मुलुकमा संचालित तीनवटा दूरसञ्चार सेवा प्रदायकमध्ये सबैभन्दा छिटो फोनकल निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलको नेटवर्कमा लाग्ने गरेको नियामक निकायको एक परीक्षणले देखाएको छ ।
नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले गरेको अध्ययनमा कल स्थापना हुने लाग्ने समय र कल स्थापना हुने सफलताको दरमा सबैभन्दा अगाडी एनसेल देखिएको छ । यद्यपी प्राधिकरणले तोकेको न्यूनतम मापदण्डमा कुनै पनि कम्पनी परेका छैनन् ।
प्राधिकरणले मुलुकमा सञ्चालित टेलिकम कम्पनीहरुको नेटवर्कभित्र २०७७ चैतदेखि २०७८ जेठसम्म कल लाग्ने समय र कल स्थापित हुन लाग्ने दरको परीक्षण गरेको थियो ।
प्राधिकरणले आइतबार सार्वजनिक गरेको मोबाइल सेवाको गणुस्तर परीक्षण (ड्राइभ टेस्ट) प्रधतवदेनअनुसार एनसेलको कल स्थापना हुन लाग्ने समय ५.२७ सेकेन्ड रहेको छ । प्राधिकरणले तोकेको कल स्थापना हुन लाग्ने समय ५ सेकेन्ड वा त्योभन्दा कम हुनुपर्छ ।
त्यस्तै, कल स्थापना हुने कल सफलताको दर एनसेलको ९४.४३ प्रतिशत छ । प्राधिकरणले तोकेको कल स्थापना हुने सफलताको दर ९९ प्रतिशत वा सोभन्दा धेरै हुनुपर्छ ।
नेपाल टेलिकमको कल स्थापना हुन लाग्ने समय ९.३४ सेकेन्ड देखिएको छ भने कल स्थापना हुने सफलताको दर ९०.५१ प्रतिशत रहेको छ ।
त्यस्तै, प्रयोगकर्ताहरु धेरै नभए पनि स्मार्ट टेलिकमको कल स्थापना हुने समय १०.२७ सेकेन्ड रहेको छ भने कल स्थापना हुने सफलताको दर ८४.४७ प्रतिशत रहेको छ ।
आफै फोनकल विच्छेद हुने दरमा भने सबै टेलिकम कम्पनीको अवस्था राम्रो देखिएको छ । प्राधिकरणले तोकेको आफै फोनकल विच्छेद हुने दर २ प्रतिशत वा सोभन्दा कम हुनुपर्छ । त्यसमा नेपाल टेलिकमको ०.८७ प्रतिशत, एनसेलको ०.२ प्रतिशत र स्मार्ट टेलिकमको ०.४५ प्रतिशत रहेको छ ।
प्राधिकरणले काठमाडौं उपत्यकाका तीन जिल्लाका विभिन्न ठाउँमा ड्राइभ टेष्ट विधिबाट उक्त परीक्षण गरिएको थियो । प्राधिकरणले काठमाडौंको कमलादी, त्रिपुरेश्वर, कालिमाटी, कलंकी, क्षेत्रपाटी, बागेश्वरी, स्वयम्भू, सीतापाइला, छाउनी, चाबहिल, गोठाटार, कपन, मण्डीकाटार, गोल्फुटार, चपली, नारायणथान, गोंगबु, गौशला, सिनामंगल र शान्तिनगरमा गरिएको थियो ।
त्यस्तै, ललितपुरको टेकु, कुपन्डोल, बालकुमारी, इमाडोल, ग्वार्को र टिकाथलीमा उक्त परीक्षण गरिएको थियो । भक्तपुरमा बालकोट, कौशलटार, पेप्सीकोला, नरेफाँट परीक्षण गरिएको थियो । साथै, यि जिल्लाका रिंगरोड भित्रका मुख्य तथा सहायक मार्गहरुमा यो परीक्षण गरिएको थियो ।
यस विधिमा चलायमान सवारीसाधनमा जडान गरिको परीक्षण उपकरणद्धारा लगातार फोनकल गरी वा डाटा प्रयोग गरी मोबाइल नेटवर्कको मुख्य सेवा मानकहरुको तथ्यांक संकलन गरिन्छ ।
कुनै एक स्थानमा उपलब्ध सबै सेवा प्रदायकहरुको गुणस्तर मापन समानान्तर रुपमा एकैसाथ गरिन्छ । हरेक सेवा प्रदायकको कुनै स्थानमा उपलब्ध नेवर्क (फोरजी, थ्रिजी, टेजी) मधये सर्वाधिक अनुकूल नेटवर्क स्वचालित रुपमा छनौट हुने गरी उपकरणमा व्यवस्था गरिन्छ ।
हेुर्नहोस् पूर्ण प्रतिवेदन