काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले युवाको ज्ञान, सीप र सिर्जनशीलतालाई नवप्रवर्तन तथा उद्यमशीलतासँग जोडेर स्वदेशमै रोजगारी र व्यावसायिक अवसर सिर्जना गर्न सरकार प्रयासरत रहेको बताएका छन् ।
नेपाल बिजनेस इन्स्टिच्युट र बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) द्वारा आयोजित पाँचौँ संस्करणको ‘नेपाल युवा उद्यमशीलता सम्मेलन २०२६’लाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले प्रविधिको अधिकतम उपयोगमार्फत युवाले देशको आर्थिक समृद्धिमा महत्त्वपूर्ण योगदान दिन सक्ने बताए । उनले अनुसन्धान तथा नवप्रवर्तनका क्षेत्रमा लगानी बढाउनुका साथै सरकार, निजी क्षेत्र र शैक्षिक संस्थाबीच प्रभावकारी सहकार्य आवश्यक रहेकोमा जोड दिए ।
सूचना प्रविधिको विकासले नेपालमै बसेर अन्तर्राष्ट्रिय बजारमा सेवा निर्यात गर्ने अवसर विस्तार गरेको उल्लेख गर्दै उनले युवालाई श्रमशक्ति उपलब्ध गराउने भूमिकामा मात्र सीमित नराखी आफ्ना सीप र सेवा विश्व बजारमा बिक्री गर्न सक्ने बनाउनु आवश्यक रहेको बताए ।
डिजिटल विभाजन अन्त्य गर्ने, इन्टरनेटको पहुँच विस्तार गर्ने तथा सेवाको गुणस्तर सुधार गर्ने विषय सरकारको प्राथमिकतामा रहेको पनि उनले जानकारी दिए । यसै वर्षदेखि पाँचौँ पुस्ताको मोबाइल इन्टरनेट सेवा (फाइभ-जी) सञ्चालन गर्ने लक्ष्यसहित काम भइरहेको बताउँदै मन्त्री तिमिल्सिनाले प्रविधिलाई मानवीय सिर्जनशीलता र क्षमता विकासको माध्यमका रूपमा उपयोग गर्नुपर्ने धारणा राखे ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. सुदन झाले नेपालमा कृत्रिम बौद्धिकता (एआई)को विकास र प्रयोगको अवस्था अझै कमजोर रहेपनि यस क्षेत्रमा युवाको सहभागिता तथा लगानी बढ्दै गएको बताए ।
उनका अनुसार एआईको प्रभावकारी प्रयोगले सरकारी सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउन, उत्पादन तथा उत्पादकत्व बढाउन र रोजगारीका नयाँ अवसर सिर्जना गर्न सहयोग पुर्याउन सक्छ । त्यसैले एआईलगायत नवीन प्रविधिको विकास र उपयोगमा युवाको सहभागिता बढाउनु आवश्यक रहेको उनले बताए ।
आईसीटी समाचार