काठमाडौं । नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले १५० सीसी हाइपर स्पोर्ट स्कुटर सेग्मेन्टमा पहिलो स्कुटर नयाँ एनटर्क १५० सार्वजनिक गरेको छ ।
टीभीएस एनटर्क सिरिजअन्तर्गतको नयाँ मोडलमा १४९.७ सीसीको एयरकुल्ड, ओ३सीटेक इन्जिन दिइएको छ । उक्त इन्जिनले ७ हजार आरपीएममा १३.२ पीएस पावर तथा ५ हजार ५ सय आरपीएममा १४.२ एनएम टर्क उत्पादन गर्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार एनटर्क १५० ले ० देखि ६० किलोमिटर प्रतिघण्टाको गति ६.३ सेकेन्डमै लिन सक्छ । यसको अधिकतम गति १०४ किलोमिटर प्रतिघण्टा रहेको छ । कम्पनीले यसलाई आफ्नो सेग्मेन्टकै तीव्र गतिमा एक्सेलेरेसन दिने स्कुटरका रूपमा प्रस्तुत गरेको छ ।
एनटर्क १५० को डिजाइन स्टेल्थ एयरक्राफ्टबाट प्रेरित रहेको कम्पनीले जनाएको छ । स्कुटरमा मल्टिपोइन्ट प्रोजेक्टर हेडलाइट, एरोडाइनामिक विङ्गलेट, स्पोर्टी टेलल्याम्प, नेकेड मोटरसाइकल शैलीको ह्यान्डलबार तथा सिग्नेचर मफलर र रंगीन अलोय ह्विल दिइएको छ ।
स्कुटरको अगाडिको भागलाई एग्रेसिभ र एरोडाइनामिक डिजाइनमा तयार गरिएको छ । जेट विमानबाट प्रेरित एयर भेन्ट तथा इन्टिग्रेटेड विङ्गलेटले यसको स्पोर्टी लुकलाई थप आकर्षक बनाउने कम्पनीको दाबी छ ।
त्यस्तै, ‘टी’ आकारको सिग्नेचर टेलल्याम्प तथा छोटो स्पोर्टी सस्पेन्सन सेटअप यसका अन्य डिजाइन विशेषता हुन् । एनटर्क १५० मा टीभीएस स्मार्टएक्सोनेक्ट प्रविधिमार्फत ५० भन्दा बढी कनेक्टेड फिचर उपलब्ध छन् ।
यसमा टर्न–बाइ–टर्न नेभिगेसन, लास्ट पार्क्ड लोकेसन तथा कल र म्यासेज तथा राइड मोडलगायतका फिचर समावेश छन् । कम्पनीले नयाँ स्कुटरमा दैनिक प्रयोगका लागि आवश्यक स्मार्ट तथा कनेक्टेड फिचरलाई प्राथमिकता दिएको जनाएको छ ।
सुरक्षातर्फ एनटर्क १५० मा सिंगल च्यानल एबीएस तथा फर्स्ट इन सेगमेन्ट ट्र्याक्सन कन्ट्रोल सिस्टम दिइएको छ । यसमा हाजार्ड ल्याम्प, फलो–मी हेडलाइट, टेलिस्कोपिक फ्रन्ट सस्पेन्सन तथा एड्जस्टेबल ब्रेक लिभर उपलब्ध छन् ।
त्यस्तै, पेटेन्ट गरिएको ई–जेड सेन्टर स्ट्यान्ड र २२ लिटरको अन्डर–सिट स्टोरेज पनि दिइएको छ । एनटर्क १५० मा ‘रेस’ र ‘स्ट्रिट’ गरी दुई राइडिङ मोड उपलब्ध छन् । यसमा आई–गो असिस्ट, स्ट्रिट मोडमा आईएसएस र रेस मोडमा बुस्ट फिचरसमेत दिइएको कम्पनीले जनाएको छ ।
टीभीएस एनटर्क १५० नेपालभरका आधिकारिक डिलरमार्फत बिक्रीका लागि उपलब्ध भएको छ । स्कुटर स्टेल्थ सिल्भर, रेसिङ रेड र टर्बो ब्लु गरी तीन कलरमा उपलब्ध हुनेछ । यसको सुरुवाती मूल्य ३ लाख ६९ हजार ९०० रुपैयाँ तोकिएको छ ।
आईसीटी समाचार