काठमाडौं । Google ले म्याक कम्प्युटरका लागि आफ्नो एआई सहायक Gemini को नेटिभ एप सार्वजनिक गरेको छ । यससँगै कम्पनीले जेमिनीलाई मोबाइल मात्र नभई डेस्कटप र ल्यापटपमा समेत विस्तार गर्ने रणनीतिलाई अघि बढाएको छ । कम्पनीले मंगलबार Windows का लागि जेमिनी एप ल्याएको एक दिनपछि macOS प्रयोगकर्ताका लागि पनि नेटिभ एप उपलब्ध गराएको हो ।
गुगलका अनुसार म्याकओएसका लागि जेमिनी एपलाई पूर्ण डेस्कटप अनुभवका रूपमा डिजाइन गरिएको छ । प्रयोगकर्ताले किबोर्ड सर्टकटमार्फत छिटो पहुँच पाउन सक्नेछन् । डिफल्ट सेटिङ अनुसार “Option + Space” थिच्दा मिनी च्याट खुल्नेछ भने “Option + Shift + Space” प्रयोग गर्दा पूर्ण च्याट इन्टरफेस खुल्नेछ । यी सर्टकटहरू एपको सेटिङबाट परिवर्तन गर्न सकिने सुविधा पनि दिइएको छ ।
नयाँ एपमार्फत प्रयोगकर्ताले आफ्नो स्क्रिनमा देखिने सामाग्री जस्तै फाइल, इमेज, डकुमेन्ट, डेटा वा कोड सीधै च्याटबोटसँग सेयर गरेर त्यसबारे प्रश्न सोध्न सक्नेछन् । साथै, पूरा वेबपेज नै सेयर गर्ने सुविधा पनि उपलब्ध गराइएको छ ।
जेमिनी एपले इमेज तथा भिडियो जेनेरेसनलाई पनि समर्थन गर्नेछ, जसका लागि “नानो बनाना” फिचर प्रयोग गरिएको कम्पनीले जनाएको छ । यो एप macOS 15 वा सोभन्दा माथिका म्याक डिभाइसहरूमा चल्नेछ र जेमिनी समर्थित सबै देश तथा भाषामा उपलब्ध हुनेछ ।
जेमिनी एपका ग्रुप प्रोडक्ट म्यानेजर Michael Friedman ले कम्पनीले “वास्तवमै व्यक्तिगत, सक्रिय र शक्तिशाली डेस्कटप असिस्टेन्ट” निर्माणको दिशामा काम गरिरहेको बताएका छन् । उनले आगामी महिनाहरूमा थप नयाँ फिचर सार्वजनिक गरिने संकेत पनि दिएका छन् ।
यसैबीच, Apple ले आफ्नो बहुप्रतीक्षित जनरेटिभ एआई सञ्चालित सिरीलाई आगामी WWDC मा सार्वजनिक गर्न सक्ने अनुमान गरिएको छ । उक्त संस्करणमा म्याकओएस एपहरूसँग गहिरो समायोजन हुने र जेमिनी मोडेलहरू समेत प्रयोग हुन सक्नेछ ।
आईसीटी समाचार