काठमाडौं । सामाजिक सञ्जालमार्फत एक महिलाको निजी तस्बिर र भिडियो दुरुपयोग गरी ब्ल्याकमेल गरेको आरोपमा नेपाल प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार पीडित महिलासँगको सम्बन्धका क्रममा खिचिएका अश्लील तस्बिर तथा भिडियो प्रयोग गरेर ती सामाग्री सार्वजनिक गर्ने धम्की दिँदै अनुचित लाभ लिन खोजिएको थियो । पीडितको माग पूरा नभएपछि ती सामाग्री महिलाका परिवारका सदस्यलाई ह्वाट्सएपमार्फत पठाइएको उजुरीपछि अनुसन्धान अघि बढाइएको थियो ।
प्राविधिक अनुसन्धान तथा डिजिटल विश्लेषणका आधारमा रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका ८ स्थायी घर भई हाल काठमाडौंको बसुन्धरामा बस्दै आएका २० वर्षीय पवन निसादलाई पक्राउ गरिएको साइबर ब्यूरोले जनाएको छ ।
उनलाई साउन १७ गते काठमाडौं महानगरपालिका ७ चाबहिलबाट पक्राउ गरिएको ब्यूरोले जनाएको छ । पक्राउ परेका निसादविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको साइबर ब्यूरोले जनाएको छ ।
आईसीटी समाचार