काठमाडौं । गुगलले आफ्नो “Gemini for Home” सेवामा नयाँ “निरन्तर संवाद” (Continued Conversations) सुविधा सार्वजनिक गरेको छ । यस सुविधाले प्रयोगकर्तालाई हरेक पटक “हे गुगल” भन्नु नपरीकनै लगातार संवाद गर्न सक्ने बनाउँछ । यो फिचर सक्रिय भएपछि स्मार्ट उपकरणले जवाफ दिएपछि केही सेकेन्डसम्म माइक्रोफोन खुला रहन्छ र सो अवधिमा उपकरणको बत्तीले संकेत दिन्छ । यसले प्रयोगकर्तालाई अझै संवाद जारी राख्न सकिने जानकारी दिन्छ ।
यसबीच प्रयोगकर्ताले स्वाभाविक रूपमा थप प्रश्न सोध्न वा निर्देशन दिन सक्नेछन् । कम्पनीका अनुसार “Gemini” ले संवादको सन्दर्भ सम्झिराख्ने भएकाले एउटै जानकारी बारम्बार दोहोर्याउन आवश्यक पर्दैन । यसले छिटो, सहज र प्राकृतिक संवाद अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ । यो सुविधा आजदेखि “Gemini for Home” भ्वाइस असिस्टेन्टका सबै समर्थित भाषा र उपलब्ध क्षेत्रहरूमा विस्तार हुँदैछ ।
प्रयोगकर्ताले यसलाई प्रयोग गर्न Google Home एपको सेटिङमा गएर “Gemini for Home voice assistant” अन्तर्गत म्यानुअली सक्रिय गर्नुपर्ने हुन्छ । गुगलका अनुसार नयाँ प्रणालीले प्रयोगकर्ताले सोधेका प्रश्न र वरिपरि भइरहेका अन्य कुराकानीबीच फरक छुट्याउन सक्नेछ । यद्यपि, विगतमा भ्वाइस असिस्टेन्टहरूले अनजानमै कुराकानी सुनेको घटनाहरू सार्वजनिक भएका कारण यो प्रविधिको प्रभावकारिता कस्तो हुन्छ भन्ने विषयमा चासो रहिरहने देखिन्छ ।
यसअघि पनि यस्तो निरन्तर संवाद सुविधा Google Assistant मा सीमित रूपमा उपलब्ध थियो । तर अब गुगलले पुरानो असिस्टेन्टलाई प्रतिस्थापन गर्दै “Gemini for Home” लाई नयाँ पुस्ताको भ्वाइस सहायकका रूपमा अघि बढाउने तयारी गरिरहेको छ ।
आईसीटी समाचार