कीवर्डहरू -

जाजरकोटमा एक महिनादेखि टेलिफोन सेवा अवरुद्ध

जाजरकोटमा एक महिनादेखि टेलिफोन सेवा अवरुद्ध

जाजरकोट जिल्लाको कुशे गाउँपालिकामा एक महिनादेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । टेलिकमले नियमित रूपमा टावर र बीटीएसहरूको मर्मत नगर्दा स्थानीय बासिन्दाले सास्ती भोगिरहेका छन् ।

सदरमुकाम खलङ्गाका सेवाग्राहीसमेत मोबाइल नेटवर्क गइरहने समस्याले पीडित बनेका छन् । इन्टरनेट सेवा भरपर्दो नहुँदा सरकारी सेवा प्रवाह पनि प्रभावित भइरहेको छ ।

खलङ्गास्थित थाप्ले, ठाँटी, थाप्लेचौर, स्याँला, पिपे, रिम्ना, रिसाङ, कल्याणपुरलगायतका टोलमा नेपाल टेलिकमको मोबाइल सेवामा गतिलो पहुँच छैन ।

कुशे–८, लाँताचुलीमा स्काई मोबाइल टावर मर्मत नहुँदा र नयाँ टावर निर्माणमा ढिलाइ हुँदा स्थानीयवासी टेलिफोन सेवाबाट वञ्चित भएका हुन् । लाँताचुली टावरमा पावरको समस्या हुँदा मोबाइल सेवा अवरुद्ध भएको हो ।

टेलिकमको टावरबाट एक/डेढ किलोमिटर दूरीमा पनि नेटवर्क नहुने समस्या रहेको स्थानीय बासिन्दा प्रेम विकले बताए।

मोबाइल नेटवर्क नहुँदा कुशेका बासिन्दा सञ्चार सुविधाविहीन भएको स्थानीय बासिन्दा अमृत गौतमले बताए । ‘फोन सम्पर्क गर्न दुई घण्टा पैदलै हिँडेर अग्लो डाँडामा पुग्नुपर्ने बाध्यता छ। हामीले फोन गर्नका लागि निकै सास्ती भोगेका छौँ,’ अमृत गौतमले भने ।

उनका अनुसार टेलिफोन सेवा नहुँदा विभिन्न सरकारी सेवामा समेत समस्या भएको छ । कुशे –८, थलीमा निर्माणाधीन टावर पाँच वर्षदेखि अलपत्र हुँदा स्थानीयले फोनकै लागि सास्ती भोगिरहेका छन् ।

लाँताचुली टावरमा सोलार ब्याट्रीले काम नगर्दा मोबाइल सेवा सञ्चालन गर्न समस्या भएको स्थानीयवासीको भनाइ छ ।

टेलिकम कार्यालय जाजरकोटका प्रमुख गोपेन्द्र अधिकारीका अनुसार लाँताचुलीको स्काई मोबाइल टावर मर्मत नभएसम्म कुशेमा फोन सेवा सञ्चालन हुन समस्या छ ।

स्वास्थ्य एकाइ बन्द हुँदा बिरामी मर्कामाथलीमा टावर निर्माणका लागि पुरानो ठेक्का तोडेर नयाँ ठेकेदारलाई जिम्मा दिइएको छ। छ महिनाभित्र टावर निर्माण गर्ने गरी ठेकेदारले सम्झौता गरेका छन् ।

पैङ्क प्रहरी चौकीका इन्चार्ज गङ्गाबहादुर चन्दले टेलिफोन अभावका कारण प्रहरीलाई सूचना सञ्चार गर्न निकै समस्या परेको बताए ।

टेलिफोन सेवा अवरुद्ध भएको एक महिना हुदाँ पनि गाउँपालिकाले टावर सञ्चालनका लागि कुनै पहल नगरेको स्थानीयवासीको गुनासो छ । गोरखापत्र