काठमाडौं । रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीपछिको उद्धार, राहत तथा प्राप्त सहयोगको विवरण पारदर्शी रूपमा सार्वजनिक गर्ने उद्देश्यले अर्थ मन्त्रालयले एकीकृत वेब पोर्टल सञ्चालनमा ल्याएको छ ।
बाढीपछिको सहयोग उपलब्धतालाई पारदर्शी र पहुँचयोग्य बनाउन मन्त्रालयले “रसुवा-भोटेकोशी बाढी अपडेट” पोर्टल (https://mofnepal.github.io/rasuwa-flood-update/) सञ्चालनमा ल्याएको हो ।
नेपाली र अङ्ग्रेजी दुवै भाषामा उपलब्ध उक्त पोर्टलमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राप्त सहयोग, वैदेशिक सहायता र नेपाल सरकारका आधिकारिक निर्णयहरू एकै ठाउँमा हेर्न सकिनेछ ।
पोर्टलमा सार्वजनिक विवरणअनुसार २०८३ भदौ २४ गतेसम्म अर्थमन्त्रीलाई चेक तथा बैंक ट्रान्सफरमार्फत ३८९ वटा सहयोगबाट रु. २,१५,२५,४२,३०९ प्राप्त भएको छ । NCHL, Fonepay र डलर खातामा प्राप्त वैदेशिक सहयोगसमेत गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हालसम्म कुल १२,३१,५९,४२,०३५ (करिब १२ अर्ब ३२ करोड) जम्मा भइसकेको छ ।
भदौ २४ गते बिहान ९ बजेसम्म कोषमा रु. ११,९८,९७,९६,०८४ मौज्दात रहेको छ । विभिन्न स्रोतको तथ्यांक फरक-फरक समयको भएकाले एकीकृत हिसाब मिलान अर्थ मन्त्रालयको कोष शाखाले गरिरहेको छ ।
पोर्टलमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीको उद्धार तथा राहत विवरण, मन्त्रिपरिषद्का निर्णयहरू र एकद्वार राहत प्रणालीका सम्पर्क व्यक्तिहरूको सूचीसमेत राखिएको छ । प्रकाशित प्रत्येक अङ्क आधिकारिक कागजातसँग भिडाएर मात्र अद्यावधिक गरिने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले बाढीपीडितका लागि सहयोग गर्न चाहने व्यक्ति तथा संस्थालाई आधिकारिक भुक्तानी पोर्टल (https://donate.gov.np) मार्फत मात्र रकम पठाउन र नगद वा जिन्सी सहयोगका लागि एकद्वार प्रणालीका सम्पर्क व्यक्तिहरूसँग समन्वय गर्न आग्रह गरेको छ । साथै, उद्धारसम्बन्धी अनुरोधका लागि https://rescue.opmcm.gov.np प्रयोग गर्न सकिनेछ ।
आईसीटी समाचार