कीवर्डहरू -

आईफोनमा बैंकिङ विवरण चोर्ने मालवेयर फेला

आईफोनमा बैंकिङ विवरण चोर्ने मालवेयर फेला

आईफोनका लागि लक्षित खतरनाक ट्रोजन मालवेयर फेला परेको छ । आईओएस ट्रोजन साइबर सुरक्षा फर्म ग्रुप–आईबीको रिपोर्ट अनुसार आईफोन स्मार्टफोनमा ह्याकरहरुले गोल्डडिगर नामक ट्रोजन लक्षित गरिरहेका छन् ।

गोल्डडिगर मालवेयर एशिया–प्यासिफिक (एपिएसी) क्षेत्रका प्रयोगकर्ताहरूलाई असर गर्ने आक्रामक बैंकिङ ट्रोजनहरूको हिस्सा हो । यसअघि विशेष गरी एन्ड्रोइड फोनलाई लक्षित गर्दै मालवेयर आक्रमण हुने गरेको थियो । तर अब यो आइओएसमा समेत देखिन थालेको छ ।

यसले डिभाइसबाट फेस रिकग्निसन डेटा र अन्य संवेदनशील जानकारी चोरी गर्ने जनाइएको छ । ग्रुप आईबीले सन् २०२३ को अक्टोबरदेखि गोल्डडिगर नामक एन्ड्रोइड मालवेयरको नयाँ संस्करण पत्ता लगाएपछि यसलाई निगरानी गरिरहेको छ ।

खराब उद्देश्यका साथ डिजाइन गरिएको यस बैंकिङ ट्रोजनको काम वित्तीय विवरणहरू चोर्नु र बैंकिङ एप, ई–वालेट र क्रिप्टो–वालेटहरूलाई लक्षित गर्नु हो । यो पहिलो पटक भियतनाममा फेला पारेको थियो तर पछि सम्पूर्ण एपिएसी क्षेत्रलाई असर गर्ने क्लस्टरको रूपमा पहिचान गरिएको थियो । 

साइबर सेक्युरिटी फर्म ग्रुप–आइबीले यो हाईटेक मोबाइल ट्रोजन आइओएस प्रयोगकर्ताका लागि विशेष गरी डिजाइन गरिएको र यसले उनीहरुको जानकारी चोर्ने र यसपछि बैंक खातालाई निशाना बनाएर मानिसको अकाउन्टमा रहेको पैसा चोरी हुने गरेको पत्ता लगाएको छ ।

यसलाई गोल्डपिक एक्स डट आइओएस नाम दिएको छ । यो ट्रोजनले डक्यूमेन्ट चोर्छ र एसएमएस पनि ब्लक गर्न सक्छ ।

साइबर सेक्युरिटी ग्रुपले दिएको जानकारी अनुसार गोल्डडिगर मालवेयरले फेस आइडी डाटा प्रयोग गरेर डीपफेक पनि बनाउन सक्छ  र फेस–स्वैपिङ एआई उपकरणहरू पनि प्रयोग गर्न सक्छ । एक ह्याकरले यसलाई आइफोन र बैंकिङ एपहरूमा पहुँच प्राप्त गर्न प्रयोग गर्न सक्छ । यसैको प्रयोग गरेर धेरै चोरीका घटना हुने गरेको छ ।