कीवर्डहरू -

टिकटक र फेसबुक दुरुपयोग गरी महिलाको चरित्रहत्या, दुई जना पक्राउ

टिकटक र फेसबुक दुरुपयोग गरी महिलाको चरित्रहत्या, दुई जना पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत महिलामाथि साइबर हिंसा, ब्ल्याकमेल र चरित्रहत्या गर्ने आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक भारतीय र एक नेपाली नागरिक रहेका छन् ।

ब्युरोका अनुसार पहिलो घटनामा भारतीय नागरिक २६ वर्षीय जावरुल हकले एक महिलाको निजी तस्बिर तथा भिडियो दुरुपयोग गर्दै लामो समयसम्म ब्ल्याकमेल गरेका थिए । उनले अनुचित माग पूरा गर्न दबाब दिँदै अस्वीकार भएपछि ती सामाग्री टिकटकमा सार्वजनिक गरी पीडितको चरित्रहत्या गर्ने प्रयास गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

भारतको आसाम राज्यस्थित गुहाटी–मदनपुरका स्थायी बासिन्दा हकलाई असार २६ गते काठमाडौं महानगरपालिका २७ बाट पक्राउ गरिएको हो । उनीमाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता गरी काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ ।

यस्तै अर्को घटनामा प्रेम सम्बन्ध टुटेपछि पूर्वसाथी महिलामाथि सामाजिक सञ्जालमार्फत प्रतिशोध लिन खोजेको आरोपमा २४ वर्षीय सरोज कार्की पक्राउ परेका छन् । ओखलढुंगा चम्पादेवी गाउँपालिका ६ का स्थायी बासिन्दा कार्की हाल काठमाडौंमा बस्दै आएका थिए ।

प्रहरीका अनुसार कार्कीले पीडित महिलाको फेसबुक खाताको दुरुपयोग गर्दै अश्लील सामाग्री पोस्ट गरेका थिए । यसबाट पीडितलाई मानसिक तनाव, दु:ख हैरानी तथा सामाजिक रूपमा बदनाम बनाउने प्रयास भएको उजुरीपछि साइबर ब्युरोले अनुसन्धान अघि बढाएको थियो ।

कार्कीलाई पनि असार २६ गते काठमाडौंबाट पक्राउ गरिएको हो । उनीविरुद्ध पनि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अनुसार अनुसन्धान भइरहेको साइबर ब्युरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।

साइबर ब्युरोले सामाजिक सञ्जालको दुरुपयोग गरी कसैको गोपनीयता उल्लंघन गर्ने, ब्ल्याकमेल गर्ने वा चरित्रहत्या गर्ने कार्य कानुनविपरीत हुने भन्दै यस्ता गतिविधिमा संलग्न नहुन सबैलाई सचेत गराएको छ ।

null