कीवर्डहरू -

१६ सिट क्षमताको विद्युतीय मिनिबस 'MAXUS eDELIVER5' सार्वजनिक

१६ सिट क्षमताको विद्युतीय मिनिबस 'MAXUS eDELIVER5' सार्वजनिक

काठमाडौं । हिमालय मोट्रोक्स प्रा.लि.ले १६ सिट क्षमताको विद्युतीय मिनिबस MAXUS eDELIVER5 नेपाली बजारमा सार्वजनिक गरेको छ । हिमालय अर्गनाइजेसनअन्तर्गत नेपालका लागि MAXUS को आधिकारिक आयातकर्ता तथा वितरक कम्पनीले उक्त मिनिबसको मूल्य ६९ लाख ५० हजार रुपैयाँ निर्धारण गरेको छ ।

अक्टोबर ११, २०२६ मा काठमाडौंमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको यो मिनिबस विशेषगरी होटल, रिसोर्ट, पर्यटन तथा व्यावसायिक यातायात क्षेत्रमा उपयोगी हुने कम्पनीले जनाएको छ ।

MAXUS eDELIVER5 मा ६४ किलोवाट आवर क्षमताको CATL ब्याट्री जडान गरिएको छ । कम्पनीका अनुसार यसले NEDC परीक्षण मापदण्डअनुसार एक पटकको फुल चार्जमा ४०० किलोमिटरसम्म रेन्ज दिन्छ । यसले अधिकतम १२० किलोवाट पावर र २४० न्युटन मिटर टर्क उत्पादन गर्छ ।​

मिनिबसमा ७० किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सुविधा उपलब्ध छ । यसबाट ब्याट्रीलाई २० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न करिब ३६ मिनेट लाग्ने कम्पनीले जनाएको छ ।

यात्रुको सुविधाका लागि गाडीमा १२.३ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली राखिएको छ । उक्त प्रणालीले ब्लुटुथ, यूएसबी, वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड अटो सपोर्ट गर्छ । यसका साथै चार तहमा समायोजन गर्न मिल्ने स्टेयरिङ र आधुनिक ककपिटको सुविधा पनि उपलब्ध छ ।

सुरक्षातर्फ मिनिबसमा ३६० डिग्री अराउन्ड भ्यु क्यामेरा, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, फरवार्ड कोलिजन वार्निङ, एड्याप्टिभ क्रुज कन्ट्रोल, लेन डिपार्चर वार्निङ, लेन किप असिस्ट, इमर्जेन्सी लेन किपिङ तथा ड्राइभर स्टेट मोनिटरिङ प्रणाली राखिएको छ । 

चालक र अगाडिको यात्रुका लागि एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल तथा टायर प्रेसर मोनिटरिङ सिस्टम समेत उपलब्ध छन् । गाडीको ग्राउन्ड क्लियरेन्स २०० मिलिमिटर रहेको छ । कम्पनीको ब्रोसरअनुसार गाडीको ब्याट्रीमा आठ वर्ष र मोटरमा पाँच वर्षको वारेन्टी उपलब्ध छ ।

हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुव थापा, निर्देशक आकाश गोल्छा तथा प्रबन्ध निर्देशक सौरभ थापाले संयुक्त रूपमा मिनिबस सार्वजनिक गरेका थिए । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कपिल सिवाकोटीको पनि उपस्थिति थियो ।

यसअघि कम्पनीले MAXUS eTerron9 विद्युतीय पिकअप नेपाली बजारमा ल्याएको थियो । चीनमा एसएआईसी समूहअन्तर्गत उत्पादन हुने MAXUS ब्रान्डका सवारीसाधन बिक्री गर्दै आएको हिमालय मोट्रोक्सले हात्तीसारस्थित शोरुमबाट eDELIVER5 बिक्री गर्ने जनाएको छ ।

कम्पनीका अनुसार नयाँ मिनिबस सार्वजनिक भएसँगै नेपालमा आधुनिक विद्युतीय व्यावसायिक सवारीसाधनको विकल्प विस्तार हुने अपेक्षा गरिएको छ ।