कीवर्डहरू -

आईक्यान र टिगबीच सहकार्य, सदस्य फर्म र विद्यार्थीले नि:शुल्क क्लाउड अकाउन्टिङ प्रयोग गर्न पाउने

आईक्यान र टिगबीच सहकार्य, सदस्य फर्म र विद्यार्थीले नि:शुल्क क्लाउड अकाउन्टिङ प्रयोग गर्न पाउने

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) र क्लाउड अकाउन्टिङ प्लेटफर्म टिगबीच लेखा क्षेत्रमा डिजिटल प्रविधिको प्रयोग विस्तार गर्ने उद्देश्यले सहकार्य भएको छ ।

सहकार्यसम्बन्धी सम्झौता पत्रमा आईक्यानका कार्यकारी निर्देशक सीए विमल डंगोल र टिगका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश केसीले हस्ताक्षर गरेका छन् ।

सम्झौताले लेखा व्यवसायी तथा विद्यार्थीलाई आधुनिक क्लाउड अकाउन्टिङ प्रणालीसँग परिचित गराउँदै उनीहरूको व्यावहारिक डिजिटल सीप विकासमा सहयोग पुर्‍याउने टिगका सीईओ रमेश केसीले बताए ।

यस्तै, आईक्यानका कार्यकारी निर्देशक विमल डंगोलले नेपालमै विकसित विश्वस्तरीय सफ्टवेयरसँगको सहकार्यले लेखा क्षेत्रमा डिजिटल प्रविधिको प्रयोगलाई थप प्रोत्साहन गर्ने विश्वास व्यक्त गरे ।

उनका अनुसार यस सहकार्यबाट लेखा पेशाकर्मीले डिजिटल प्रणालीमा काम गर्ने अवसर पाउनुका साथै विद्यार्थीले आधुनिक लेखा प्रणालीको व्यावहारिक अनुभव हासिल गर्न सक्नेछन् ।

सहकार्यअन्तर्गत योग्य आईक्यान सदस्य फर्महरूले टिगको बेसिक प्याकेज आजीवन नि:शुल्क प्रयोग गर्न पाउनेछन् । त्यस्तै, आईक्यानअन्तर्गतका योग्य विद्यार्थीले अध्ययन तथा व्यावहारिक अभ्यासका लागि टिगको ‘स्टुडेन्ट एडिसन’ प्रयोग गर्न सक्नेछन् ।

नि:शुल्क पहुँच प्राप्त गर्ने सदस्य फर्महरूले आफ्नै संस्थाको लेखा तथा वित्तीय व्यवस्थापनका लागि टिग प्रयोग गर्न सक्नेछन् । यसमार्फत क्लाउडमा लेखा व्यवस्थापन, भूमिकाअनुसार प्रयोगकर्ता पहुँच, भ्याट तथा टीडीएस व्यवस्थापन, वित्तीय तथा लेखा प्रतिवेदन तयार गर्ने, बैंक मिलानलगायतका काम गर्न सकिनेछ ।

आईक्यानमा दर्ता भएका सदस्य फर्मले टिगमा डेमो अकाउन्ट सिर्जना गरी त्यसलाई आजीवन नि:शुल्क प्रयोग गर्न मिल्ने संस्करणमा रूपान्तरण गर्न अनलाइन आवेदन दिनुपर्नेछ ।

आवेदन प्राप्त भएपछि आईक्यानको सदस्यता विवरणका आधारमा प्रमाणीकरण गरिनेछ । प्रमाणीकरण पूरा भएपछि सम्बन्धित डेमो अकाउन्टलाई नि:शुल्क संस्करणमा रूपान्तरण गरिने टिगले जनाएको छ ।

यसैगरी, आईक्यान विद्यार्थीका लागि उपलब्ध ‘स्टुडेन्ट एडिसन’मार्फत कारोबार प्रविष्टि, वित्तीय प्रतिवेदन, भ्याट तथा टीडीएसलगायतका लेखा प्रक्रियाको अभ्यास गर्न सक्नेछन् । यसले विद्यार्थीलाई सैद्धान्तिक अध्ययनसँगै आधुनिक लेखा प्रणालीको व्यावहारिक अनुभव हासिल गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ ।

स्टुडेन्ट एडिसन अध्ययन तथा अभ्यासका लागि मात्र उपलब्ध हुनेछ । यसलाई ग्राहक वा अन्य व्यवसायको व्यावसायिक लेखा व्यवस्थापन, पुन: बिक्री वा अन्य व्यावसायिक प्रयोजनमा प्रयोग गर्न पाइने छैन ।

टिगका अनुसार लेखा क्षेत्र क्लाउड प्रणाली, स्वचालन, वास्तविक समयको वित्तीय सूचना तथा डिजिटल सहकार्यतर्फ अघि बढिरहेको अवस्थामा लेखा पेशाकर्मी र विद्यार्थीलाई यस्ता प्रविधिसँग परिचित गराउनु आवश्यक छ ।

आईक्यान र टिगबीचको सहकार्यले नेपालमा प्रविधिमैत्री तथा डिजिटल रूपमा सक्षम लेखा समुदाय विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।