काठमाडौं । लगानी बोर्डको ६८ औँ बैठकले दुई वटा अर्धजलाशययुक्त जलविद्युत् परियोजनामा २१ अर्ब १७ करोड रुपैयाँभन्दा बढी लगानी स्वीकृत गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा आज बसेको बैठकले ५८.९ मेगावाट क्षमताको नार खोला जलविद्युत् परियोजना र ४६.७२ मेगावाट क्षमताको सानी भेरी ३ जलविद्युत् परियोजनाको लगानी स्वीकृत गरेको हो ।
बैठकले नार खोला जलविद्युत् परियोजनाका लागि १० अर्ब ७५ करोड ४ लाख ९७ हजार रुपैयाँ र सानी भेरी ३ जलविद्युत् परियोजनाका लागि १० अर्ब ४२ करोड ३३ लाख ६२ हजार रुपैयाँ लगानी स्वीकृत गर्ने निर्णय गरेको छ ।
त्यसैगरी, बैठकले ९०० मेगावाट क्षमताको अरुण ३ जलविद्युत् परियोजनाले सन् २०२८ फेब्रुअरीसम्म व्यावसायिक उत्पादन सुरु गर्ने विषयलाई अघि बढाएको छ ।
९०० मेगावाट क्षमताकै माथिल्लो कर्णाली जलविद्युत् परियोजनाका सम्बन्धमा परियोजना विकास सम्झौतामा भएका प्रावधानअनुसार तत्काल निर्माण कार्य अघि बढाउन आवश्यक सहजीकरण गर्ने निर्णय समेत गरेको छ ।
बैठकले स्वीकृत परियोजनाहरूको कार्यान्वयन प्रभावकारी बनाउनुका साथै लगानीकर्तालाई प्रदान गरिने सेवा सहज बनाउन लगानी बोर्डको कार्यालयका प्रमुख कार्यकारी अधिकृतलाई आवश्यक अधिकार प्रत्यायोजन गर्ने निर्णय गरेको छ ।
यसैगरी, बोर्डले आह्वान नगरेका प्रस्तावहरूलाई आवश्यकताअनुसार स्वीस च्यालेन्ज विधिबाट प्रतिस्पर्धा गराएर अघि बढाउन आवश्यक कानुनी व्यवस्था गर्न कार्यालयलाई निर्देशन दिने निर्णय गरेको छ ।
कृत्रिम बुद्धिमत्तालगायत नवीनतम सूचना प्रविधिमा आधारित पूर्वाधार परियोजनाका लगानी प्रस्ताव प्राप्त भएमा त्यस्ता परियोजनालाई प्राथमिकता दिने निर्णय पनि बैठकले गरेको छ ।
यस्ता परियोजनाको विकास गर्दा नेपालको नवीकरणीय ऊर्जाको उपयोग, रोजगारी सिर्जना तथा आर्थिक विकासमा पुग्ने योगदानलाई समेत आधार बनाइने जनाइएको छ ।
आईसीटी समाचार