नेपालको सूचना प्रविधि क्षेत्रमा महिलाहरूले गरिरहेको योगदान उल्लेखनीय छ । आईटी क्षेत्रमा महिलाहरो सहभागीता कम भएपनि योगदान भने महत्त्वपूर्ण छ ।
रोजगारी सिर्जना, डिजिटल साक्षरत, साइबर सुरक्षा लगायत नेपालको डिजिटल रूपान्तरणमा महिलाहरूको योगदान छ ।
अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आज हामी नेपालको आईटी क्षेत्रमा योगदान पुर्याउने केही महिलाहरूको जानकारी दिदैछौं ।
रोजा किरण बासुकला
रोजा किरण बसुकला नेपाल दूरसञ्चार प्राधिकरणकी उपनिर्देशक हुन् । कम्प्युटर इन्जिनियर र अधिवक्ताको रूपमा आफ्नो पहिचान स्थापित गरेकी स्थापना गरेकी बासुकलाले त्रिभुवन विश्वविद्यालयबाट कम्प्युटर इन्जिनियरिङ, एलएलबी र सार्वजनिक प्रशासनमा स्नातकोत्तर गरेकी छन् ।
साथै दक्षिण कोरियाको चोसुन विश्वविद्यालयबाट सूचना तथा सञ्चार इन्जिनियरिङमा स्नातकोत्तर उपाधि हासिल गरेकी छन् । साइबर सेक्युरिटी रिसर्च एन्ड इनोभेसन नेपालमा सल्लाहकार रहेको उनी डब्लुआईआईटी र क्यान महासंघ जस्ता संस्थामा समेत आवद्ध रहेकी छन् ।
नेपालमा फोरजी सेवाहरूको लागि रेडियो फ्रिक्वेन्सी स्पेक्ट्रम व्यवस्थापन, टेलिकम र इन्टरनेट सेवाहरूको अनुगमन र टेलिकम क्षेत्रको साइबर सुरक्षामा उनको महत्वपूर्ण योगदान छ । बासुकलाले दक्षिण एशिया दूरसञ्चार नियामक काउन्सिलको वर्किङ गुप पाेेलिसी, रेगुलेसन र सर्भिसेसकाे उपाध्यक्षको भूमिका निर्वाह गरिरहेकी छन् ।
कार्भिका थापा
कार्भिका थापा किम्बु टेककी प्रमुख कार्यकारी अधिकृत हुन् । अमेरिकामा चौंध वर्ष काम गरेर नेपाल फर्किएकी कार्भिका नेपालको आईटी क्षेत्रमा स्थापित नाम हो ।
काठमाडौँ विश्वविद्यालयबाट बिजनेस इन्फरमेसन सिस्टममा ब्याचलर्स अध्ययन गरेकी उनले अमेरिकामा हुँदा नाईकी र अर्बन आउटफिट्र जस्ता फर्चुन ५०० कम्पनीहरुसँग काम गर्ने अवसर पाएकी थिइन् ।
किम्बु टेकमा अहिले उनले ३० बढीलाई रोजगारी दिइरहेकी छन् भने नेपालबाट आईटी सेवा निर्यात गरेर विदेशी मुद्रा भित्र्याइरहेकी छन् । नेपालमै दक्ष आईटी जनशक्ति उत्पादनमा समेत काम गरिरहेकी छन् ।
एलिशा राजभण्डारी
एलिशा राजभण्डारी स्कीभर इन्ककी सह–संस्थापक तथा प्रमुख सञ्चालन अधिकृत (सिओओ) हुन् । उनले काठमाडौं इन्जिनियरिङ कलेजबाट इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन्स इन्जिनियरिङमा ब्याचलर र एशिया इन्स्टिच्युट अफ टेक्नोलोजीबाट इन्फरमेसन म्यानेजमेन्टमा मास्टरसम्मको अध्ययन गरेकी छन् ।
प्रोजेक्ट म्यानेजमेन्टमा उनको विशेष दख्खल छ । प्रविधि र व्यवस्थापनको ज्ञान संगालेकी राजभण्डारी डब्लुआईआईटीको सदस्य समेत हो । उनले सूचना प्रविधिको जनचेतना फैलाउन र महिलाको सहभागीता बढाउन काम गरिरहेकी छन् ।
श्रेया गिरी
श्रेया गिरी मानसिक स्वास्थ्य परामर्श सेवा प्रदान गर्ने ह्याप्पी माइन्ड्सकी संस्थापक हुन् । उनले लन्डन साउथ बैंक विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय व्यवसाय व्यवस्थापनमा स्नातकोत्तर अध्ययन गरेकी छिन् ।
कोभिड–१९ महामारीको समयमा लन्डनमा अध्ययनरत रहँदा, श्रीया आफैंले मानसिक स्वास्थ्य सम्बन्धी चुनौतीहरू सामना गरेपछि सुरू भइको ह्याप्पी माइन्ड्स अहिले धेरैको सारथी भएको छ ।
फोर्ब्सको ३० अन्डर ३० मा समेत पर्न सफल भएकी गिरी पछिल्लो समय मेन्टल वेलविङको वकालतमा सक्रिय रहेकी छन् ।
संगीता पहाडी
संगीता पहाडी नेपाल टेलिकमकी प्रबन्ध निर्देशक हुन । नेपालको दूरसञ्चार क्षेत्रमा तीन दशकभन्दा बढी अनुभव संगालेकी उनले भारतको इलाहाबाद विश्वविद्यालयबाट स्नातक र थाइल्याण्डको एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट स्नातकोत्तर उपाधि हासिल गरेकी छिन् ।
इन्जिनियरको रूपमा नेपाल टेलिकममा सुरू भएको संगीताको करियर यात्रा विभिन्न प्राविधिक र व्यवस्थापकीय भूमिका हुँदै प्रबन्ध निर्देशकसम्म आईपुगेको छ ।
आफ्नो कार्यकालमा नेपाल टेलिकमलाई नयाँ उचाइमा लैजाने र डिजिटल रूपान्तरणमा योगदान गर्ने गरी उनले काम गरिरहेकी छन् ।
सुनैना घिमिरे पाण्डे
सुनैना घिमिरे पाण्डे क्यान महासंघकी अध्यक्ष तथा जनरल टेक्नोलोजीकी प्रबन्ध निर्देशक हुन् । हालै क्यान महांसघको पहिलो महिला अध्यक्षको निर्वाचित पाण्डेको सूचना प्रविधिमा दूई दशक लामो अनुभव छ ।
२०५५ सालमा कम्प्युटर शिक्षिकाको रूपमा करियर सुरु गरेकी पाण्डेले माइक्रोसफ्टको आधिकारिक प्रोजेक्ट अन्तर्गत विन्डोज एक्सपी र माइक्रोसफ्ट अफिसको नेपाली संस्करणमा काम गरेकी थिइन ।
नेपाली स्पेल चेकर, लोक्याल विकास, र क्यारेक्टर कोड निर्माणमा समेत उनको योगदान छ । उनको योगदानलाई कदर गर्दै सन् २०२३ मा लिभिङ विथ आइसिटीले उनलाई वुमन आईकन आइसिटी अवार्ड समेत प्रदान गरेको थियो ।
पछिल्लो समय क्यान महासंघमार्फत सूचना प्रविधिको साक्षरता बढाउन र आवश्यक नीतिगत पैरवी गर्ने कार्यमा पनि पाण्डे क्रियासिल छिन् ।
बन्दना शर्मा
नेपाल बैंक लिमिटेडकी सिनियर म्यानेजर तथा डिजिटल एण्ड कार्ड डिभिजनकी प्रमुख हुन्, बन्दना शर्मा । पोखरा विश्वविद्यालयबाट बीसीए अध्ययन गरेकी उनले मास्टर्समा सूचना प्रविधि, नेटवर्क एण्ड ई बिजनेस र एमबीए पनि अध्ययन गरेकी छन् ।
सन् २००६ मा आईटी सपोर्ट अफिसरको रूपमा नेपाल बैंकमा प्रवेश गरेकी शर्मा चिफ सेक्युरिटी अफिसर हुँदै हाल कार्ड तथा डिजिटल बैंकिङ डिभिजन प्रमुखको रूपमा कार्यरत छिन् ।
नेपाल बैंकलाई डिजिटलाइज गर्ने काममा सुरूवातदेखि नै आवद्ध उनले कोर बैंकिङ सिस्टम, नेटवर्क सुरक्षा, साइबर सुरक्षा लगायत बैंकको डिजिटल पूर्वाधार विकास तथा सेवाहरूलाई ग्राहकमैत्री बनाउन निकै महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी छन् ।
नेपाल वित्तीय कर्मचारी संघको उपाध्यक्षको रूपमा समेत काम गरेकी शर्मा क्यान महासंघ, वुमन इन आईटी, युनि प्रोफेसनल म्यानेजमेन्ट कमिटिमा पनि आवद्ध भएर आफ्नो अनुभव बाँडिरहेकी छन् ।
साथै वित्तीय समावेशीता र स्टिम एजुकेसनमा उनले योगदान रहेको छ । सन् २०२४ मा आईटी क्षेत्रमा उनले गरेको योगदानलाई कदर गर्दै लिभिङ विथ आइसिटीले उनलाई वुमन आईकन आईसिटी अवार्ड प्रदान समेत गरेको थियो ।