काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको नेतृत्व चयन प्रक्रिया थप अघि बढेको छ । अध्यक्ष पदका लागि आवेदन दिएका मध्ये २९ जना उम्मेदवार प्रारम्भिक मूल्याङ्कनमा योग्य ठहरिएका छन् ।
अध्यक्ष पदका लागि योग्य ठहरिएका उम्मेदवारहरू अब कार्ययोजना मूल्याङ्कन, प्रस्तुतीकरण र अन्तर्वार्तामा सहभागी हुनेछन् । यी चरणको मूल्याङ्कनपछि मन्त्रालयले उपयुक्त उम्मेदवारको नाम सिफारिस गर्नेछ ।

यसबीच प्राधिकरणको बोर्डमा रिक्त सदस्य पदहरूका लागि पनि छनोट प्रक्रिया जारी छ । तर कानुनतर्फको सदस्य पदमा भने पर्याप्त योग्य उम्मेदवार नपुगेपछि प्रक्रिया पुन: सुरु गर्नुपर्ने अवस्था देखिएको छ । अब सो पदका लागि पुन: दरखास्त आह्वान गरिनेछ ।
यस्तै लेखा तथा लेखापरीक्षण सदस्य पदमा आवेदन दिएका छ जना योग्य भएका छन् । यस्तै बजार व्यवस्थापन सदस्य पदमा पाँच आवेदकमध्ये चार जना छनोट प्रक्रियामा कायम रहेका छन् । प्रशासन तथा प्राविधिक क्षेत्रतर्फ सबैभन्दा बढी आवेदन परेको छ । यस समूहमा ११ जना उम्मेदवारले मात्रै निर्धारित योग्यता पूरा गरेका छन् ।

मन्त्रालयले अध्यक्ष पदका लागि सम्बन्धित क्षेत्रमा स्नातकोत्तर तहको शैक्षिक योग्यता र कम्तीमा १० वर्षको अनुभव अनिवार्य गरेको थियो । सदस्य पदका लागि स्नातक तहसहित कम्तीमा सात वर्षको कार्यअनुभव आवश्यक पर्ने व्यवस्था छ ।
उम्मेदवारहरूले आवेदनसँगै दूरसञ्चार प्राधिकरण सुधार तथा विकाससम्बन्धी तीन हजारदेखि पाँच हजार शब्दसम्मको व्यावसायिक कार्ययोजना पनि पेश गरेका छन् । अब यही कार्ययोजना, अनुभव र प्रस्तुतीकरणका आधारमा अन्तिम छनोट प्रक्रिया अघि बढ्नेछ ।
आईसीटी समाचार