काठमाडौं । नेपालमा विद्यालय तहका विद्यार्थीलाई विज्ञान, प्रविधि र नवप्रवर्तनसँग व्यवहारिक रूपमा जोड्ने उद्देश्यले पहिलोपटक राष्ट्रिय स्तरको ‘नेशनल स्कुल इनोभेसन लिग (एनएसआईएल)’ सुरु गरिएको छ । रोबोटिक्स, इन्टरनेट अफ थिङ्स (आईओटी), प्रोग्रामिङ, इलेक्ट्रोनिक्स र नवप्रवर्तनलाई एकै मञ्चमा समेट्ने यो प्रतियोगिता विद्यालयस्तरको सबैभन्दा ठूलो प्रविधिमूलक अभियानका रूपमा अघि सारिएको हो ।
दूरशिक्षा एजुकेसन नेटवर्क प्रालिले आयोजना गरेको प्रतियोगितामा देशभरका कक्षा ३ देखि १० सम्मका करिब १० हजार विद्यार्थी सहभागी हुने लक्ष्य राखिएको छ । आयोजकका अनुसार यो प्रतियोगिता केवल प्रतिस्पर्धामा सीमित नभई विद्यार्थीलाई वास्तविक समस्याको समाधान खोज्न प्रेरित गर्ने सिकाइको माध्यम बन्नेछ ।
प्रतियोगिताका लागि साउन ११ गतेदेखि भदौ १८, २०८३ सम्म अनलाइन दर्ता खुला गरिएको छ । इच्छुक विद्यालय तथा विद्यार्थीले आयोजकको वेबसाइटमार्फत दर्ता गर्न सक्नेछन् । भदौ मसान्तभित्र सहभागी विद्यालयलाई आवश्यक इनोभेसन किट उपलब्ध गराइनेछ भने असोज ७ गतेदेखि शिक्षक र विद्यार्थीका लागि विशेष प्रशिक्षण कार्यक्रम सञ्चालन हुनेछ ।
प्रतियोगिता तीन फरक तहमा सञ्चालन गरिनेछ । कक्षा ३ देखि ५ सम्मका विद्यार्थी बेस क्याम्प लिग, कक्षा ६ देखि ८ सम्मका विद्यार्थी असेन्ट लिग र कक्षा ९ देखि १० सम्मका विद्यार्थी समिट लिगमा प्रतिस्पर्धा गर्नेछन् । प्रत्येक तहका लागि फरक परियोजना, इनोभेसन किट तथा मूल्याङ्कन प्रणाली तयार गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको अर्को विशेषता भनेको विद्यार्थीले केवल रोबोट बनाउने वा कोड लेख्ने मात्र नभई आफ्नै समुदायमा देखिएका समस्या पहिचान गरी दिगो विकास लक्ष्य (SDGs) सँग जोडिएका प्रविधिमैत्री समाधान तयार गर्नु हो । यसका लागि सहभागी विद्यालयलाई परियोजना मार्गदर्शन, विद्यार्थी कार्यपुस्तिका, प्रशिक्षण तथा प्राविधिक सहयोग उपलब्ध गराइनेछ ।
मंसिर र पुस महिनामा देशका ९ प्रमुख सहरमा क्षेत्रीय चरणका प्रतियोगिता सञ्चालन हुनेछन् । क्षेत्रीय चरणबाट उत्कृष्ट टोली छनोट भएपछि काठमाडौंमा राष्ट्रिय ग्राण्ड फिनाले आयोजना गरिनेछ । विजेता टोलीले कुल पाँच लाख रुपैयाँ बराबरको नगद पुरस्कार प्राप्त गर्नेछन् ।
‘कक्षाकोठाबाट विश्व मञ्चसम्म’ भन्ने नाराका साथ सुरु गरिएको यो अभियानले नेपाली विद्यालयमा प्रविधिमैत्री शिक्षालाई नयाँ उचाइमा पुर्याउने आयोजकको विश्वास छ ।
आईसीटी समाचार