय रुपैयाँको रिचार्ज गर्दा ४० रुपैयाँ बोनस पाउने व्यवस्था गरिएको छ । टिकटमा सनराइज बैंकले ४ सय प्रतिशतसम्म क्यासब्याक अफर ल्याएको छ ।

डिजिकमका प्रत्येक प्रडक्टमा २० प्रतिशत छुट दिएका छौं

अरुण वंशल
अध्यक्ष, हाइटेक इन्जिनियरिङ प्रालि

काठमाडौंमा आयोजित क्यान इन्फोटेकमा हामीले वर्षेनी सहकार्य गर्दै आइरहेका थियौं । यसपटक हामीले पोखरामा आयोजित क्यान इन्फोटेकलाई पनि साथ दिएका छौं । इन्फोटेकको मुख्य प्रायोजक भएर पोखरा आउन पाउँदा हामी हर्षित छौं । डिजिकमको सेवा सञ्चालनको २०औं वर्षको उपलक्ष्यमा देशभर ब्राण्ड प्रवद्र्धनको अभियानमा सक्रिय भइरहेका छौं । नेपाल टेलिकम, एनसेल लगायत इन्टरनेट सर्भिस प्रोभाइडरहरु तथा केवल टिभी अपरेटरहरुले डिजीकमका नेटवर्किङ प्रडक्टहरु बिगत २० वर्षदेखि प्रयोग गर्दै आइरहेका छन् । डिजीकमको अपटिकल फाइबर केबलको माग बढिरहेको छ । उपभोक्ता प्रडक्टमा विभिन्न मोडलका राउटरहरु, एक्स्टेन्सन कडहरु, टेलिफोन सेटहरु धेरै प्रशिद्ध छन् । २०औं वर्षको उपलक्ष्यमा डिजिकमले नेपालका लागि ब्राण्ड एम्बेस्डरमा कलाकार दीपकराज गिरी र दीपाश्री निरौलालाई आबद्ध गरेको छ ।
यसै क्रममा पोखरामा आयोजित नवौं संस्करणको क्यान इन्फोटेकको समेत आकर्षण बढाउने गरी कलाकारद्वय गिरी र निरौलालाई हामीले पहिलो दिन यहाँ ल्याएका थियौ । उहाँहरुसँग फोटो खिचाउने व्यवस्था गरिएको थियो । २०औं वर्ष प्रवेशकै अवसरमा मेला अवधिभरी डिजिकमका हरेक प्रडक्टमा २० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।