कीवर्डहरू -

दूरसञ्चारमा पहुँच विस्तार : नेपाल टेलिकमद्वारा भदौ महिनामा मात्र १३ स्थानमा नयाँ टेलिफोन टावर जडान

दूरसञ्चारमा पहुँच विस्तार : नेपाल टेलिकमद्वारा भदौ महिनामा मात्र १३ स्थानमा नयाँ टेलिफोन टावर जडान

काठमाडौं । सरकारले दूरसञ्चार सेवाको पहुँच र गुणस्तर विकासको कामलाई प्राथमिकतामा राखेसँगै दूरदराजसम्म पनि यस्तो सेवा विस्तार हुन थालेको छ । नेपाल टेलिकमले गत भदौ महिनामा देशका विभिन्न स्थानमा नयाँ टूजी एवम् फोरजी मोबाइल साइट सञ्चालनमा ल्याएको छ ।

टेलिकमले सेवा विस्तार तथा गुणस्तर सुधार गर्ने उद्देश्यले विभिन्न ११ जिल्लाका १३ स्थानमा नयाँ मोबाइल साइट सञ्चालनमा ल्याएको प्रवक्ता डा. कमल लामिछानेले जानकारी दिनुभयो ।

टेलिकमका अनुसार बागमती प्रदेशअन्तर्गत ललितपुरको ललितपुर महानगरपालिका ३ कार्यालय र च्याउन्डाँडामा नयाँ साइट सञ्चालन गरिएको छ । यस्तै चितवनको मोहनपुर तथा गण्डकी प्रदेशअन्तर्गत नवलपुरको पोखरीडाँडा र लमजुङको मध्यमर्स्याङ्दीमा पनि नयाँ मोबाइल साइट सञ्चालनमा आएका छन् ।

लुम्बिनी प्रदेशअन्तर्गत कपिलवस्तुको धर्मपानी तथा पाल्पाको रामपुर र होङ्सीमा नयाँ साइट सञ्चालन गरिएको छ । यसैगरी कर्णाली प्रदेशअन्तर्गत जुम्लाको कनकासुन्दरी र सुर्खेत–जुम्लारोडमा मोबाइल साइट सञ्चालनमा ल्याइएको छ ।

सुदूरपश्चिम प्रदेशअन्तर्गत बाजुराको बडिमालिका, डडेल्धुराको गाङ्खेत र दार्चुलाको रिठाचौपाटामा पनि नयाँ मोबाइल साइट सञ्चालनमा आएका छन् । सूचना तथा सञ्चार मन्त्रालयले चालु आर्थिक वर्षलाई दूरसञ्चार क्षेत्रमा रुपान्तरणको वर्षका रुपमा अघि बढाएको छ ।

देशभर फोरजी सेवाको पहुँच विस्तार, टेलिफोन सेवाका प्रयोगकर्ता बढाउने तथा मोबाइल ब्रोडब्यान्डको पहुँच थप विस्तार गर्ने लक्ष्य निर्धारण गरिएको छ । डिजिटल प्रविधिमा आधारित सेवा विस्तारमार्फत ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई समेत गुणस्तरीय सञ्चार सेवामा जोड्ने सरकारको उद्देश्य छ ।

नयाँ साइट सञ्चालनसँगै ती क्षेत्रमा मोबाइल तथा डेटा सेवाको पहुँच विस्तार हुनुका साथै सेवा गुणस्तरमा सुधार आउने टेलिकमले जनाएको छ । दूरसञ्चार सेवाको पहुँच नपुगेका तथा सेवा विस्तार आवश्यक रहेका स्थानमा क्रमश: नयाँ साइट थप गर्दै जाने टेलिकमको योजना छ ।