चिनियाँ कार निर्माता नेटा कम्पनीले ६ अर्ब युआन (८१८.८ मिलियन अमेरिकी डलर) लगानी प्राप्त गरेको छ । १ खर्ब बढी नेपाली रूपैयाँ लगानी पाएसँगै कम्पनीले पुनः उत्पादन पनि सुरू गरेको हो ।
सन् २०२५ मा नेटा मुख्य रूपमा अन्तर्राष्ट्रिय बजारमा केन्द्रित हुनेछ, बिक्रीलाई दोब्बर पार्ने योजना समेत बनाएको छ ।
नेटाको घरेलु बिक्री सन् २०२४ को अन्त्यतिर घटेको देखिएको थियो । चाइना ईभी डाटा ट्र्याकरका अनुसार, नेटाले जनवरीदेखि डिसेम्बरसम्म ६१ हजार ५९२ युनिट बिक्री गरेको थियो, जसमा ४०.२ प्रतिशतको वार्षिक गिरावट देखिएको थियो।
यद्यपि, नेटाका अध्यक्ष फाङ युनझोउले २०२५ मा सकल नाफा सकारात्मक हुने र कम्पनी २०२६ सम्म नाफामा आउने दाबी गरेका छन् ।
डुन्युजको रिपोर्ट अनुसार, चीनको सरकारी कम्पनी तथा विश्वकै सबैभन्दा ठूलो ब्याट्री उत्पादक सीएटीएलले लगानी गरेको हो । सन् २०२३ को जनवरीमा, नेटा सीएटीएलको बेडरक च्यासिस प्रयोग गर्न सम्झौता गर्ने पहिलो कम्पनी समेत बनेको थियो ।
हाल नेटाले चीनभित्र डिलरशिप नेटवर्कमा ध्यान केन्द्रित गरिरहेको छ । सन् २०२५ मा, कम्पनीले अन्तर्राष्ट्रिय बजारमा ध्यान केन्द्रित गर्दै बिक्री दोब्बर पार्ने लक्ष्य राखेको छ।
गत वर्ष, नेटाले अन्तर्राष्ट्रिय देशहरूमा ३० हजार युनिट गाडी बेचेको थियो । अहिलेको लक्ष्य भनेको ६० हजार युनिट बिक्री हो । नेटाले यसअघि दुईदेखि तीन वर्षभित्र आधा बिक्री घरेलु बजार र आधा अन्तर्राष्ट्रिय बजारमा पुर्याउने योजना साझा गरेको थियो।
घरेलु बजारमा भइरहेको कडा मूल्य प्रतिस्पर्धाबाट बच्न कम्पनीले अन्तर्राष्ट्रिय बजारलाई अवसरको रूपमा लिएको छ । हाल नेटाले दक्षिणपूर्व एशिया तथा मध्य र दक्षिण अमेरिकाका करिब ४० देशहरूमा १८० भन्दा बढी बिक्री च्यानल विस्तार गरेको छ ।