काठमाडौं । त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पस भित्रै दुई प्राध्यापकबीच भौतिक आक्रमण भएको छ । राजनीति शास्त्र विभागका आंशिक शिक्षकहरू बेग बहादुर कुबर र अशोक सिंह बिष्ट बीच क्याम्पस हाताभित्रै कुटाकुट भएको हो ।
राजनीति शास्त्र स्नातकोत्तर तहको पहिलो सेमेस्टरमा ‘संविधान र सरकार’ विषय पढाउने क्रममा यो विवाद सुरु भएको हो । विभागका प्रमुख महेश भट्टराईले एउटै समयमा दुवै शिक्षकलाई सोही विषय पढाउन पठाएपछि कक्षा कोठा व्यवस्थापनको निहुँमा भिडन्त भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
बिष्टको प्रहारबाट कुबरको छातीमा गम्भीर चोट लागेको छ र हाल उनको वीर अस्पतालस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको बताइएको छ । यो घटना केवल दुई व्यक्तिबीचको झगडा मात्र नभई विश्वविद्यालयभित्र व्याप्त गैरकानुनी नियुक्ति र चरम राजनीतिकरणको उपज भएको विद्यार्थीहरूको आरोप छ ।
विभाग प्रमुख भट्टराई नेकपा एमाले निकट प्रगतिशील प्राध्यापक संगठनका क्याम्पस इकाई अध्यक्ष समेत हुन् । उनकै संरक्षणमा विना कुनै खुला प्रतिस्पर्धा र मापदण्ड, दलीय आस्थाका आधारमा आंशिक शिक्षकहरु मनलाग्दो रुपमा भर्ती गर्ने गरिएको स्रोतको दाबी छ ।
कुनै पनि शैक्षिक योग्यता र प्राज्ञिक प्रतिस्पर्धा विना झ्यालबाट छिरेका शिक्षकहरूका कारण क्याम्पसको प्राज्ञिक वातावरण धुमिल बनेको छ । एउटै पिरियडमा दुई शिक्षक पठाउने विभाग प्रमुख भट्टराईको अदूरदर्शिता र अराजकताले त्रिविको साखमाथि नै गम्भीर प्रश्न उठाएको छ । क्याम्पस प्रशासनले यस घटना र गैरकानुनी नियुक्तिबारे ठोस कदम चाल्नुपर्ने आवाज उठेको छ । तर पनि समस्या थुप्रिरहेको छ ।
यसैबीच आरआर क्याम्पसमा राजनीति शास्त्रका दुई शिक्षकबीच भएको कुटाकुटको घटनाले नयाँ मोड लिएको छ । कुटपिटमा संलग्न शिक्षकलाई कारबाही गर्नुको साटो विभाग प्रमुख भट्टराईले पीडितलाई नै धम्क्याएर घटना दबाउन खोजेको आरोप लागेको छ ।
विभाग प्रमुख भट्टराई यतिबेला कुटपिट गर्ने शिक्षक बिष्टलाई जोगाउन र घाइते भएका कुबरलाई क्याम्पसबाट हटाउने प्रपञ्चमा लागेका छन् । वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार गराइरहेका कुबरलाई प्रहरी वा अन्य कानुनी निकायमा उजुरी नगर्न भट्टराई र उनी निकट समूहले निरन्तर धम्की दिइरहेको बुझिएको छ । उजुरी गरेमा क्याम्पसबाटै निकालिदिने भन्दै पीडितको मनोबल गिराउने काम भइरहेको छ ।
भट्टराईले आफ्नो राजनीतिक पहुँचको भरमा क्याम्पसभित्र “समानान्तर सत्ता” चलाएको आरोप लाग्दै आएको छ । विना प्रतिस्पर्धा आफ्ना निकटका मान्छे भर्ना गर्ने र चित्त नबुझेमा भौतिक आक्रमणसम्मको स्थिति सिर्जना हुनुले आरआर क्याम्पसको प्रशासनिक लाचारीलाई उदाङ्गो पारेको छ ।
संविधान र सरकार जस्तो गरिमामय विषय पढाउने शिक्षकहरू नै सडक छाप शैलीमा उत्रिँदा समेत क्याम्पस प्रशासन मौन बस्नु र विभाग प्रमुखले उल्टै आक्रमणकारीलाई संरक्षण दिनुले त्रिविको स्वायत्तता र विधिको शासनमाथि ठूलो प्रहार भएको छ । गम्भीर घाइते कुबरले न्यायका लागि हारगुहार गरिरहेका छन् भने विद्यार्थीहरूले यस घटनालाई प्राज्ञिक गुण्डागर्दीको संज्ञा दिएका छन् ।
आईसीटी समाचार