शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सफ्टवेयरको प्रयोग गरी काठमाडौँका कक्षा १२ का परीक्षा केन्द्र छनौट गरेको छ । मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डको प्राविधिक टोलीले ‘पाइलट प्रोजेक्ट’को रूपमा सफ्टवेयर प्रयोग गरी काठमाडौँका कक्षा १२ का परीक्षा केन्द्र स्वचालित विधिबाट छनौट गरेको हो ।
पहिलो चरणमा सफ्टवेयरको प्रयोग गरी काठमाडौंमा कक्षा १२ को परीक्षा केन्द्र छनौट गर्न लागु गरिएको र आगामी दिनमा यसलाई विस्तार गर्दै लैजाने मन्त्रालयको योजना छ ।
स्वचालित विधिबाट परीक्षा केन्द्र छान्दा परीक्षा केन्द्रसँग सम्बन्धित अनियमितताहरु निरुत्साहित हुने र विद्यार्थीहरुको हैरानी पनि कम हुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले बताएकी छन् ।
हरेक विद्यालयका परीक्षार्थीको सङ्ख्या र परीक्षा केन्द्रको सिट सङ्ख्याको आधारमा विद्यालय र केन्द्रको ल्याटिट्युड र लङ्गिट्युडको आधारमा दूरी निकालिएको थियो ।
प्रत्येक पटक परीक्षा केन्द्र तोक्न प्रोग्राम चलाउँदा फरक फरक नतिजा आउने गरी ‘ऱ्यान्डमाइज’ गरिएको श्रेष्ठको भनाइ छ ।
स्वचालित विधिबाट परीक्षा केन्द्र छनौट गर्ने सफ्टवेयरलाई ‘गिटहब’मा राखिएको छ । सफ्टवेयरको प्रक्रिया अझै सबल र पूर्ण स्वचालित बनाउन सुझाव दिन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आह्वान समेत गरेको छ ।