काठमाडौं । लोकप्रिय म्यासेजिङ एप WhatsApp ले प्रयोगकर्ताको अनुभवलाई थप व्यक्तिगत बनाउन नयाँ सशुल्क सेवा परीक्षण गरिरहेको छ । ‘ह्वाट्सएप प्लस’ नाम दिइएको यो सब्सक्रिप्सन मोडल हाल सीमित प्रयोगकर्तामाझ परीक्षण चरणमा रहेको बताइएको छ ।
यो सेवा विशेष गरी एपको लुक्स र कस्टमाइजेसनमा केन्द्रित हुनेछ । प्रयोगकर्ताले शुल्क तिरेर फरक फरक आइकन, च्याट थिम, रिङटोन तथा अन्य व्यक्तिगत सेटिङहरू प्रयोग गर्न सक्नेछन् । साथै, सामान्य प्रयोगकर्ताले भन्दा बढी च्याट पिन गर्ने सुविधा पनि उपलब्ध हुने बताइएको छ ।
ह्वाट्सएपको मातृ कम्पनी Meta का प्रवक्ताले प्रिमियम सुविधाहरू परीक्षण भइरहेको पुष्टि गरेका छन् । तर, स्टाटसमा देखिने विज्ञापन हटाउने सुविधा यस योजनामा समावेश हुने वा नहुने विषयमा हालसम्म स्पष्ट जानकारी दिइएको छैन ।
मूल्यका सन्दर्भमा कम्पनीले औपचारिक घोषणा नगरेपनि विभिन्न अन्तर्राष्ट्रिय रिपोर्टहरूले युरोपमा करिब २.४९ युरो र पाकिस्तानमा ०.८२ युरो जति मासिक शुल्क हुन सक्ने संकेत गरेका छन् । परीक्षण अवधिमा केही प्रयोगकर्तालाई एक महिनाको नि:शुल्क ट्रायल समेत उपलब्ध गराइएको छ ।
हाल, ह्वाट्सएप मेटाका लागि महत्वपूर्ण आम्दानीको स्रोत बन्दै गएको छ, जसको वार्षिक आम्दानी २ अर्ब डलरभन्दा माथि पुगिसकेको छ । यद्यपि, नयाँ सब्सक्रिप्सन सेवा सानो समूहमा मात्रै परीक्षण भइरहेकाले यसको तत्काल व्यवसायिक प्रभाव भने सीमित रहने अनुमान गरिएको छ ।
आईसीटी समाचार