काठमाडौं । गुगलले Android Show : I/O Edition लाइभस्ट्रिममार्फत घोषणा गर्दै आगामी जुन महिनादेखि एन्ड्रोइड डिभाइसहरूमा क्रोम ब्राउजरमार्फत जेमिनी एआई उपलब्ध गराउने जनाएको छ ।
नयाँ अपडेटपछि क्रोमको टुलबारको माथिल्लो दायाँ भागमा जेमिनी आइकन देखिनेछ । उक्त आइकनमा ट्याप गरेपछि स्क्रिनको तलबाट च्याट इन्टरफेस खुल्नेछ । यस सुविधामा पीसी संस्करणका धेरै विशेषताहरू समावेश हुनेछन् ।
यसमा Nano Banana इमेज जेनेरेसन, गुगल क्यालेन्डर र कीपजस्ता एपहरूसँगको इन्टिग्रेसन, साथै पर्सनल इन्टेलिजेन्स सुविधा पनि रहनेछ, जसले अन्य गुगल सेवाबाट आवश्यक जानकारी प्रयोग गर्न सक्छ ।
गुगलले एन्ड्रोइड डिभाइसमा Auto Browse सुविधा पनि थप गर्ने भएको छ । तर यो सुविधा प्रयोग गर्न एआई प्रो वा अल्ट्रा सब्सक्रिप्सन आवश्यक पर्नेछ । यो सुविधा प्रयोगकर्तालाई छिटो काम गर्न सहयोग गर्ने उद्देश्यले बनाइएको हो ।
गुगलका अनुसार यसमा डेस्कटप जस्तै सुरक्षा प्रणाली रहनेछ, जसले Prompt Injection जस्ता जोखिमहरू रोक्नेछ । साथै, खरिद वा सामाजिक सञ्जालमा पोस्ट जस्ता संवेदनशील कार्य अघि जेमिनीले प्रयोगकर्ताबाट अनिवार्य पुष्टि माग्नेछ ।
गुगलले अमेरिकामा रहेका एन्ड्रोइड प्रयोगकर्ताहरूका लागि जुनको अन्त्यदेखि क्रोम ब्राउजरमा जेमिनी विस्तार गर्न सुरु गर्ने योजना बनाएको छ ।
यो सुविधा प्रयोग गर्न कम्तीमा ४GB RAM भएको डिभाइस आवश्यक पर्नेछ भने एन्ड्रोइड १२ वा त्यसपछि आएका संस्करणहरूमा पनि समर्थन उपलब्ध हुनेछ । नयाँ अपडेटपछि प्रयोगकर्ताले क्रोममै जेमिनी एआई सुविधा प्रयोग गर्न सक्नेछन् ।
आईसीटी समाचार