कीवर्डहरू -

मेटाले ल्यायो ‘म्युज’, अब एआईले आफैँ गर्नेछ डिजिटल काम

मेटाले ल्यायो ‘म्युज’, अब एआईले आफैँ गर्नेछ डिजिटल काम

काठमाडौं । सामाजिक सञ्जाल कम्पनी मेटाले १८ वर्षभन्दा माथिका प्रयोगकर्तालाई लक्षित गर्दै ‘म्युज’ नामक व्यक्तिगत कृत्रिम बौद्धिकता (एआई) सेवा सार्वजनिक गरेको छ । हालका लागि अमेरिकामा मात्रै उपलब्ध यो सेवाले प्रयोगकर्ताको अनुमति लिएर दैनिक जीवनसँग सम्बन्धित विभिन्न डिजिटल काम आफैँ सम्पन्न गर्न सक्नेछ ।

म्युजले प्रयोगकर्ताका लागि दैनिक तालिका तयार गर्ने, इमेल पठाउने, अनलाइन किनमेल गर्ने तथा यात्रा टिकट बुकिङ गर्नेलगायतका काम गर्न सक्ने मेटाले जनाएको छ । यसका लागि प्रयोगकर्ताले आवश्यक अनुमति प्रदान गर्नुपर्नेछ ।

परम्परागत एआई च्याटबटले मुख्यतः प्रश्नको उत्तर दिने वा जानकारी उपलब्ध गराउने भएपनि म्युजलाई त्यसभन्दा एक कदम अघि बढाइएको छ । यसले प्रयोगकर्तासँग कुराकानी गर्नुका साथै आवश्यक डिजिटल कार्यसमेत आफैँ सञ्चालन र पूरा गर्न सक्नेछ ।

यद्यपि, संवेदनशील प्रकृतिका काममा भने प्रयोगकर्ताको प्रत्यक्ष स्वीकृति अनिवार्य गरिएको छ । यसले एआईलाई डिजिटल सहायकका रूपमा प्रयोग गर्दा प्रयोगकर्ताको नियन्त्रण र सुरक्षालाई प्राथमिकतामा राख्ने मेटाको संकेत देखाएको छ ।

म्युजलाई मेटाका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले अघि सारेको व्यक्तिगत एआई सहायकसम्बन्धी दीर्घकालीन योजनाको महत्वपूर्ण हिस्साका रूपमा हेरिएको छ ।

कम्पनीले भविष्यमा एआईलाई केवल जानकारी दिने माध्यममा सीमित नराखी प्रयोगकर्ताका तर्फबाट विभिन्न डिजिटल कार्य समेत सम्पन्न गर्न सक्ने व्यक्तिगत सहायकका रूपमा विकास गर्ने दिशामा कदम अघि बढाएको देखिन्छ ।