फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेट प्रयोगकर्ता ३० लाख ६१ हजार ९८३ पुगेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार २०८१ माघसम्म फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेट प्रयोगकर्ता ३० लाख ६१ हजार ९८३ पुगेका छन् ।
२०८१ पुससम्म फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेट प्रयोगकर्ता २९ लाख ८४ हजार ५६१ रहेका थिए । एक महिनामै इन्टरनेट सेवा प्रदायकले ७७ हजार ४२२ नयाँ ग्राहक थप्न सफल भएका छन् ।
एक महिनाको अवधिमा इन्टरनेट सेवा प्रदायक (आईएसपी) कम्पनी भायानेटले सबैभन्दा बढी ग्राहक बढाएको छ । भायानेटले पुसको तुलनामा माघमा २४ हजार २११ ग्राहक नयाँ थप्न सफल भएको हो ।
यस्तै वाईफाई नेपालले २० हजार ८०६, वर्ल्डलिंकले ८ हजार, डिशहोमले ७ हजार, नेपाल टेलिकमले १ हजार ६६३, सुबिसुले २५००, वेबसर्फरले १९७३, क्लासिक टेक २२ हजार ८५ र टेकमाइन्ड्सले ३ हजार ८१९ ग्राहक थप्न सफल भएका छन् । तर सिजीका भने उल्टै ७६४ ग्राहक घटेका छन् ।
ग्राहकका आधारमा शीर्ष १० आईएसपी
धेरै ग्राहक हुनेको सूचीको पहिलो नम्बरमा रहेको छ, वर्ल्डलिंक । वर्ल्डलिंकका ९ लाख ७३ हजार ११३ ग्राहक रहेका छन् ।
३ लाख ५० हजार २५ ग्राहकसहित नेपाल टेलिकम दोस्रोमा, ३ लाख ४३ हजार ८५० सहित डिशहोम तेस्रोमा, ३ लाख १० हजार ६२७ सहित सुबिसु चौथोमा र २ लाख ४२ हजार ३३३ ग्राहकसहित भायानेट पाँचौ नम्बर रहेको छ ।
त्यसैगरी १ लाख ८६ हजार ९१६ सहित छैटौंमा वेबसर्फर, १ लाख ७६ हजार ८१९ सहित क्लासिक टेक सातौंमा, ८२ हजार ९६० सहित टेकमाइन्ड्स आठौंमा, ७६ हजार ११४ ग्राहकसहित सीजी नवौंमा र ६२ हजार २७१ ग्राहकसहित वाईफाई नेपाल दशौं नम्बरमा रहेको छ ।
(यसअघि शीर्षकमा तथ्यांक गलत पर्न गएकाले सच्याइएको छ । असुविधाका लागि क्षमाप्रार्थी छौं - सम्पादक)