कीवर्डहरू -

निसानले ल्यायो फुल चार्जमा ३६३ किलोमिटर गुड्ने लिफ ई प्लस विद्युतीय कार

निसानले ल्यायो फुल चार्जमा ३६३ किलोमिटर गुड्ने लिफ ई प्लस विद्युतीय कार

निसानले आफ्नो लोकप्रिय विद्युतीय कार लिफको नयाँ भर्सन सार्वजनिक गरेको छ । निसान लिफ इ प्लस (Leaf e+) नाम राखिएको सो इलेक्ट्रिक कारले एक पटकको चार्जमा ३६३ किलोमिटर सम्मको यात्रा गर्न सक्छ ।

अमेरिकाको लस भेगासमा आयोजित कन्जुमर इलेक्ट्रोनिक्स शो (सीईएस) मा सो कार पनि प्रदर्शन गरिएको छ ।

निसान लिफ ई प्लसले हाल बजारमा प्रचलित लोकप्रिय विद्युतीय कारहरु टेस्ला मोडल ३ र सेभ्रोले बोल्टसँग कडा प्रतिस्पर्धा गर्नेछ । निसान लिफ ई प्लसको ब्याट्री रेन्ज ३६३ किलोमिटर अर्थात २२६ माइल छ भने टेस्ला मोडल ३ को २२० देखि ३१० र सेभ्रोले बोल्टको २३८ माइल छ ।

त्यसैगरी टेस्ला मोडल ३ को मूल्य ४४ हजार र सेभ्रोले बोल्टको मूल्य ३६ हजार ६२० डलर छ । यद्यपि निसान लिफ ई प्लसको मूल्य भने अहिले नै सार्वजनिक गरिएको छैन ।

निसानले सन् २०१० मा बजारमा उपलब्ध गराए यता ३ लाख ८० हजार लिफ इलेक्ट्रिक कार बिक्री गरिसकेको छ । ती मध्ये अमेरिकामा मात्र १ लाख २८ हजार कार बिक्री भएका छन् ।

यो नयाँ लिफ ई प्लस भने यही महिनमा जापानबाट बिक्री प्रारम्भ हुनेछ । त्यसपछि अमेरिका र युरोपमा यही वर्षको मध्यदेखि यसको बिक्री गरिने बताइएको छ ।

निसान कम्पनीका पूर्व अध्यक्ष कार्लोस घोस्न हाल विभिन्न अभियोगमा जेलमा छन् । निसानको विद्युतीय कार उत्पादन र विकासमा घोस्नको धेरै योगदान छ । उनको अनुपस्थितिमा पनि निसानले यो नयाँ विद्युतीय कार सार्वजनिक गरेको हो ।