कीवर्डहरू -

९ महिनादेखि प्रधानमन्त्रीको पर्खाइमा काठमाडौं विश्वविद्यालयको हाइड्रोजन कार

९ महिनादेखि प्रधानमन्त्रीको पर्खाइमा काठमाडौं विश्वविद्यालयको हाइड्रोजन कार
केयुले ल्याएको ग्रीन हाइड्रोजन कार

पछिल्लो समय नेपालमा हाइड्रोजनले चर्चा पाउन थालेको छ । नेपालमा ग्रीन हाइड्रोजनको उच्च सम्भावना रहेको भन्दै काठमाडौं विश्वविद्यालय (केयु) ले सन् २०२० देखि नै ग्रीन हाइड्रोजन ल्याब नै स्थापना गरेर अध्ययन अनुसन्धानलाई अगाडि बढाएको छ । 

२०७९ फागुनमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोलुखोला दूधकोशी जलविद्युत आयोजनाको उद्घाटन गर्दै आफु हाइड्रोजन गाडी चढ्ने तयारीमा रहेको बताएका थिए । त्यसपछि झनै हाइड्रोजनको चर्चा चुलिएको थियो । 

गत कात्तिकमा काठमाडौं विश्वविद्यालयले नेपालमै पहिलो पटक हाइड्रोजन कार र रिफिलिङ स्टेशन भित्र्याएको थियो । हाइड्रोजन कार भित्र्याइसकेपछि प्रधानमन्त्रीलाई चढाएर त्यसको उद्घाटन गर्ने योजना विश्वविद्यालयको थियो । 

तर अहिलेसम्म प्रधानमन्त्रीबाट हाइड्रोजन कारको उद्घाटन हुन सकेको छैन् । काठमाडौं विश्वविद्यालयको ग्रीन हाइड्रोजन ल्याबका प्रमुख डा. विराज सिंह थापा प्रधानमन्त्रीले हाइड्रोजन गाडी चढेपछि त्यसले ठूलो सन्देश दिने बताउँछन् ।

‘सम्माननीय प्रधानमन्त्री ज्यूले संस्थागत गरेर चढिदिनु भयो यसले ठूलो सन्देश दिनेछ । यसमा अझै धेरैको चासो बढ्ने छ,’ थापाले आईसीटी समाचारसँग भने । सार्वजनिक कार्यक्रममै हाइड्रोजन गाडी चढ्ने घोषणा गरेका तत्कालीन प्रधानमन्त्री प्रचण्ड अहिले पदमुक्त भइसकेका छन् भने नयाँ प्रधानमन्त्रीमा केपी शर्मा ओली नियुक्त भएका छन् । 

प्रचण्ड सत्तामै हुँदा पनि विश्वविद्यालयले हाइड्रोजन गाडी चढ्न प्रधानमन्त्री समक्ष प्रस्ताव राखेको थियो । तर केही कारणले त्यो सफल हुन सकेन । 

नयाँ प्रधानमन्त्री केपी शर्मा ओलीले हाइड्रोजन कार चढेर उद्घाटन गर्नेमा आफुहरू विश्वस्त रहेको थापाले बताए । ‘निवर्तमान प्रधानमन्त्रीज्यूको पनि यसमा चासो थियो । नेपालको राजनीतिक उतारचढावले गर्दा केही समस्या भयो,’ उनले आईसीटी समाचारसँग भने, ‘हाइड्रोजन गाडी चढ्ने कुरा व्यक्ति विशषले भन्दा पनि प्रधानमन्त्रीको पदले बोलेका हुन् । अर्को प्रधानमन्त्रीज्यूले पनि यसलाई अगाडि बढाउनु हुन्छ होला भन्ने आशा छ ।’ 

केयुले ल्याएको हाइड्रोजन रिफिलिङ स्टेशन

प्रधानमन्त्रीले हाइड्रोजन गाडी चढ्नु ठूलो सन्देश हुने भएकाले नयाँ प्रधानमन्त्री समक्ष हाइड्रोजन गाडी चढ्ने प्रस्ताव राख्ने उनको भनाइ छ । ९ महिनादेखि काठमाडौं विश्वविद्यालयमा रहेको हाइड्रोजन कार प्रधानमन्त्रीको पर्खाइमा छ । प्रधानमन्त्रीले चढेर उद्घाटन नगरेरसम्म हाइड्रोजन कार सडकमा नगुडाउने विश्वविद्यालयले जनाएको छ । अहिले विश्वविद्यालयको परिधिभित्र मात्रै कारको परीक्षण भइरहेको उनले जानकारी दिए । 

उनले अगाडि भने, ‘प्रधानमन्त्रीबाटै उद्घाटन गराउने योजना छ । त्यसैले उहाँको सम्मान स्वरूप नै हामीले अहिलेसम्म हाइड्रोजन कार सडकमा गुडाएका छैनौं । विश्वविद्यालयको परिधिभित्र परीक्षण गरिरहेका छौं ।’

नीति बन्यो अब ऐनको खाँचो 

नेपालको इतिहासमा कुनै पनि नीति चाँडो आएको छैन् । तर ग्रीन हाइड्रोजन नीति भने ड्राफ्ट बनाएको मितिको ९ महिनामै आएको छ । 

अब नीति अनुसार ऐन, नियमावली, कार्यविधि लगायत कानुनहरू बनाउनु पर्ने आवश्यकता भइसकेको छ । अहिलेको कानुनले हाड्रोजनबाट चल्ने गाडीलाई चिन्दैन् । त्यस्तो गाडीलाई नम्बर प्लेट दिने व्यवस्था गर्नुपर्नेछ । 

हाइड्रोजनबाट चल्ने गाडी पनि बिजुलीबाट चल्ने गाडी जस्तै भएकाले विद्युतीय गाडीकै कानुन लागु गर्न सकिने थापा बताउँछन् ।‘हाइड्रोजनबाट चल्ने सवारीसाधनलाई नम्बर प्लेट दिने व्यवस्था गर्नुपर्‍यो । बिजुलीको जस्तो वर्षौं लगाउनु भएन । हाइड्रोजनबाट चल्ने गाडी भनेको पनि बिजुलीबाट चल्ने गाडी जस्तै हो । त्यहाँ पनि मोटर नै हुन्छ,’ उनी भन्छन्, ‘हाइड्रोजन सवारीसाधनलाई पनि विद्युत सवारीसाधन सरह नै कानुन लागु हुनेछ भनेर कानुनमा एक लाइन लेख्दा त्यसले लगानी र बजार दुबैलाई बढाउँछ ।’

विश्वभर निर्यात हुन सक्छ नेपालको ‘सस्तो’ हाइड्रोजन

नेपालले हाड्रोजनको उत्पादनमा ठूलो सम्भावना बोकेको छ । भविष्यमा नेपालको लागि यो ठूलो व्यवसाय हुन सक्नेछ । विश्वभर नेपालको हरित हाइड्रोजन उर्जा पुग्ने छ । 

विश्न नै अहिले जीवाश्म इन्धनलाई ग्रीन हाइड्रोजनले प्रतिस्थापन गर्ने दिशामा अगाडि बढेको छ । हाइड्रोजन उत्पादनमा विकसित देशहरूले ठूला ठूला लगानी गरिरहेका छन् । 


यो पनि पढ्नुहोस्ः ‘नेपालको हाइड्रोजन भविष्यमा विश्वबजारमा बिक्री हुन्छ, आजैदेखि काम थाल्नु पर्छ’


निकट भविष्यमा विश्वलाई ठूलो परिमाणमा हाइड्रोजन चाहिनेवाला छ । त्यस्तो अवस्थामा नेपालको विश्वभर हाइड्रोजन निर्यात गर्न सक्छ । भविष्यमा विश्वभर हाइड्रोजनको माग बढ्ने र नेपालले सस्तोमा हाइड्रोजन निर्यात गर्न सक्ने थापाले बताए । 

‘अबको १० वर्षसम्ममा विश्वलाई ठूलो परिमाणमा ग्रीन हाइड्रोजन चाहिनेवाला छ । यस सन्दर्भमा, हाइड्रोजन सस्तोमा कहाँ पाइन्छ ? भनेर धेरै खोजहरू भइरहेका छन् । सस्तो हाइड्रोजन पाइने मुलुकको सूचीमा नेपाल अग्रपङ्तिमा छ,’ थापा उत्साहित हुँदै भन्छन, ‘अहिलेदेखि नै काम सुरू गरेर हाइड्रोजन निर्यात गर्न सकियो भने त्यसले देशको अर्थतन्त्रमा ठूलो योगदान गर्नेछ ।’

राज्यले पनि पछिल्लो समय हाइड्रोजनको बारे कुराहरू गर्न थालेको छ । हाइड्रोजनबाट मल कारखाना खोल्ने, पेट्रोलियम पदार्थलाई विस्थापित गर्ने लक्ष्य राज्यको नीति तथा कार्यक्रममा देखिन थालेको छ । तर अब हाइड्रोजनको उत्पादन र प्रयोगमा ‘एग्रेसिभ’ रूपमा काम गर्नुपर्ने देखिन्छ ।

विराज सिंह थापा

अहिले सरदरमा १ किलोग्राम हाइड्रोजनलाई विश्वबजारमा ५ डलर पर्छ । यो पनि आगामी २ वर्षमा ३ डलरमा झर्ने र २०३० सम्म आईपुग्दा १ डलरमा ल्याउने भनेर विकसित देश लागि परेका छन् । 
१ किलोग्राम हाइड्रोजनबाट डेढसयदेखि २ सयकिलोमिटरको दूरीसम्म कार चलाउन सकिन्छ ।

अहिलेको मूल्य अनुसार त्यो भनेको ५ सय देखि ७ सय रूपैयाँ हो । ईभीभन्दा महंगो भएपनि पेट्रोलसँग तुलना गर्न सकिने अवस्थामा अहिले हाइड्रोजन आइसकेको छ । अब पेट्रोलको मूल्य बढ्दै जान्छ । हाइड्रोजनको मूल्य घट्दै जानेछ ।

हाइड्रोजन हबको परिकल्पना 

काठमाडौं विश्वविद्यालयले हाइड्रोजनको हबको परियोजना समेत अगाडि सारेको छ । केही समय अगाडि सम्पन्न लगानी सम्मेलनमा पनि उक्त परिकल्पना प्रस्तुत भएको थियो र धेरै विदेशीहरूले चासो समेत देखाएका थिए । 


यो पनि पढ्नुहोस्ः नेपालमै पहिलो पटक भित्रियो ‘हाइड्रोजन कार’, पूरा होला त प्रधानमन्त्रीको चढ्ने सपना ?


 

हाइड्रोजन हब भनेको धेरैवटा जलविद्युत, सोलार र विन्ड उर्जाको विद्युत गृहको उर्जा ल्याएर एकै ठाउँबाट हाइड्रोजन निकाल्नु हो । यसमा हाइड्रोजनको उत्पादन, भण्डारण, प्रसारण र प्रयोग गर्ने ठाउँ एउटा हुन्छ । त्यसले नवीकरणीय उर्जा उत्पादन भइरहेको ठाउँमा उर्जा खेर जान थाल्यो भने हाइड्रोजनमा रूपान्तरण गर्न सकियो, जहाँ सबैको एउटा हाइड्रोजन गृह हुन्छ ।

यो कोल्ड स्टोर जस्तो हो । धेरैवटा नवीकरणीय उर्जाको गृहबाट एकठाउँमा हाइड्रोजन निकालिन्छ र भण्डार गरिन्छ । आवश्यक पर्‍यो भने त्यसबाट बिजुली निकालेर फेरि ग्रिडमा हालिन्छ जसले ग्रिडलाई स्टेबिलाइज गर्छँ ।

नेपालमा पछिल्लो समय जविद्युतको उत्पादन बढ्दै गएकाले विशेष गरी देशका चार ठाउँमा हाइड्रोजन हब बन्ने सक्ने उनले बताए । ‘नेपालमा हाइड्रोजन हबहरू बन्ने धेरै सम्भावना छन् । कोशी करिडोरमा ५ हजार मेगावाटका हाइड्रोपावरहरू पाइपलाइनमा छन् । २२००-२५०० मेगावाटका हाइड्रोपवार अरूणमा बन्दै छन्, जहाँ बर्खामा ३ हजार मेगावाट र हिउँदमा १५०० मेगावाट बिद्युत निस्किन सक्छ,’ उनले भने, ‘अरूणमा बर्खा र हिउँद १५ सय मेगावाटको भेरियसन छ । यो भेरियसनलाई ब्यालेन्स गर्न एउटा हाइड्रोजन हब बन्न सक्छ । त्यसको वरिपरि उद्योगहरू चलाउन सकिन्छ । बाँकी रहेको हाइड्रोजनलाई निर्यात गर्न सकिन्छ ।’

अहिले विकसित देशहरू हाइड्रोजन हबको बनाउने तिर पनि लागेका छन् । ५२ अर्ब युरोको ७० वटा हाइड्रोजन हब यूरोपमा बन्दै छन् । अमेरिकामा पनि प्रत्येक राज्यमा एक एक वटा हाइड्रोजन हब बनाउने भनेर भनिएको छ ।

५०-६० वटा हाइड्रोपावरको बीचमा एउटा हाइड्रोजन हब बनाउन सकिने थापाको तर्क छ । थापाका अनुसार विकसित मुलुकहरूले १०० देखि २०० किलोमिटरको परिधिभित्र जति पनि नवीकरणीय उर्जा उत्पादकहरूको संलकन विन्दु एउटा हुने गरी काम अगाडि बढाएका छन् ।