कीवर्डहरू -

मधेश प्रदेशमा पहिलो पटक राष्ट्रियस्तरको ह्याकाथन बीपीसी ह्याकफेस्ट आयोजना

मधेश प्रदेशमा पहिलो पटक राष्ट्रियस्तरको ह्याकाथन बीपीसी ह्याकफेस्ट आयोजना

मधेश प्रदेशमा पहिलो पटक राष्ट्रियस्तरको ह्याकाथन आयोजना भएको छ । वीरगञ्ज पब्लिक कलेजले मधेश प्रदेशमा पहिलो पटक ‘बीपीसी ह्याकफेस्ट २०२४’ राष्ट्रियस्तरको ह्याकाथन आयोजना गरेको हो । 

सूचना प्रविधि पढिरहेका विद्यार्थीहरुले आफ्नो नविनतम सोचहरुलाई प्रविधिको प्रयोग गरि दिगो विकासका लक्ष्यहरुलाई टेवा पुर्याउने उद्देश्यले आयोजना गरिएको आयोजकको भनाइ छ । दिगो विकास लक्ष्यमा आधारित बीपीसी ह्याकफेस्टमा ४७ टिमहरूले नाम दर्ता गराएका थिए । त्यसमध्येबाट विभिन्न मापदण्डमा छनौट भएका २० टिमले आफ्नो आईडिया पिचिङ गरेका थिए ।

पिचिङ गरेका २० टिममध्येबाट पनि ९ वटा टिम वीरगंजमा भएको ४८ घण्टे बीपीसी ह्याकफेस्टमा सहभागी भएका थिए । ३ महिनाको विभिन्न चरणमा पश्चात गत फेब्रुअरी १५, १६ र १७ मा वीरगञ्जमा फिनाले भएको थियो । 

फिनालेमा सहभागी ९ वटा टिममा मेची मर्विक्स (झापा), एलआरबी (महेन्द्रनगर, कंचनपुर), साधन (काठमाडौं), एभरेस्ट (काठमाडौं), एफएमएस (काठमाडौं), गिमिकर्स (वीरगंज), विनक्स (वीरगंज), ०७ (वीरगंज) र जेन सेभन (वीरगंज) रहेका थिए ।

सहभागीले निगरानी, स्वास्थ्य यात्रा, साधन, रोजगार सबैलाई, विश्वास, सेवागन्ज, ओपन पार्क, रनबन्धन प्रालि र मातृसहारा प्रोजेक्ट प्रस्तुत गरेका थिए । ह्याकाथन प्रतियोगितामा पहिलो स्थान इस्लिंगटन कलेज काठमाडौंको साधन टिमलाई प्राप्त गर्न सफल भएको छ । पहिलो टिमलाई ३० हजार नगदसहित प्रोग्रामिजबाट एक वर्षको कोर्स प्याकेज, गिफ्ट, प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो । 

यस्तै दोस्रो स्थान हासिल गर्ने मेची मल्टिपल क्याम्पस मेची मावरिक्सले २० हजार नगदसहित प्रोग्रामिजबाट एक वर्षको कोर्स प्याकेजका साथै गिफ्ट, प्रमाणपत्र र मेडल पाएको छ । त्यसैगरी तेस्रो भएको भिरिञ्ची कलेजको एभरेस्ट टिमलाई १० हजार नगदसहित प्रोग्रामिजबाट एक वर्षको कोर्स प्याकेज, गिफ्ट, प्रमाणपत्र र मेडल प्रदान गरिएको छ ।

ह्याकाथनमा उत्कृष्ट आइडिया पिच अवार्ड ठाकुर राम मल्टिपल क्याम्पस गिमिकर्स टिम, उत्कृष्ट प्रविधि अवार्ड मदन भण्डारी मेमोरियल कलेजको एफएमएस, उत्कृष्ट स्कोप अवार्ड ठाकुर राम मल्टिपल क्याम्पसको गिमिकर्स र उत्कृष्ट सोसल इम्प्याक्ट अवार्ड मेची मल्टिपल क्याम्पसको मेची मावरिक्सलाई प्रदान गरिएको थियो । 

यस्तै सबै सहभागीहरु र आयोजक सदस्यहरुले  इ-लर्निङ पार्टनर प्रोग्रामिजको तर्फबाट १ वर्षको लागि विभिन्न कोर्ष प्याकेज निशुल्क पाएका छन । कार्यक्रमलाई जीप्रा इन्क, एड्सबी मिडिया, श्रुति इन्फोसिस, प्रगति एजुकेसन, भायानेट, प्रोग्रामिज र कोड फर चेन्जले सहयोग गरेका थिए ।