काठमाडौं । यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्र बीचको सहकार्यपछि सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइ प्रक्रिया अहिले तीव्र गतिमा अघि बढिरहेको छ । क्यूआर कोडसहितका स्मार्ट कार्ड उत्पादनलाई प्राथमिकता दिँदै सुरु गरिएको यो अभियानले लामो समयदेखि थन्किएको काम समाधानतर्फ उन्मुख भएको संकेत दिएको छ ।
गत १२ कात्तिक २०८२ मा भएको सम्झौताअनुसार ६ महिनाभित्र १२ लाख स्मार्ट कार्ड छपाइ गर्ने लक्ष्य राखिएको थियो । सोही लक्ष्यअनुसार हालसम्म ८ लाखभन्दा बढी कार्ड छपाइ सम्पन्न भइसकेको बताइएको छ भने बाँकी कार्ड उत्पादन पनि तीव्र रूपमा जारी रहेको सम्बन्धित निकायको दाबी छ । यसले सरकारी कागजात उत्पादनमा आत्मनिर्भरता बढाउने प्रयासलाई समेत बल पुर्याएको छ ।
तर छपाइ प्रक्रियाले गति लिएपनि सेवाग्राहीको समस्या भने अझै समाधान हुन सकेको छैन । आफ्नो लाइसेन्स तयार भयो वा भएन भन्ने जानकारी लिन सहज माध्यमको अभावले धेरै सेवाग्राही अन्योलमा परेका छन् ।
पहिले अनलाइन प्रणाली वा एसएमएसमार्फत लाइसेन्सको अवस्था थाहा पाउने सुविधा उपलब्ध थियो । तर भदौ २३ र २४ मा भएको ‘जेनजी’ आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडका कारण केन्द्रीय सर्भरमा क्षति पुगेपछि वेबसाइट र एसएमएस सेवा पूर्ण रूपमा बन्द भएको छ । यसले सेवाग्राहीलाई प्रत्यक्ष रूपमा प्रभावित बनाएको छ ।
हालका लागि वैकल्पिक उपाय अपनाउनु नै सेवाग्राहीको एकमात्र विकल्प बनेको छ । अधिकांश यातायात कार्यालयहरूले आफ्नो आधिकारिक फेसबुक पेज वा वेबसाइटमार्फत छापिएका लाइसेन्सको सूची सार्वजनिक गरिरहेका छन् । सेवाग्राहीले आफूले आवेदन दिएको कार्यालयको पेजमा गएर नाम खोजी गरी आफ्नो लाइसेन्सको अवस्था पत्ता लगाउन सक्नेछन् ।
यदि सार्वजनिक सूचीमा आफ्नो नाम भेटिएमा, सेवाग्राहीले आवेदन दिँदाको सक्कल रसिदसहित सम्बन्धित कार्यालयमा उपस्थित भई लाइसेन्स बुझ्न सक्नेछन् । जबसम्म केन्द्रीय प्रणाली पूर्ण रूपमा पुनः सञ्चालनमा आउँदैन, कार्यालयहरूको आधिकारिक सूचना माध्यमलाई नियमित रूपमा हेर्नु नै सबैभन्दा भरपर्दो उपाय हुने देखिन्छ ।
आईसीटी समाचार