कीवर्डहरू -

सोसल मिडियामार्फत कक्षा १२ को प्रश्नपत्र लिक

सोसल मिडियामार्फत कक्षा १२ को प्रश्नपत्र लिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित कक्षा १२ को प्रश्नपत्र परीक्षा सुरु हुनुभन्दा अगावै सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर ब्यूरोले प्रश्नपत्रको गोपनीयता भङ्ग गर्ने कार्यमा संलग्न रहेको भन्दै मंगलबार दुई जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरूमा सुर्खेतको वीरेन्द्रनगर ८ स्थायी घर भई हाल काठमाडौंको सुविधानगर बस्ने ३७ वर्षीय निराजन शाही र धादिङको नीलकण्ठ ३ घर भई हाल कपन बस्ने ३० वर्षीय प्रेम कुमार श्रेष्ठ रहेका छन् ।

ब्यूरोका प्रवक्ता एवम् सूचना अधिकारी दिलीप कुमार गिरीका अनुसार उनीहरूले ‘क्लास १२ म्यानेजमेन्ट अनली’ नामक ह्वाट्सएप ग्रूप तथा फेसबूक मेसेन्जरमा विभिन्न समूहहरू बनाएर उत्तरसहितको प्रश्नपत्र परीक्षा अगावै सार्वजनिक गरेका थिए ।

राष्ट्रिय परीक्षा बोर्डले प्रश्नपत्र बाहिरिएको सम्बन्धमा अनुसन्धानका लागि पत्र पठाएपछि ब्यूरोले प्राविधिक विश्लेषण सुरु गरेको थियो । प्राविधिक अनुसन्धानका क्रममा शाही र श्रेष्ठको संलग्नता पुष्टि भएपछि ब्यूरोको टोलीले उनीहरूलाई चाबहिलबाट पक्राउ गरेको छ ।

पक्राउ परेका दुवै जनामाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा अनुसन्धान अगाडि बढाइएको छ । जिल्ला अदालत काठमाडौंबाट ४ दिनको म्याद थप गरी उनीहरूमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

परीक्षाको गोपनीयता कायम राख्नुपर्ने संवेदनशील समयमा प्रविधिको दुरुपयोग गरी प्रश्नपत्र बाहिर ल्याउने अन्य व्यक्तिहरूको समेत खोजी भइरहेको ब्यूरोले उल्लेख गरेको छ ।

null