कीवर्डहरू -

‘साइबर सुरक्षाका नयाँ ट्रेन्डहरूलाई सम्बोधन गर्ने गरी नयाँ कानुन ल्याउन आवश्यक छ’

साइबर सुरक्षालाई विद्यालयको पाठ्यक्रममै राख्नुपर्छ

‘साइबर सुरक्षाका नयाँ ट्रेन्डहरूलाई सम्बोधन गर्ने गरी नयाँ कानुन ल्याउन आवश्यक छ’

नेपालमा सूचना प्रविधिको प्रयोग र विस्तार बढिरहेको छ । देशको अधिकांश भुभागमा इन्टरनेट पुगेको छ । सबैको हातहातमा डिजिटल डिभाइहरू पुग्न थालेका छन् । प्रविधिको विस्तार हुँदा अनलाइनबाट हुने ठगी, ह्याकिङ, फिशिङ, पाइरेसी लगायत साइबर अपराधका घटना समेत बढ्दो क्रममा छन् ।

नेपालमा साइबर अपराधको अनुसन्धान गर्ने जिम्मा नेपाल प्रहरीको साइबर ब्यूरोले पाएको छ । साइबर अपराध बढ्दै गएपछि त्यसको अनुसन्धान गर्न ५ वर्ष अगाडि ब्यूरोको स्थापना भएको थियो ।

पछिल्लो समय ब्यूरोले के के काम गरिरहेको छ ? साइबर अपराधका कस्ता कस्ता केस आइरहेका छन् ? जनशक्तिको अभाव कत्तिको छ ? लगायतका विषयमा साइबर ब्यूरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक पशुपति कुमार राय सँग आइसिटी समाचारका लागि कमल केसी ले गरेको सम्पादित कुराकानी


साइबर ब्यूरोले के के काम गर्छ ?

साइबर ब्यूरो स्थापना भएको ५ वर्ष भइसकेको छ । साइबर ब्यूरोले साइबर अर्थात विद्युतीय अपराधका केसहरू हेर्छ । साइबर अपराधका केसहरूको उजुरी लिने, अनुसन्धान गर्ने र कानुनी प्रक्रिया लैजाने काम साइबर ब्यूरोले गर्छ ।

प्रो एक्टिभ पुलिसिङका हकमा कतिपय अवस्थामा हामीले जनचेतनाका कार्यक्रम पनि गर्नुपर्ने हुन्छ । साइबर अपराधको अनुसन्धान गर्दा अन्तराष्ट्रिय संस्थासँग पनि समन्व्य पनि गर्नुपर्ने हुन्छ । त्यस्तो अवस्थामा अन्तर्राष्ट्रिय संस्थासँग समन्वय गर्ने काम पनि गर्छौं । यसका अलवा साइबर इनेबल अपराधको पनि अनुसन्धान गर्छौं ।

साइबर ब्यूरोमा सबैभन्दा बढी कस्ता प्रकृतिका घटनाहरू आउँछन् ?

साइबर ब्यूरोमा धेरै जसो फेक प्रोफाइलका घटनाहरू आएका छन् । फेक प्रोफाइल बन्द वा डिलिट गरिदिनुपर्‍यो भनेर आइरहनु भएको हुन्छ । त्यसपछि वित्तीय अपराधका घटनाहरू धेरै आइरहेका छन् ।

साइबर अपराधलाई रोक्न ब्यूरोले जनचेतनामा कत्तिको जोड दिएको छ ?

साइबर अपराधको डोमेन एकदमै वृहत छ । तथापी नेपाल प्रहरीको साइबर ब्यूरोले देशका विभिन्न ठाउँमा जनचेतनाका कार्यक्रम सञ्चालन गर्दै आएको छ । नेपाल प्रहरीको सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत २९ हजार स्कुल कलेज र ७५३ स्थानीय निकायसँग एमओयु भएको छ ।

उहाँहहरूको सहयोहगमा पनि विभिन साइबर अपराध सम्बन्धि कार्यक्रम सञ्चालन गरिरहेका छौं । प्रहरीलाई साइबर सुरक्षा बारे जानकारी दिन इन हाउस तालिम पनि चलाइरहेका हुन्छौं । आम सञ्चार माध्यमबाट जनचेतानामूलक कार्यक्रम गरिरहेका हुन्छौं ।

साइबर ब्यूरोले कस्ता कस्ता उजुरीको अनुसन्धान गर्दछ ?

एउटा मेसिनले अर्को मेसिनमाथि आक्रमण गर्ने, ह्याकिङ, अनाधिकृत पहुँच, सिस्टम तथा नेटवर्कमा अनाधिकृत पहुँच, अनलाइन ठगी लगायत साइबरसँग जोडिने घटनामा अनुसन्धान गर्छौं । कुनै कुनै घटनाको सुरूवात अनलाइन भएपनि त्यसमा भौतिक पक्षपनि सँगै जोडिए हुन्छ । त्यस्तो अवस्थामा हामीले सम्बन्धित ठाउँमा पठाउँने गरेका छौं ।

साइबर ब्यूरोमा कसरी उजुरी दिने ?

२०८० साल असार ११ गतेपछि ७७ वटै जिल्लामा मुद्दा दर्ता हुने प्रावधान आएको छ । साइबर अपराध सम्बन्धि उजुरी अब सम्बन्धि जिल्ला प्रहरी कार्यालयमा दिन सकिन्छ । यसका साथै काठमाडौंमा रहेको साइबर ब्यूरोमा समेत आफै उपस्थिति भएर पनि उजुरी दिन सकिन्छ ।

साइबर ब्यूरोका सामाजिक सञ्जाल, इमेल लगायतबाट पनि घटना बारे जानकारी गराउन सकिन्छ । यो प्राविधिक अनुसन्धान भएका कारण प्राविधिक प्रमाणहरू चाहिन्छ, त्यसकारण व्यक्ति स्वंय उपस्थिति भएमा अनुसन्धान गर्न सहज हुन्छ ।

साइबर ब्यूरोले समय समयमा विभिन्न ठाउँमा साइबर सुरक्षा सम्बन्धि जनचेतनाका कार्यक्रम गरिरहेको हुन्छ । कार्यक्रम गर्दै गर्दा साइबर सुरक्षासम्बन्धि आम जनतामा जनचेतना कस्तो पाउनु भएको छ ?

अहिले मोबाइल फोन सबैको हातहातमा पुगेको छ । त्यो फोन कम्प्युटरभन्दा शक्तिशाली छ । त्यसको सही प्रयोग भएन भने अपराध त्यहीबाट सुरू हुन्छ । आफै पनि पीडित हुन सकिन्छ भने अरू कोही पनि पीडित हुन सक्छन् ।

आम जनतामा पनि साइबर सुरक्षा सम्बन्धि जनचेतना कम छ । साइबर सुरक्षा सम्बन्धि जनचेतना कार्यक्रम जुन रूपमा हुनुपर्ने त्यत्ति वृहत भएको छैन् । जनशक्ति पनि पर्याप्त छैन् ।

प्रहरीका अन्य पनि काम भएकाले यसमा धेरै समय दिन सकिएको छैन् । त्यसकारण साइबर सुरक्षालाई विद्यालय तथा कलेजको पाठ्यक्रममै राख्नुपर्छ । पाठ्यक्रममा राखेपछि विद्यार्थीहरू पढ्छन र त्यसबाट केही न केही ज्ञान सिक्छन् ।

साइबर ब्यूरोले सिमित स्रोत साधनमा काम गरिरहेको छ । यसका साथै साइबर अपराध सम्बन्धि घटनाहरू अनुसन्धान गर्दा अन्तर्राष्ट्रिय संस्थासँग समेत समन्वय गर्नुपर्ने हुन्छ । कामका दौरान कस्ता कस्ता चुनौतीहरू सामना गरिरहनु भएको छ ?

चुनौतीहरू धेरै छन् । ब्यूरोले विद्युतीय कारोबार ऐन २०६३ अनुसार अनुसन्धान गर्दै आएको छ । त्यसले अहिले आएका ट्रेन्डहरूलाई सम्बोधन गर्न सकेको छैन् । नयाँ ट्रेन्डहरूलाई सम्बोधन गर्ने गरी नयाँ कानुन ल्याउन आवश्यक छ ।

साइबर ब्यूरोमा आएका धेरै घटनाको सुरूवाती विन्दु अन्तर्राष्ट्रिय स्थान हुन्छ । यसको लागि मुख्य कुरा कानुन हो । कानुनले यो अपराध हो भनेर भनिदिनु पर्ने हुन्छ । त्यसका लागि हामीले अहिलेसम्म अभ्यास गर्ने भनेको विद्युती कारोबार ऐन हो । अन्तर्राष्ट्रिय संस्थासँग समन्वय गर्न एउटा ‘लिगल फ्रेमवर्क’ भयो भने सहज हुन्छ । अर्को कुरा ब्यूरोमा सिमित जनशक्ति छ ।

साइबर ब्यूरोको क्षमता अभिवृद्धिका लागि दक्षिण कोरियासँग सम्झौता भएको थियो । उक्त परियोजनाको अहिलेको अवस्था के छ ?

यो ५ वर्षे कार्यक्रम हो । भवनको शिलान्यास भएको छ । क्षमता अभिवृद्धि पनि अर्को वर्षदेखि सुरू हुन्छ ।

साइबर ब्यूरोमा आउने उजुरीहरूको फर्स्यौट दरको अवस्था कस्तो छ ?

फर्स्यौट दर हेर्दा गम्भीर अपराधका उजुरीमा हामीले शत प्रतिशत नै सफलता हासिल गरेका छौं । तथापी कुनै केस हामीले पहिचान गरेपनि पीडितहरू अगाडि नबढाउने भन्नु हुन्छ । त्यस्तो अवस्था बाहेक अनुसन्धान गरेर कारवाहीको दायरामा ल्याएका छौं ।

साइबर अपराध गरेमा कारवाहीका लागि कानुनी व्यवस्था कस्ता छन् ?

विद्युती कारोबार ऐन २०६३ मा धारा ४४ मा सोर्सकोड पाइरेसी, धारा ४५ मा अनाधिकृत पहुँच, धारा ४६ मा प्रणालीमा क्षति पुर्‍याउने र धारा ४७ मा समाजमा खलल पुर्‍याउने गरी कानुनले रोक लगायतका सामाग्री अनलाइनबाट प्रकाशन, प्रसारण गर्ने सम्बन्धि व्यवस्था छ । अपराधको प्रकृति अनुसार १ लाखसम्म जरिवाना वा ५ वर्षसम्म कैद अथवा दुवै सजाय समेत हुन सक्छ ।

साइबर ब्यूरोमा सिमित जनशक्ति छ । थप जनशक्ति व्यवस्थापनका लागि पहल गर्नुभएको छ की छैन् ?

ब्यूरोमा सिमित जनशक्ति छ । दिन दिनै आउने केसहरूका लागि नै जनशक्ति पर्याप्त छैनन् । जनशक्तिको कमी भएको कुरा प्रहरी मुख्यालय, मन्त्रालय र अन्य सम्बन्धित निकायमा लिखित र मौखिक रूपमा जानकारी गराएका छौं । त्यसमा आवश्यक काम भइरहेको छ ।

कुराकानीको अन्त्यमा केही भन्न चाहनुहुन्छ ?

अहिले समयमा मानिसलाई भन्दा पनि मेसिनलाई बढी विश्वास गर्न थालेका छौं । कसैले भनेकै भरमा करोडौं रूपैयाँ पठाइरहेका हुन्छौं । हामीलाई आएका सामग्रीलाई सामान्य प्रमाणीत गर्न समेत चाहिरहेका छैनौं ।

आफुसँग सम्बन्धि नभएको मानिसले करौडौं दिन्छु भन्छ, त्यो हामी पत्याइदिन्छौं । प्राइभेट गर्नुपर्ने कुरा पब्लिकली राखिदिन्छौं । हामीले जे कुरा अफलाइनमा गर्न सक्दैनौं त्यो कुरा अनलाइनमा पनि गर्न सक्दैनौं । माध्यम मात्र फरक हो ।