काठमाडौं । मेटाको भाइब कोडिङमा आधारित Pocket एप अमेरिकामा सार्वजनिक गरिएको छ । यसअघि ब्राजिलमा परीक्षण गरिएको यो एपमार्फत प्रयोगकर्ताले प्रम्प्ट लेखेरै Gizmos नामका मिनिगेम तथा अन्य डिजिटल सिर्जना बनाउन सक्नेछन् ।
Pocket मार्फत बनाइएका सिर्जनालाई सामाजिक फिडमा सेयर, सेभ तथा रिपोर्ट गर्न सकिनेछ । स्मार्टफोनको टच र टिल्ट फिचर प्रयोग गर्ने यी गेममा फोटो तथा गीतसमेत समावेश गर्न सकिन्छ । साथै, अन्य प्रयोगकर्ताले उपलब्ध Gizmos लाई रिमिक्स गरेर नयाँ सिर्जना पनि बनाउन सक्नेछन् ।
मेटाले Pocket मा बनाइने सिर्जनालाई केवल ‘मिनिगेम’ नभनी Gizmos नाम दिएको छ । यसको कारण यस्ता सिर्जना गेममा मात्र सीमित नहुनु हो । प्रयोगकर्ताले यसमार्फत डिजिटल क्यानभासमा चित्र बनाउनेजस्ता सरल तथा अन्तरक्रियात्मक गतिविधिसमेत सिर्जना गर्न सक्छन् ।
हाल Pocket नि:शुल्क रूपमा उपलब्ध छ । प्रयोगकर्ताले एप डाउनलोड गरी विभिन्न Gizmos बनाएर प्रयोग गर्न सक्नेछन् । अहिले Pocket एप अमेरिकामा मात्र उपलब्ध छ । अन्य देशमा विस्तार गर्ने विषयमा मेटाले अहिलेसम्म कुनै निश्चित मिति घोषणा गरेको छैन । तर, ब्राजिलमा गरिएको परीक्षणपछि सकारात्मक प्रतिक्रिया पाएसँगै आगामी दिनमा अन्य बजारमा पनि एप विस्तार हुन सक्ने अपेक्षा गरिएको छ ।
आईसीटी समाचार