कीवर्डहरू -

नेतृत्वमा खारिदै - विश्व बलामी

नेतृत्वमा खारिदै - विश्व बलामी

विश्व राम बलामी स्वस्तिक डिस्ट्रीव्युसन प्रा.ली.का प्रबन्ध निर्देशक तथा क्यान महासंघका केन्द्रीय महासचिव हुन् । २० वर्षदेखि नेपालको आइटी क्षेत्रमा क्रियाशील उनी समय र भूमिका अनुसार कम्प्युटर शिक्षक, सफ्टवेयर एवं हार्डवेयर प्राविधिक र ब्यापारी, सामाजिक एवं आइटी क्षेत्रका अगुवा आदिको परिचयमा चिनिन्छन् । हामीले उनको व्यवसायिक जीवनलाई अझ नजिकबाट बुझ्ने प्रयास गरेका छौं ः


काठमाडौंको सितापाइलामा सन् १९७६ मा जन्मिएका थिए, विश्व । खाद्यन्न ब्यापार र राइस मिल परिवारको पुख्र्यौली पेशा थियो । सिद्धार्थ बनस्थलीबाट एसएलएसी (१९९२) पास गरे पछि अमृत साइन्स क्याम्पसमा उनले आइएस्सी गरे । अनि स्नातक र स्नातकोत्तर (व्यवस्थापन संकाय) त्रिभुवन विश्वविद्यालयबाट पुरा गरे ।

एसएलपछि नै हो उनले पहिलो पटक कम्प्युटरको नाम सुनेको । ‘एउटा हिरो होण्डाको बाइकको मूल्य ६५ हजार पर्ने त्यो बेला इन्टेलको ३८६ कम्प्युटरको मूल्य ८५ हजार पर्ने रहेछ,’ आइटी क्षेत्रमा प्रवेश गर्दाको समय सम्झिदै उनी भन्छन्, ‘त्यो कम्प्युटरबाट धेरै सिकें, धेरै बिगारें । आज जहाँ छु त्यही कम्प्युटरकै कारण छु ।’ कम्प्युटरप्रतिको मोहले नै उनले सिंहदरबारमा रहेको तत्कालनीन राष्ट्रिय कम्प्युटर केन्द्रमा डिप्लोमा कोर्ष गरे । यसपछि विभिन्न ट्रेनिङ इन्स्टिच्युटहरुमा कम्प्युटर शिक्षक भएर पढाउन थाले । ‘ट्रेनिङ इन्स्टिच्युटहुँदै ५ वर्षसम्म विभिन्न कलेजमा कम्प्युटर साइन्स पढाएँ,’ उनले विगत खुलाए ।

\"\"

बेल्ट्रोनिक्सदेखि नेपाल स्याटेलाइटसम्म

उनले सन् १९९७ मा स्नातक सके । यसपछि त्यतिबेलाको ‘भर्सटाइल‘ कम्पनी बेल्ट्रोनिक्समा काम गरे । कम्प्युटर एसेम्बिलङदेखि पिएबिएक्स र सिसिटिभी, युपिएसजस्ता नेटवर्किङ लगायतको काम त्यो कम्पनीले गथ्र्यो । ‘सफ्टवेयर लाइनको म बेल्ट्रोनिक्समा छिरेपछि हार्डवेयर लाइनतिर तानिन थालेछु,‘ उनले भने । टेक्टोनिक्स नामक कम्पनीले दिल्लीमा ०५९ सालमा अप्टिकल फाइबर प्रविधिमा सेमिनार गरेको थियो ।

त्यो सेमिनार उनको जीवनको अर्को ‘टर्निङ प्वइन्ट’ बनिदियो । कम्प्युटर सफ्टवेयर, हार्डवेयर, इलेक्ट्रोनिक्स प्रडक्ट हुँदै उनी अप्टिकल फाइबरसम्म आएका थिए । त्यस पछि मर्कन्टाइल, मेरो मोबाइल (हालको एनसेल) जस्ता कम्पनीमा अप्टिकल फाइबर टेक्निकल कन्सल्टेन्टको अनुभव प्राप्त गरे । यसपछि उनले मध्यपश्चिममा रहेको नेपाल स्याटेलाइट टेलिकममा चिफ प्रोजेक्ट अफिसरको रुपमा काम गरे । ‘टेलिकमको टेक्निकल रिसोर्सेसको रुपमा अप्टिकल फाइबर लगायत बिटीएस तथा प्राविधिक परियोजना प्रमुखको रुपमा काम गरे ।

लाखको जागिर छोडेर ‘आन्ट्रप्रेनर’

सेक्सन अफिसरको तलब १२ हजार हुँदा उनले लाख रुपियाँ नेपाल स्याटेलाइटबाट बुझ्थे । तर लाख बढीतलबले उनलाई धेरैबेर लोभ्याएन । नेटवर्क र विशेषगरी अप्टिकल फाइबरमा बटुलेको विशेषज्ञताले उनीभित्र उद्यमी बन्ने रहर जन्मियो । अनि अप्टिकल फाइबर बेच्ने र सर्भिस दिने कम्पनी नेक्स्ट टेक्नोलोजी खोले । यति मात्रै नभई केही साथीसँग मिलेर रियल डिजिटल टिभी नामक पहिलो डिजिटल टिभीमा काम पनि गरे । ‘म सिइओ थिएँ । तर त्यो ब्यावसायबाट‘ब्याड एक्सिपिरियन्स’ पायौं । आन्ट्रप्रेनर्स बन्नलाई दुई तीन तिर हात हाल्न हुँदैन भन्ने पाठ सिकें ।

सुरुमै महत्वाकांक्षी पनि बन्न नहुने बुझें ।’ तर परिवारको आर्थिक सहयोग, केबल टिभी र इन्टरनेट प्रोभाइडर कम्पनीसँगको ‘पिआर’ र व्यवहारिक कार्ययोजनाआदिका कारण उनको अप्टिकल फाइबरको बिजनेशले गति लिन थाल्यो । त्यसपछि ‘विस्तारै बैंकिङ वित्तीय र उद्यौगिक क्षेत्रमा यो बिजनेश विस्तार गरें,’ उनले भने । नेपालमा इलेक्टोनिक्स र नेटवर्क प्रडक्ट बेच्ने ब्यापारी धेरै भएपनि सर्भिस दिन २÷४ जना इन्जिनियर राख्ने परिपाटी पनि छैन ।

यसर्थ ब्यापारसँगै राम्रो सर्भिस दिने सिस्टम इन्टिग्रेटर कम्पनीको रुपमा आफ्नो व्यवसायलाई प्रस्तुत गरे । फलस्वरुप बिजनेशमा पछि फर्केर हेर्नुपरेको छैन । आज दुई दर्जन बैंकहरु, टेलिकम, ठुला उद्योग र आइएसपीहरुलगायत उनका क्लाइन्ट छन् । उनले आफूलाई नेटवर्किङ, भिडियो कन्फरेन्सिङ, इलेक्टोनिक्स सेक्युरिटी प्रडक्टहरु सिसिटिभी, पिएबिएक्स लगायतको ब्यापारसँगै सर्भिस दिने भएकाले आफूलाई सिस्टम इन्टिग्रेटरको रुपमा चिनाउन चाहन्छन् । भन्छन्, ‘कम्पनीकै स्लोगान छ – वि डन्ट सेल द प्रडक्ट, वि सेल दि सिस्टम ।’

क्यान महासंघको यात्रा

बेल्टोनिक्समा काम गर्दा नै उनका बोस विजयकृष्ण श्रेष्ठ क्यानको अध्यक्ष थिए ।श्रेष्ठकै प्रेरणाले क्यानका कार्यक्रममा सहभागी हुने बलामी ०५९ सालमा कार्यसमिति सदस्य नै भएर आए । ‘ब्यापारी र प्राविधिक दुवै भएकाले क्यानका लागि समय निकाल्नु निकै गारो हुन्थ्यो । तर, देश र आइटी क्षेत्रका लागि पनि सामाजिक उत्तरदायित्व बहन गर्नुपर्ने सोच थियो ।

यसअघि आफू २७ वर्षकोे हुँदा रेडक्रसको उपशाखाको अध्यक्ष भएर काम गरेको थिएँ । साथै सितापाइला माविको व्यवस्थापन समितिको अध्यक्ष हुँदा उच्च मावि बनाउने लगायतका काममा गरेका योगदानले पनि मलाई सन्तुष्टि दिएको थियो ।यसर्थ यिनै सामाजिक कार्यले क्यान महासंघमा लाग्न प्रेरित गर्यो । \"\"

‘अब पुरा जीन्दगी नै आइटीमा’

व्यवसायिक र इन्डिस्ट्रियल रुपमा आइटी क्षेत्रमा उनले लामो समय बिताएका छन् । भन्छन्, ‘मेरो व्यक्तिगत, व्यवसायिक र सामाजिक जीवन आइटीमै जोडिएको छ । अबका दिन पनि यसबाट अछुतो रहने छैन । सपना छ, सूचना प्रविधियुक्त समृद्ध देश बनेको हेर्ने अनि त्यसमा आफ्नो क्षमताअनुसारको योगदान गर्न चाहन्छु ।’उनी उद्यमशीलतालाई संघर्षसहितको तपस्या भन्न रुचाउछन् ।

‘एउटा दर्शन नै छ नि, कर्म गर फलको आशा नगर । आफ्ना जिम्मेवारीहरु पुरा गर्नुपर्छ । सफलता पछ्याउन छाड्नु हुँदैन,’ उनले भने । आफू मल्टिबिलिनियर हुने कहिल्यै सोच नराखेको बताउने उनले आइटी इन्डस्ट्रीको हक, हित संरक्षणका लागि यथासम्भव सबै साहस खर्चिने बताउछन् । आफ्नो यात्रामा बारम्बार सहयोग गर्ने श्रीमती श्वेता, छोरा बरदान र छोरी सौम्याप्रति पनि उनी आभारी छन् ।

आइटी विकास ‘यसरी’

पछिल्लो ब्रोडब्यान्ड नीतिसम्म आउँदा आइटी क्षेत्रमा थुप्रै पोलिसी बनेका छन् । बलामीको विचारमा ति पोलिसीको कार्यान्वयन हुन नसक्नु नै यो क्षेत्र पछि पर्नुको पहिलो कारण हो । साथै युवा जनशक्तिको संरक्षण र प्रवद्र्धन नगर्दा पनि आइटीले फड्को मार्न नसकेको अनुभव उनको छ । अनि अन्य उद्योगमा जस्तो आइटीमा वैदेशिक र स्वदेशी लगानी भित्र्याउन तत्परता देखाउन राज्यको ध्यानकर्षण गर्छन् उनी । \"\"

नेतृत्वको चुनौती

उनी पछिल्लो समय ब्यापारी वा आइटी व्यवसायीसँगै यो क्षेत्रको अगुवाका रुपमा परिचित छन् । क्यान महासंघको महासचिवको रुपमा खरो र स्पष्ट बोल्ने विश्वराम आगामी दिनमा पनि आइसिटी उद्योग निर्माण र विस्तारमा आफ्नो क्षमता, बुद्धि र विवेक प्रयोग गर्ने सोचमा छन् । महासंघले दिएका अवसर र जिम्मेवारीलाई सफलताका साथ वहन गर्दै आएको र संगठनलाई व्यवस्थति गर्ने शैलीका कारण साथीभाईमाझ उनको छवि पनि लोकपिइ छ ।

भन्छन्, ‘संगठनले दिने जुनसुकै जिम्मेवारीका लागि तयार छु ।’ आगामी दिनमा क्यान महासंघलाई सूचना प्रविधि क्षेत्रको साझा छाता संगठनको रुपमा देशैभर विस्तार गर्दै यो क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनमा सार्थक भूमिका खेल्ने योजनालाई नै उनले निरन्तरता दिएका छन् ।

बलामीको प्रोफाइल स्टोरी माघ महिनाको 'लिभिंग विथ आइसिटी' मा प्रकाशन भएको थियो । उक्त म्यागजिन पूर्णरुपमा डाउनलोड गरि पढ्न यहाँ क्लिक गर्नुहोस ।

प्रस्तुरी - शिब बस्नेत