कीवर्डहरू -

समस्या र समाधानका सूचि बनाएर काम गर्न सञ्चारमन्त्रीको निर्देशन

समस्या र समाधानका सूचि बनाएर काम गर्न सञ्चारमन्त्रीको निर्देशन

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रालय र निकायहरुमा प्रगति हुन नसक्नुका कारण खोजी तत्काल समाधान गर्नुपर्ने बताएकी छिन् । त्यसका लागि समस्याका सूचि बनाएर समाधानका उपाय पेस गर्न पनि उनले निर्देशन दिएकी छिन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार आयोजना गरेको आव २०८०र ८१ को प्रथम त्रैमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास, समस्या समाधान समितिको वैठकलाई सम्वोधन गर्दै उनले समस्या र समाधानका उपायलाई सूत्रद्धबद्ध गरेर अघि बढ्नुपर्ने बताइन् । 

‘हामीले अब समीक्षा बैठकमा प्रगति गर्न सकेनौं भनेर मात्रै हुँदैन, के कति कारणले प्रगति गर्न सकेनौं भनेर समस्याको पहिचान गर्नुपर्छ’– उनले भन्नुभयो– ‘राष्ट्रिय परिस्थितिका कारण कति हुन सकेन, अन्तरमन्त्रालय समन्वयको अभावमा कति हुन सकेन र मन्त्रालयभित्रकै समस्याका कारण कति प्रगति हुन सकेन, समस्यालाई तीन क्षेत्रमा बाँडेर समाधान उपाय पनि सूत्रबद्ध गर्न आवश्यक छ ।’

पछिल्लो समयमा अन्तरमन्त्रालय समन्वयको समस्या बढी देखिएको भन्दै मन्त्री शर्माले यसमा सबै मन्त्रालयहरु गम्भीर हुनुपर्ने बताइन्। ‘कसैले लगानी बढाउनुपर्ने, कसैले घटाउनुपर्ने, कसैले जनशक्ति बढाउनुपर्ने, कसैले घटाउनुपर्ने विषयमा जोड दिंदा मन्त्रालयगत समन्वयको अभावमा काम हुन नसकेको जस्तो पनि देखिएको छ’– उनले भन्नुभयो– ‘हामीले निकायगत र मन्त्रालयगत होइन, राष्ट्रिय स्वार्थमा विकास योजनाका काम गर्नुपर्छ, त्यसका लागि कहाँ के कति समस्या परेका छन्, कर्मचारी तहबाट पहिचान होस्, हामी राजनीतिक तहबाट समाधान खोज्ने छौं ।’

अब सूचना प्रविधिको क्षेत्रमा डिपार्चर नगरी देशमा डिजिटल अर्थतन्त्रको विकास नहुने र समृद्धिको बाटो नखुल्ने भएकाले सबै निकायहरु परम्परागत सोंचबाट माथि उठेर सूचना र प्रविधि क्षेत्रको विकासमा लगानी केन्द्रित गर्न तयार हुनुपर्ने उनको जोड थियो ।

कुनै निकायको नेतृत्वमा प्रश्न उठ्यो भने बाँकी निकाय काम गर्न डराउने प्रवृत्ति बढ्न थालेको प्रति सचेत गराउँदै उहाँले गल्ती पनि नगर्ने र काम गर्न डराउन पनि नहुने वातावरणको सिर्जना गर्नुपर्ने बताइन् । 

बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य अनिता शाह ढुंगानाले नागरिकसँग प्रत्यक्ष जोडिएको सञ्चार मन्त्रालयले प्रगतिको क्रम बढाउनुपर्ने बताइन् । एकातिर सूचना प्रविधिमार्फत डिजिटल अर्थतन्त्रको आधार तयार पार्ने र अर्कोतिर आम सञ्चारमार्फत सिंगो राज्यको अनुहार प्रस्तुत गर्ने मन्त्रालय भएकाले सञ्चार मन्त्रालयले आफ्नो कार्य सम्पादन क्षमता बढाउनुपर्नेमा उनले जोड दिइन् ।

अब प्रगति भएन भन्दा पनि किन भएन भन्नेतिर समीक्षा केन्द्रित गर्नुपर्ने र योजना नै परम्परागत पो भए कि भनेर समीक्षा गर्ने बेला आएको उनको भनाई थियो ।

मन्त्रालयका सचिव कृष्णबहादुर राउतले आधारभूत टेलिफोन, इन्टरनेट र आम सञ्चारको पहुँच बढाउँदै लैजानुपर्नेमा जोड दिंदै यी सबै क्षेत्रलाई यो वर्ष प्रभावकारी बनाएर लैजाने बताइन् । राष्ट्रिय साइबर सुरक्षा नीति र राष्ट्रिय फ्रिक्वेन्सी नीति जारी गरिएको उल्लेख गर्दै उहाँले नीति, कानुन र निर्देशिका बनाउनतिर बढी ध्यान केन्द्रित गरिएको बताइन् । सूचना प्रविधिको विकासमार्फत डिजिटल अर्थतन्त्रको विकास तथा आम सञ्चारलाई व्यवस्थित गरेर नागरिकको सूचना माग्ने र पाउने अधिकार सुनिश्चित गर्नेतिर मन्त्रालयको जोड रहेको बताइन् । 
कार्यक्रममा प्रधानमन्त्री कार्यालय तथा अर्थमन्त्रालयका प्रतिनिधिहरु, मन्त्रालय माताहतका विभिन्न विभाग र निकायका प्रमुखहरुले धारणा राखेका थिए । कार्यक्रम सञ्चालन मन्त्रालयका सहसचिव बाबुराम भण्डारीले गरेका थिए ।